Comments Add Comment

व्यवस्थापिका संसदमा रेकर्डः मुख्यसचिव सोमलाल दलाल हुन् !

एडीबीको जागिरका लागि देशको बेइज्यत गरेको आरोप

२९ असार, काठमाडौं । मुख्यसचिव पदबाट राजीनामा नदिई एडीबीको जागिर खान विदेशिने निर्णयमा पुगेका डा. सोमलाल सुवेदीलाई एक सांसदले ‘विस्तारवाद र साम्राज्यवादका दलाल’ भनेका छन् । ती सांसदको यस्तो भनाइ व्यवस्थापिका संसदमा रेकर्ड भएको छ ।

विहीबारको बैठकमा बोल्ने सांसदहरुले डा. सुवेदीको चर्को आलोचना गरेका हुन् । यसमा सरकारसमेत दोषी भएको भन्दै उनीहरुले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको जवाफ माग गरेका छन् ।

नेमकिपाका सांसद प्रेम सुवालले मुख्यसचिव सोमलाल सुवेदीले आफूखुसी निर्णय गर्दा पनि सत्तारुढ दल र सरकारमा रहेका मन्त्रीहरु टुलुटुलु हेरेर बसेको बताए । सांसद सुवालले भने- ‘मुख्यसचिव त देशभक्त होइन होइन, मुख्यसचिव विस्तारवादी र साम्राज्यवादीहरुका दलाल हुन् । त्यसैले यस्तो तल्लो तहको काममा गएका हुन् ।’

सांसद सुवालले यसबारे प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सदनमा जवाफ दिनुपर्ने उनले बताए । एडीबीमा जागिर खान जाने निर्णय गरेकै दिन मुख्य सचिव सुवेदीले राजीनामा दिनुपर्ने सुवालले बताए ।

व्यवस्थापिका संसदको बिहीबारको बैठकमा बोल्दै एमाले सांसद रेवतीरमण भण्डारीले पनि डा. सुवेदीको कडा आलोचना गरे ।

मुख्यसचिव सुवेदीलाई राजीनामा गराएर मात्रै विदेश पठाउनुपर्नेमा सरकारले त्यसो गर्न नसकेको भन्दै भण्डारीले सरकारको आलोचना गरे । ‘सत्ता र शक्तिको आडमा मुलुकको प्रशासनिक, संवैधानिक र कानुनलाई घोर उल्लंघन गर्न पाइँदैन,’ एमाले सांसद भण्डारीले भने, ‘सरकारको प्रशासनिक सर्वोच्च पद खेलवाडको विषय होइन, यो निर्णय तुरुन्त फिर्ता गर्नुपर्छ ।’

पदमा रहँदारहँदै जागिर खान विदेशिने मुख्य सचिवको निर्णयबाट नेपालको छवि अन्तराष्ट्रिय स्तरमा कमजोर भएको भन्दै भण्डारीले मुख्यसचिव पदबाट डा. सोमलाल सुवेदीले राजीनामा दिनुपर्ने बताए । ‘मुख्यसचिव पदबाट रिटायर्ड हुँदा ४४ सय बढी पेन्सन पाइने लोभले मुलकको राष्ट्रिय अस्मितामाथि खेलवाड गर्न पाइँदैन,’ उनले भने, ‘यो नेपाल राष्ट्रका निम्ति एउटा गम्भीर नैतिक प्रश्न हो ।’

नेपाल सरकारका मुख्य सचिव डा. सुवेदी साउन १ गतेदेखि एडीबीको जागिरका लागि फिलिपिन्सको मनिला जाँदैछन् । काज मिलाएका उनले राजीनामा दिएका छैनन् ।

यसैवीच सरकारले उनको ठाउँमा राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्यसचिवमा नियुक्त गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment