Comments Add Comment

नयाँ वर्ष मनाउन पोखरा…

१ वैशाख, पोखरा । पोखरा घुम्न परिवारसहित आएका महेन्द्रनगरका प्रवीण ऐरी फेवातालको बीचमा रहेको तालबाराही मन्दिर जाना डुंगाको पालो कुरिरहेका थिए ।

नयाँ वर्षको छेको पारेर पोखरा घुम्न आएका उनको पोखरा घुम्ने रहर यसवर्षको नयाँ वर्षमा मात्र पूरा भयो । ‘अरुबेला काममा व्यस्त भइन्छ । नयाँ वर्षको विदा पारेर आएको पर्यटकको घुइँचो रहेछ,’ उनले भने, ‘नयाँ वर्षमा पोखरा घुम्नुको मजा अन्त होलाजस्तो लागेन । परिवारले पनि यतै आउन रहर गरे । अनि यतै आइयो ।’

साथीहरुसँग पोखरा हुँदै मुक्तिनाथ दर्शन जाने सपना बुनेर आएका जनकपुरका ब्रिजेश साहलाई पनि नयाँ वर्षले नै अवसर जुराइदिएको हो । भर्खरै एसइई सकेका उनी साथीभाइ मिलेर नयाँ वर्षमा घुम्ने ‘प्लान’सँगै पोखरा आइपुगेका रहेछन् ।

‘एसइई सकियो । अब ब्रिजकोर्ष गरेर कोही कता कोही कता हुन्छौं । भेट हुने मौका पनि कमै पाइन्छ । नयाँ वर्षमा पोखरा रमाइलो हुन्छ भनेरै यतै आइयो । मुक्तिनाथसम्म पुग्ने योजना छ,’ साहले भने । पोखरा उनको पहिलो पटक भएकाले अत्यन्तै रमाइलो महसुस भइरहको उनको प्रतिक्रिया थियो ।

नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा लिइएको पोखरामा यतिबेला पर्यटकको घुइँचो छ । विशेषगरी पोखरा लेकसाइड क्षेत्र गुल्जार बनेको छ । होटल तथा रेस्टुरेन्ट र ट्राभल एजेन्सीहरुलाई स्वेदशीमात्रै नभई विदेशी पर्यटकको योजना अनुरुप प्याकेज व्यवस्थापन गर्न हम्मेहम्मे छ ।

नयाँ वर्षको छेको पारेर पोखरा भित्रिने आन्तरिक पर्यटकहरु छिमेकी जिल्लाका होमस्टेसम्मै पुग्ने पर्यटन व्यवसायी बताउँछन् । पोखरामा नयाँ वर्षको रमजममा भुल्न आउने आन्तरिक पर्यटकहरु यही मौकामा कास्कीका धम्पुस, घान्द्रुक, लान्द्रुक, अन्नपूर्ण बेसक्याम्प, हुँदै मनाङ, मुस्ताङसम्म पुग्ने गरेको उनीहरुको भनाइ छ ।

नयाँ वर्षमा घुम्नेहरु बढे

पर्यटन व्यवसायी बासु त्रिपाठी यसपालीको नयाँ वर्षमा नेपाली पर्यटकको उल्लेख्य वृद्धि भएको बताए । ‘चैत महिनाभरी मौसम खासै राम्रो पनि थिएन । तर अन्तिमतिर सार्वजनिक बिदा पनि पर्‍यो । त्यही मौकामा परिवारसँग आउने आन्तरिक पर्यटक धेरै भए,’ उनले भने । उनले गतवर्षभन्दा यसवर्ष विदेशी पर्यटक भने घटेको जानकारी दिए ।

पछिल्लो समय नेपालीमा घुम्ने र रमाइलो गर्ने चलन बढेकाले त्यसको फाइदा पोखराले उठाइरहेको अर्का पर्यटन व्यवसायी भरत पराजुली बताउँछन् । ‘पहिलेपहिले अंग्रेजी नयाँ वर्षमा मात्रै पोखरामा पर्यटकको संख्या बढ्थ्यो । तर केही वर्षदेखि नेपाली नयाँ वर्षमा पनि पोखरामा पर्यटकको संख्या ह्वात्तै बढेको छ,’ उनले भने, ‘यो सकारात्मक कुरा हो । कम्तीमा नेपालीहरुमा पनि घुम्नुपर्छ भन्ने कल्चर बढेर आएको छ ।’

