+
+

बर्डफ्लुबाट क्षति बेहोरेका किसानलाई ७० प्रतिशत राहत थप

रासस  रासस 
२०७४ असार २८ गते १८:३०

२८ असार, रत्ननगर (चितवन) । बर्डफ्लुबाट कुखुरा नष्ट भएका चितवनका किसानका लागि ७० प्रतिशत थप राहत रकम आएको छ ।

जिल्ला पशुसेवा कार्यालय चितवनकाअनुसार बर्डफ्लुबाट राहत बेहोरेका यहाँका १५ जना कुखुरा व्यवसायीका लागि यसरी राहत आइपुगेको हो । “राहत रकम आइपुगेको छ, आवश्यक कागजात र प्रमाण सङ्कलनका क्रममा छौँ, संकलन हुने बित्तिकै उनीहरुको खातामा रकम पठाइदिन्छौँ,” कार्यालयका प्रमुख डा डिल्लीराम सेढाईंले भने ।

उहाँकाअनुसार यस वर्ष १५ जना किसानका लागि रु ७८ लाख ९० हजार रकम आएको छ । क्षति पुगेका किसानले विगतमा सरकारले उपलब्ध गराएको राहत रकमको ७० प्रतिशत रकम पाउने डा सेढाईं बताउँछन् । २०७० सालमा चितवनमा विभिन्न १५ वटा कुखुरा फार्ममा बर्डफ्लु भेटिएको थियो । ती फार्मबाट सरकारी निकायले मात्रै ७१ हजार ६८० कुखुरा नष्ट गरिएको थियो ।

यस्तै तीन लाख २५ हजार अण्डा र १५ टन दाना नष्ट गरिएको थियो । सो समयमा पीडित व्यवसायीलाई  एक करोड २४ लाख राहत वितरण गरिएको तत्कालीन पशुसेवा कार्यालय चितवनका प्रमुख डा रामकुमार कार्की बताउँछन् ।

सो समयमा आशा पोल्ट्री फर्म भरतपुरको सबैभन्दा धेरै कुखुरा नष्ट भएको थियो । उक्त फार्मले शुरुमा ३४ लाख ४८ हजार २५० राहत रकम पाएको थियो ।

अहिले पहिलो प्रदान गरिएको राहतको ७० प्रतिशत रकम सरकारबाट थप आएकाले अब उक्त फार्मले २४ लाख १३ हजार ७७७ रूपैयाँ पाउने पशुसेवा कार्यालय चितवनले जनाएको छ ।

यस्तै मेघा ग्रुप अफ पोल्ट्री फार्मले  १६ लाख पाउने भएको छ भने अन्य कुखुरा व्यवसायीको  सात लाखभन्दा तल राहत रकम आएको छ । अहिले पीडित व्यवसायीबाट आवश्यक प्रमाणसहित निवेदन आउने क्रम जारी रहेको र प्रमाण पुगेपछि रकम पठाइने कार्यालयले जनाएको छ । आज निवेदन दिन भरतपुर आइपुग्नुभएका पश्चिम चितवन मङ्गलपुरका निशाल पोल्ट्रीका सञ्चालक राजेन्द्र हमाल अझै राहत रकम नगन्य भएको बताए ।

उक्त समयमा हमालको सात हजार कुखुरा नष्ट भएको थियो । सरकारी तवरमा जम्मा तीन हजार २०० मात्रै कुखुरा नष्ट भएकाले अरु काँकी मरेका कुखुरा पूरै घाटा लागेको उनी बताउँछन् । “मेरो करिब ४० लाख बढी क्षति भो, हमालले भने, पहिले चार लाख १९ हजार राहत आयो, अहिले करिब तीन लाख आएको छ, यसले के राहत पायो भन्नु ।”

उनीसँगै न्यू एसएस पोल्ट्रीका कृष्ण पाण्डेको पनि आजै पशुसेवा कार्यालयमा निवेदन आएको छ । एक हजार ४०० कुखुरा नष्ट भएको उनले यसपालि रु एक लाख २९ हजार राहत पाउँदै छन् ।

नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बरालका अनुसार थप राहत रकम आएकाले किसानलाई पशुसेवा कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?