Comments Add Comment

पोखरा महानगरको बजेट ४ अर्ब ३ करोड ८२ लाख

वृद्ध भत्ता बढाउने, मेट्रो एफएम चलाउने


२९ असार, पोखरा । नेपालको पर्यटकीय नगरी पोखरा-लेखनाथ महानगरपालिकाको वाषिर्क बजेट ४ अर्ब ३ करोड ८२ लाख ५३ हजार तय भएको छ । महानगरका मेयर मानबहादुर जीसीले विहीबार नगर परिषदमा सो बजेट प्रस्तुत गरेका हुन् ।

बजेटमा आयतर्फ कर तथा राजस्वबाट १ अर्ब ३८ करोड ४० लाख उठाउने लक्ष राखिएको छ । त्यस्तै राजस्व बाडफाँडबाट ३ करोड र अन्य आयबाट ५ करोड गरी १ अर्ब ४६ करोड ४० लाख उठाउने लक्ष्य राखिएको छ । जुन कुल बजेटको ४०.७१ प्रतिशत हो ।

त्यस्तै बाहृयतर्फ अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब ३१ करोड ९२ लाख ५३ हजार ८ सय रुपैयाँ प्राप्त हुने लक्ष राखिएको छ भने जनसहभागिताबाट २५ करोड ५० लाख गरी कुल २ अर्ब ५७ करोड ४२ लाख ५३ हजार ८ सय रुपैयाँ उठाउने लक्ष्य राखिएको छ । जुन ५९.२९ प्रतिशत हो ।

बजेटमा खर्चतर्फ विभिन्न कोष व्यवस्थापनतर्फ १५ करोड ५० लाख, पूर्वाधार विकाश क्षेत्रतर्फ १ अर्ब ३६ करोड ५३ लाख १८ हजार र वातावरण तथा विपद व्यव्स्थापन क्षेत्रतर्फ १३ करोड ६५ लाख १० हजार छुट्याइएको छ ।

बजेटमा महानगरपालिकाको कार्यालय सार्ने उल्लेख छ । यद्दपि कहाँ सार्ने र त्यसको बजेट कति हो भन्नेबारेमा भने बजेट मौन छ

त्यसैगरी सामाजिक विकास क्षेत्रतर्फ १५ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै आर्थिक विकास तर्फ २ करोड ३० लाख छुट्याइएको छ ।

यसैगरी, वित्तीय व्यबस्थापन तथा सुशासन क्षेत्रतर्फ ४ करोड १० लाख, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ १ करोड २५ लाख छुट्याइएको मेयर जीसीले घोषणा गरेका छन् ।

त्यस्तै सशर्त अनुदान ७८ करोड ३९ लाख ३१ हजार, सामाजिक सुरक्षा भत्ता ४७ करोड ५ लाख २४ हजार ८ सय, लागत सहभागिता १५ करोड, फोहोरमैला ब्यवस्थापन ९ करोड, प्रशासनिक खर्च ३० करोड ८४ लाख ७० हजार छुट्याइएको छ । वडागत बजेट ३५ करोड १० लाख बजेट विनियोजन गरिएको छ ।

बजेटमा ‘एक घर एक सीप रोजगारीको आधारः समृद्ध पोखरा समाजवादको पूर्वाधार’ कार्यान्वयन गर्ने घोषणा गरिएको छ । यसका लागि नागरिकको सीप र दक्षता अभिबृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

महानगरलाई अन्तरराष्ट्रिय स्तरको सहर बनाउने लक्ष्य

बजेटमा ‘महानगर समृद्धिका लक्ष्यहरू’ भन्दै १५ वर्षभित्र महानगरलाई अन्तर्राष्ट्रिय स्तरका पूर्वाधारसहित सुविधासम्पन्न सहरका रूपमा विकसित गर्दै सुखी, खुसी, सभ्य र समृद्ध नागरिकहरूको सहर बनाउने उदघोष गरिएको छ ।

जसका लागि साक्षरता, औसत आयु, प्रतिव्यक्ति वाषिर्क आय आदिमा वृद्धि र मातृशिशु, बाल मृत्यूदर घटाई उत्कृष्ट मानव विकास सूचकाङ्क भएको विभेद, जोखिम र असमानता मुक्त साथै सामाजिक न्याययुक्त नेपालको नमुना महानगरका रूपमा विकसित गरिने लक्ष्य राखिएको छ ।

महानगरलाई स्मार्ट सीटी, छिमेकी गाउँपालिकालाई स्याटलाईट सहर

समृद्ध महानगरका गौरवशाली नागरिकको अनुभूति दिलाइने भन्दै बजेटमा महानगरलाई स्मार्ट सिटीका रूपमा विकसित गर्दै वरपरका गाउँ पालिका र नगरपालिकाहरूलाई स्याटलाइट सहरका रूपमा विकास गर्न आवश्यक समन्वय गर्ने जनाइएको छ ।

बजेटमा महानगरपालिकाको कार्यालय सार्ने उल्लेख छ । यद्दपि कहाँ सार्ने र त्यसको बजेट कति हो भन्नेबारेमा भने बजेट मौन छ। महानगरका ३३ बटै वडाहरूलाई एकापसमा सडक सञ्जालबाट जोड्दै वडा नम्बर ३२ को लामे आहालदेखि वडा नम्बर ३३ को बाघमारा हुँदै बिरौटासम्म निर्माणाधीन वैकल्पिक मार्गलाई छिटो सम्पन्न गर्ने उल्लेख छ ।