पराजुलीले नयाँ वर्षकै लागि ३/४ दिनसम्म पोखरामै बसेका आन्तरिक पर्यटकसमेत रहेको सुनाए । उनले भने, ‘पहिले घुम्ने अनि फर्किहाल्ने अवस्था थियो । तर, अहिले त्यस्तो छैन । पर्यटकलाई भुलाउन विभिन्न क्रियाकलाप भएपछि आफैं बस्ने रहेछन् ।’ उनले २÷३ दिनदेखि फेवाताल वरिपरि आन्तरिक पर्यटकको घुइँचोले पोखराको पर्यटन भविष्यप्रति सकारात्मक सन्देश गएको दाबी गरे ।

पर्यटन व्यवसायी टीकाराम सापकोटाले भारतमा भइरहेको लोक सभा चुनावका कारण विदेशी पर्यटक घटेको बताए । ‘यहाँ आउने धेरै पर्यटक भारतकै हुन्छन् । यसपाली त्यहाँ चुनाव हुने र यता नयाँ वर्ष हुने एकैचोटी भइदियो,’ उनले भने । धेरै विदेशीहरु ट्रेकिङ गर्न आउने तर पछिल्ला वर्षमा नेपाली परम्परागत ट्रेकिङ रुटहरु हराउँदै गएकाले पनि पर्यटकको संख्या घट्दै गएको उनले बताए ।

नयाँ वर्षको उपलक्ष्यमा पोखरा आएका पर्यटकलाई तान्न होटल तथा रेस्टुरेन्टले विभिन्न योजनाहरु पनि ल्याएका छन् । उनीहरुले लाइभ म्युजिकदेखि विभिन्न छुट तथा उपहारसम्मका योजना ल्याएका छन् । डान्सबार तथा क्लबहरुले समेत विभिन्न नाम चलेको डिजेइङको स्वाद चखाइरहेका छन् ।

नेपाली नयाँ वर्ष ०७६ लाई नै लक्षित गरेर पश्चिमाञ्चल होटल संघले फेवाताल किनारमा फेवा महोत्सव गरिरहेको छ । मेलामा स्थानीय सांस्कृतिक प्रस्तुतिदेखि खाना तथा भेषभूषासम्म प्राथमिकतामा दिएको छ ।

होटल अकुपेन्सी ८५ प्रतिशत

पोखरामा आन्तरिक पर्यटकको चाप दशैंतिहार र नेपाली नयाँ वर्षको बेला बढ्छ । उक्त सिजनमा नेपालीका लागि बिदाको समय हुने र वातावरण पनि राम्रो हुने भएकाले पर्यटकको संख्यामा वृद्धि हुने र होटल अकुपेन्सी पनि बढ्ने हुने पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन बताउँछन् ।

नेपाली नयाँ वर्ष सुरु हुनुअघि पोखराका होटलहरुका अकुपेन्सी जम्मा ५० प्रतिशत थियो । त्यसमा पनि विदेशी पर्यटक बढी थिए । तर, नयाँ वर्ष सुरु हुनु १/२ दिनअघिबाटै होटल अकुपेन्सी पनि ह्वात्तै बढेको तुलाचन बताउँछन् । ‘यही समयमा नै करिब ३५ प्रतिशत भन्दा बढी होटल अकुपेन्सी बढेका छन्,’ उनले भने, ‘त्यसमा पनि अधिकांश नेपाली नै छन् ।’

पश्चिमाञ्चल होटल संघसँग अहिले करिब ४ सय होटल आबद्ध छन् । ती होटलमा १० हजार कोठा र २० हजार बेड संख्या छ । संघमा आबद्ध नभएका अन्य धेरै होटल तथा रिसोर्टले पनि सेवा दिइरहेको तुलाचनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment