Comments Add Comment

अनुवाद साहित्यमा महाकविको योगदानबारे चर्चा

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मौलिक सिर्जनामा जति योगदान छ, अनुवाद साहित्यमा त्योभन्दा कम योगदान नरहेको चर्चा गरिन्छ । बुधबार राजधानीमा आयोजित विचार गोष्ठीका वक्ताहरुले महाकविको ओझेल परेको त्यही पाटोको चर्चा गरे ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, अनुवाद विभागद्वारा आयोजित गोष्ठीमा संस्कृतिविद् सत्यमोहन जोशीले नेपाली भाषा–साहित्यलाई अङ्ग्रेजी भाषामा अनुवाद गरेर महाकवि देवकोटाले महत्वपूर्ण कार्य गरेको बताए ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले नेपाली साहित्यलाई विश्वजगत्मा पुर्‍याउन अनुवादको अपरिहार्यताबारे जोड दिँदै नेपाली साहित्यको अनुवादमा महाकविको योगदान अनुकरणीय रहेको धारणा व्यक्त गरे ।

प्रतिष्ठानकी अनुवाद विभाग प्रमुख एवम् कार्यक्रम संयोजक प्राज्ञ डा. उषा ठाकुरले विश्वबन्धुत्वका साथै सामाजिक तथा सांस्कृतिक सम्बन्ध विस्तारका लागि पनि अनुवाद साहित्यको भूमिका अहम् रहने टिप्पणी गरिन् । उनले अनुवाद विभागबाट हालसम्म विभिन्न विधाका २१ वटा कृति अनुवाद भई कतिपय प्रकाशित भइसकेको तथा केही प्रकाशनको क्रममा रहेको उल्लेख गरिन् ।

कार्यक्रममा डा. गोविन्दराज भट्टराईले अनुवादकहरूलाई राज्यका सम्बन्धित निकायहरूबाट उचित सम्मान हुन नसके पनि प्रतिष्ठानले ‘अनुवादक परिचय कोश’ निकाल्न लागेकोमा आभार प्रकट गरे । गोष्ठीमा डा. कृष्णचन्द्र शर्माले गोष्ठीपत्र प्रस्तुत गर्दै नेपाली अनुवाद साहित्यमा महाकवि देवकोटाको योगदान र उनले अनुवाद गरेका कृतिहरूका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा अनुवाद विभागको नियमित प्रकाशन प्रभाषिक पत्रिका ‘रुपान्तरण’ अङ्क ५ को लोकार्पण समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment