+
+
Shares

कांग्रेसको जिल्ला अधिवेशन अनिश्चित, प्यूठानमा भने भावी सभापतिको घोषणा

‘सभापतिज्यू जय नेपाल । राजाले आफ्नो पहिलो सन्तानलाई उत्तराधिकारी घोषणा गरे झैं गर्नु भयो,’ सभापतिका लागि उम्मेदवारी घोषणा गरेका नेता यामलाल पुनमगरले लेखेका छन्, ‘यो अहिलेसम्मको पहिलो घटना जस्तो लाग्यो तैपनि कुनै दुखेसो छैन । मात्र हजुरबाट यो अपेक्षा थिएन । बाँकी कार्यकर्तामा जाने बाटो खुल्ला हुने अपेक्षा गर्दछु ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १० गते ११:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले १५ औं महाधिवेशनअन्तर्गत जिल्ला र प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्रै गर्ने तयारी गरेको छ ।
  • प्यूठान कांग्रेस सभापति विष्णुकुमार गिरीले शुक्रबार विज्ञप्ति जारी गर्दै शिवराज रिजाललाई भावी जिल्ला सभापति घोषणा गरेका छन् ।
  • भावी सभापति घोषणा भएपछि उम्मेदवार यामलाल पुनमगर र पूर्वसचिव श्रीधर गौतमले सभापति गिरीको निर्णयप्रति आपत्ति जनाएका छन् ।

१० असोज, काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनअन्तर्गत जिल्ला र प्रदेश अधिवेशन तत्काल नगर्ने भएको छ । केन्द्रीय महाधिवेशनबाट नेतृत्व चयन भइसकेपछि मात्रै जिल्ला र प्रदेश अधिवेशन आयोजना गर्ने पार्टीले तयारी गरेको छ ।

तर, प्यूठानका सभापति विष्णुकुमार गिरीले भने अहिले नै भावी सभापतिको नाम सार्वजनिक गरेका छन् । उनले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर कांग्रेस प्यूठानको नेतृत्व शिवराज रिजालले सम्हाल्ने घोषणा गरेका छन् ।

सभापति गिरीले आफूले पार्टीको नेतृत्व गर्दै आएको अवधिमा सहयोग गर्ने सम्पूर्ण पार्टी पंक्तिप्रति आभार व्यक्त गर्दै भनेका छन्, ‘आसन्न अधिवेशन पश्चात् पार्टीका नेता श्री शिवराज रिजालले नयाँ नेतृत्वको बागडोर सम्हाल्नुहुनेछ ।’

कांग्रेसको अधिवेशन प्रक्रियामा नेतृत्व चयन सामान्यतः प्रतिनिधिहरूमार्फत हुने भए पनि प्यूठानमा अधिवेशनअघि नै भावी जिल्ला सभापतिको नाम सार्वजनिक भएपछि जिल्लाको पार्टी राजनीतिमा चर्चा सुरु भएको छ ।

प्यूठान सभापतिका लागि उम्मेदवारी घोषणा गरेका नेता यामलाल पुनमगरले सभापति गिरीको घोषणाप्रति आपत्ति जनाएका छन् । उनले गिरीले फेसबुकमा राखेको विज्ञप्तिमा प्रतिक्रिया जनाउँदै राजाले आफ्नो सन्तानलाई उत्तराधिकारी घोषणा गरे झैं गरेको उल्लेख गरेका छन् ।

‘सभापतिज्यू जय नेपाल । राजाले आफ्नो पहिलो सन्तानलाई उत्तराधिकारी घोषणा गरे झैं गर्नु भयो,’ पुनमगरले लेखेका छन्, ‘यो अहिलेसम्मको पहिलो घटना जस्तो लाग्यो तैपनि कुनै दुखेसो छैन । मात्र हजुरबाट यो अपेक्षा थिएन । बाँकी कार्यकर्तामा जाने बाटो खुल्ला हुने अपेक्षा गर्दछु ।’

प्यूठान कांग्रेसका पूर्वसचिव श्रीधर गौतमले पनिले सभापति गिरीको घोषणाप्रति आपत्ति जनाएका छन् । ‘आफू नउठ्ने राम्रो कुरा हो,’ उनले भनेका छन्, ‘पार्टीको लेटर प्याडमा जिल्ला सभापतिले पालिकाको सहयोगी नियुक्त गरे सरह भावी सभापति पजनी गर्ने गरी विधान संसोधन भएको थाहा थिएन ।’

१४ औं महाधिवेशनमा प्यूठान कांग्रेसको सभापतिमा गिरी र रिजालबीच प्रतिष्पर्धा भएको थियो । पराजित हुने निश्चित भएपछि रिजाल पक्षधरले मतदान गणनास्थलमा मतपत्र च्यात्न प्रयास गरेको थियो ।

तत्कालीन समयमा प्रहरीले मतपेटिका जोगाउन गोली नै चलाउनु परेको थियो । प्रहरीले चलाएको गोली लागेर रिजाल निकट विजय रिजाल घाइते भएका थिए । उक्त घटनामा थुप्रै कांग्रेस नेता–कार्यकर्ता र सुरक्षाकर्मी घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?