News Summary
Generated by OK AI. Editorially reviewed.- निरन्तर वर्षा, पहिरो र खोलाको बहाव बढ्दा देशका ११ प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको सडक विभागले जनाएको छ ।
- पृथ्वी, बीपी, सिद्धिचरण, मध्यपहाडी, कालीगण्डकी, तमोर, राप्ती र कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो र बाढीका कारण सडक अवरुद्ध छन् ।
- सडक विभागले यात्रा गर्नुअघि सम्बन्धित सडकको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ ।
१० असोज, काठमाडौं । निरन्तरको वर्षा, पहिरो तथा खोलामा बढेको बहावका कारण देशका विभिन्न राष्ट्रिय राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ । सडक विभागले शनिबार बिहान ९ः३० बजे सार्वजनिक गरेको विवरणअनुसार ११ वटा प्रमुख सडकखण्डमा यातायात प्रभावित भएको छ ।
विभागका अनुसार पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर, चौकीभीर, जुवाङ खोला र फिस्लिङलगायतका स्थानमा यातायात बन्द छ । स्थानीय प्रशासनबाट अर्को सूचना जारी नभएसम्म यातायात सञ्चालनमा रोक लगाइएको विभागले जनाएको छ ।
त्यस्तै बीपी राजमार्गअन्तर्गत माङ्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुुन्जे र चौकीडाँडालगायतका स्थानमा सडक अवरुद्ध छ । पहिरो तथा डाइभर्सन बगाएका कारण राजमार्ग पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको विभागले जनाएको छ ।
कान्ति राजमार्गको चपली र तल्लुर्केलगायत क्षेत्रमा आंशिक प्रभाव परेको छ । मकवानपुर खण्डमा पहिरो पन्छाई यातायात सञ्चालनमा आएको र ललितपुर खण्डमा पहिरो हटाउने काम जारी रहेको विभागको विवरणमा उल्लेख छ । उक्त सडकखण्डमा शनिबार बिहान १० बजेदेखि सडक सञ्चालनमा आउने अनुमान गरिएको छ ।
सिद्धिचरण राजमार्गअन्तर्गत ओखलढुंगा–सल्लेरी खण्ड, सोलु खोलानजिक सडक अवरुद्ध भएको छ । सडक भासिएपछि ‘रक ब्रेकर’सहित एक्स्काभेटर तथा ह्विल लोडर परिचालन गरिएको छ । थप वर्षा नभए शनिबार बेलुकीसम्म यातायात सुचारु गर्ने प्रयास भइरहेको विभागले जनाएको छ ।
त्यसैगरी मध्यपहाडी राजमार्गको निसी गाउँपालिका–कानाबगर क्षेत्रमा सडक अवरुद्ध छ । लेदोसहितको पहिरो आउने क्रम जारी रहेकाले पहिरो हटाउने मेसिन साइटमै ‘स्ट्यान्डबाइ’मा राखिएको विभागको सूचनामा उल्लेख छ ।
कालीगण्डकी करिडोरअन्तर्गत जैमिनी नगरपालिका–४, बेलबगरमा ठूलो पहिरो गएको छ । पहिरो हटाउन मेसिन साइटमै राखिएको विभागले जनाएको छ ।
बागलुङ–बेनी सडकअन्तर्गत म्याग्दीको हुलाके क्षेत्रमा सडक अवरुद्ध भए पनि पहिरो हटाउने मेसिन परिचालन भइसकेको विभागले जनाएको छ ।
तमोर करिडोर (मुलघाट–फिदिम) अन्तर्गत उँधुवा खोला, नावा खोला र रानीगाउँ क्षेत्रमा सडक अवरुद्ध छ । खोलामा बढेको बहाव कम भएपछि सडक खुलाउने प्रयास गरिने विभागले जनाएको छ ।
राप्ती राजमार्गअन्तर्गत कपुरकोट–खारखोला क्षेत्रमा सडक अवरुद्ध भए पनि पहिरो हटाउने काम भइरहेको विभागको सूचनामा उल्लेख छ ।
कर्णाली राजमार्गअन्तर्गत गगने खोला, नाग्म–जुम्लाको राँका क्षेत्र, बाङ्गेसिमल–दहिखोला र हारेनजिक सडक अवरुद्ध छन् । विभागका अनुसार विभिन्न स्थानमा साना–ठूला पहिरो तथा ढुंगा खसेका छन् । पहिरो पन्छाउने काम जारी रहेको र हारेतर्फ लोडरसहितका टोली परिचालन गरिएको छ ।
भालुवाङ–चन्द्रौटा–लिवाङ सडकका विभिन्न स्थानमा पहिरोका कारण आंशिक अवरोध पुगेको छ । साना सवारीसाधन सावधानीपूर्वक सञ्चालनमा रहेका र मेसिन परिचालन गरी पहिरो तथा ढुंगा हटाउने काम जारी रहेको विभागले जनाएको छ ।
सडक विभागले सडकको अवस्था निरन्तर परिवर्तन हुन सक्ने भएकाले यात्रा गर्नुअघि सम्बन्धित सडकको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया 4