सामाजिक सुरक्षा भत्ता बृद्धि गर्न सरकारले लगाएको अंकुशको बेवास्ता गर्दै महानगरले सरकारले दिने सामाजिक सुरक्षा भत्ता अन्तर्गत बृद्धहरुलाई दिने बृद्धभत्तामा १० प्रतिशत थपेर घरमै गएर प्रदान गर्ने बताएको छ

महानगर उज्यालो कार्यक्रम अन्तर्गत सडकमा सौर्य बत्ती जडान गर्ने कार्यलाई निरन्तरता दिँदै आवश्यक स्थानमा शौचालय, स्वच्छ पिउने पानीसहितका सर्भिस स्टेसनको निर्माण गरिने बजेटमा उल्लेख छ ।

त्यस्तै, पार्किङ व्यवस्थालाई प्रभावकारी बनाई महानगरभित्र सम्वन्धित निकायसँगको समन्वयमा आवश्यक ठाउँमा सीसी क्यामेरा जडान गरी ट्राफिक बत्ती समेतको व्यवस्था गरिने उल्लेख छ ।

पोखराभित्र मेट्रो रेल सञ्चालनको सम्भाब्यता अध्ययन गरिनुका साथै पोखरा लुम्बिनी फास्ट ट्रयाकको सम्भाव्यता अध्ययन गरिने पनि उल्लेख छ ।

महानगरपालिका क्षेत्रको व्यवस्थित, दीर्घकालीन एवम् वातावरण मैत्री दिगो विकासका लागि भू-उपयोग गुरू योजना तर्जुमा गरी आवास क्षेत्र, सार्वजनिक क्षेत्र, खुला एवम् हरियाली क्षेत्र, सार्वजनिक पार्क, वन, कृषि तथा सुरक्षित क्षेत्रको पहिचान गरी कार्यान्वयनमा ल्याइनेछ पनि बजेटमा समावेश छ ।

महानगरका लागि आवश्यक पर्ने जनशक्ति भर्ना गर्न, बढुवा र सेवा सम्बन्धी अन्य व्यवस्था गर्नका लागि नेपाल सरकारको राजपत्रांकित प्रथम श्रेणी वा सो सरहको पदमा कार्यरत वा सेवा निवृत्त व्यक्तिको अध्यक्षतामा आवश्यक विषेशज्ञ सहितको तीन सदस्यीय महानगर सेवा आयोग गठन गरिने पनि बजेटमा उल्लेख छ ।

महानगरले मेट्रो एफएम चलाउने

पोखरा महानगरपालिकाले मेट्रो एफएम सञ्चालन गर्ने भएको छ । त्यस्तै महानगरले मुख पत्रको रुपमा ‘हाम्रो महानगर’ प्रकाशन गर्ने भएको छ ।

महानगरले कम उर्वर र जोखिम कम भएका स्थानहरूमा बस्ती विकास कार्यक्रम लागू गर्ने योजना अघि सारेको छ । एकीकृत बस्ती विकास कार्यक्रमद्वारा सुकुम्वासी, मजदुर र भूमिहीनहरूलाई ‘एक परिवार एक घर’ कार्यक्रम कार्यान्वयनका लागि सम्भाव्यता अध्ययन गर्ने जनाएको छ । पोखरालाई प्रदेश नं. ४ को राजधानी बनाउने गरी पूर्वाधार विकास गर्ने र प्रदेश कार्यालयलाई आवश्यक जग्गा उपलब्ध गराउन पहल गर्ने पनि उल्लेख छ ।

महानगरले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्यलाई समयमा नै सम्पन्न गर्न पहल गर्ने पनि जनाएको छ ।

सरकारलाई अटेर गर्दै बृद्धभत्ता १० प्रतिशत थप्ने घोषणा

सामाजिक सुरक्षा भत्ता बृद्धि गर्न सरकारले लगाएको अंकुशको बेवास्ता गर्दै महानगरले सरकारले दिने सामाजिक सुरक्षा भत्ता अन्तर्गत बृद्धहरुलाई दिने बृद्धभत्तामा १० प्रतिशत थपेर घरमै गएर प्रदान गर्ने बताएको छ ।

महानगरका सवै वडाका साथै सीमावर्ती गाउहरूलाई समेत जोडने गरी ३ वटा चक्रपथको संभाव्यता अध्ययन गरी राजमार्गहरूसँगको कनेक्टीभिटीमा जोड दिदै सडकको स्तरीकरण गरी सडक सञ्जाललाई जीपीएस सिस्टममा राखिने बजेट वक्तव्यमा उल्लेख छ । केरूङ्ग काठमाण्डौ हँुदै पोखराबाट लुम्बिनीसम्म रेलमार्ग सञ्चालन र कोरला भैसालोटन नाका हँुदै अन्तराष्ट्रिय व्यापार प्रवर्द्धन गर्न प्रादेशिक सरकार एवम् संघीय सरकारसँग सहकार्य गरिने पनि उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment