Comments Add Comment

त्रासमा सप्तरीका बाढीपीडितः कहिले बाढीले खेद्छ, कहिले सर्पले

बाढीपीडित क्षेत्रमा सपंदंशसँगै झाडापखालाका बिरामी बढे


२८ असार, सप्तरी । सप्तरीको कटैया गाविस २ की उम्दादेवी यादव सर्पदंशमा परेकी छन् । बाढीसँगै उनको घरमा पसेको बिषालु सर्पले सोमबार उनलाई डँसेको हो । उनको उपचार राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भइरहेको छ ।

राजविराज १० की ७ वर्षीया चाँदनी यादव पनि सर्पदंशको शिकार भएकी छन् । उनको पनि यही अस्पतालमा उपचार भइरहेको छ ।

उम्दादेवी र चाँदनी त प्रतिनिधि उदाहरण मात्र हुन्, अहिले बाढीग्रस्त सप्तरीको विभिन्न ठाउँमा सर्पदंशको घटना बढेका छन् । कटैया र राजविराज १० अहिले बाढी पसेको ठाउँ हो । घरमा पानी पसेर बस्न, सुत्न र खान समस्या भइरहेको अवस्थामा उनीहरु सर्पदंशको शिकार भएका हुन् ।

बाढीको समस्या झेलिरहेकाहरु सर्पदंशको घट्ना बढ्न थालेपछि थप त्रसित भएका छन् ।

अस्पतालका आकस्मिक कक्षका सिनियर अहेब जयकृष्ण गुरमैताले सर्पदंशका घटना बढे पनि कसैले ज्यान गुमाउनु नपरेको बताउँछन् ।

अस्पतालको पछिल्लो दुई साताको तथ्यांकलाई हेर्ने हो भने सर्पदंशको अवस्था भयावह देखिन्छ । दुई सातामा ४५ जना सर्पदंशपीडित उपचारका लागि आएको अस्पतालले जानकारी दिएको छ । ‘दैनिक जसतसो ३ देखि ४ जनासम्म सर्पदशं पीडितहरु उपचारका लागि आउने गरेका छन्’, गुरमैताले भने, ‘अन्य बिरामीसँगै सर्पदंशको घटना बढेपछि अहिले भुइँमै राखेर उपचार गर्नुपर्ने बाध्यता छ ।’

उनका अनुसार, अधिकांश सर्पदंशपीडित बाढीग्रस्त क्षेत्रकै रहने गरेका छन् । भेडिया, सकरपुरा, रम्पुरा मल्हनियाँ, मैनाकडेरी, बसबिट्टी, मलेठ, कटैयासहितका ठाउँका सर्पदंशपीडित बाढी उपचारका लागि आउने गरेको उनले बताए । यी ठाउँहरुमा पसेको बाढी हालसम्म पनि सुक्न सकेको छैन् ।

सर्पदंशको घट्ना बढेपछि अस्पताल पनि सचेत बनेको छ । जिल्लाको एक मात्र सरकारी अस्पताल यो अस्पतालमा अहिले एन्टी स्नेक भेनम पर्याप्त मात्रामा झिकाएको बताउँदै उनले तत्काल अभाव नहुने बताए ।

बढे ज्वरो र झाडापखालाको बिरामी 

बाढीग्रस्त क्षेत्रमा सर्पदंशको घट्ना मात्रै बढेको छैन् । बाढीपीडित रुघाखोकी, ज्वरो र झाडापखालाबाट समेत प्रभावित भएका छन् ।

सर्पदंशसँगै ज्वरो, झाडा पखाला र रुघाखोकीका बिरामीको पनि चाप वढेको अस्पतालले जनाएको छ ।

दैनिक १५–२० जना बिरामी आउने अस्पतालमा गर्मी र वर्षा वढेपछि अहिले ४० जनाभन्दा बढी बिरामी आउने गरेको गुरमैताले बताए । गर्मी मौषममा भाइरल संक्रमण बढी हुने भएकाले बिरामीको चाप बढेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment