Comments Add Comment

भनौं भने बाहुनको डर ! पुराणले सांसदको निद्रा बिथोल्यो !

सर्वध्वज साँवाको प्रश्न- धुरीबाट माइक बजाउँदा मात्रै पितृले सुन्ने हुन् ?

Photo Credit : इटहरीको सडकमा सांगीतिक कार्यक्रमका लागि बनाइएको मञ्च

३० चैत, इटहरी । सुनसरीको इटहरी बजारमा धार्मिक गतिविधिले तीव्रता पाएको छ । बजारका मुख्य चोक र गल्लीहरुमा फहराइरहेका पहेंलपुर ध्वजा-पताकाले शहरको रंग बदलिएको छ । विभिन्न टोलमा भइरहने सप्ताह पुराण र भर्जन-कीर्तनले छिमेकीको निद्रा खल्बलिएको छ । पुराणमा माइक घन्काउनैपर्ने प्रचलनका कारण ध्वनी प्रदुषण बढेको भन्दै सहरका अगुवाहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

अहिले सुनसरीको चतराधाममा अर्ध-कुम्भमेला लागेका कारणले पनि इटहरीमा धार्मिक चहल-पहल बढेको छ । तीर्थालुको आवत-जावतका कारण इटहरीका होटल खचाखच भरिएका छन् ।

भनिन्छ, इटहरी ‘बिजनेस सिटी’ हो । तर, दिनभरि व्यापारमा अल्मलिने इटहरीबासीहरु पुराण, भजन कीर्तन र तीर्थव्रतमा पनि उत्तिकै व्यस्त देखिन्छन् । बराह क्षेत्रमा मात्रै होइन, इटहरी शहरभित्रै पनि सप्ताह पुराण लगाउने कार्य भइरहन्छ । कतिपय टोलमा दिनहुँजसो कीर्तन गाउने र छिमेकीको निद्रा खल्ब्याउने क्रम इटहरीमा मात्रै होइन, मोरङ र झापाका विभिन्न गाउँहरुमा बढ्न थालेका छन् । यसले गर्दा इटहरी ‘व्यापारिक शहर’ सँगसँगै ‘धार्मिक शहर’ जस्तो प्रतीत हुन थालेको छ ।

इटहरीमा अहिले हरेकखालका बिजनेस फस्टाएका छन् । सागसब्जी र लुगाहरु बेच्ने मात्र होइन, चिना एवं हात हेर्ने, हेराउनेमा पनि मनग्य आर्जन गरेर पक्की घर ठड्याउने ध्याउन्न देखिन्छ । इटहरीको केन्द्र भागमा रहेको मुख्य चोक विज्ञापन गर्ने होडिङ बोर्डजस्तै बनेको छ, जसले जे विज्ञापन टाँगे पनि हुने । सामान बेच्ने पसलदेखि दिमाग भुट्ने फसलसम्म सबै फस्टाएकै देखिन्छन् इटहरीमा ।


सुनसरी, मोरङ वा झापामा मात्रै होइन, काठमाडौं र देशका अन्य भागमा पनि पुराण वा कीर्तन लगाउँदा छिमेकीको निद्रा बिगार्नु सामान्यजस्तै भइसकेको छ । आफूलाई जति नै ‘डिस्टर्ब’ भए पनि छिमेकीहरुले धार्मिक आस्थाका कारण प्रतिवाद गर्न सक्दैनन् र चुपचाप सुन्न बाध्य हुन्छन् ।

विकसित देशका नागरिकले आफ्नो घर-टोलमा हुने कुनै पनि गतिविधिले छिमेकीलाई डिस्टर्ब भयो भने प्रहरीसमक्ष छिमेकीले उजुरी दिने चलन छ । तर, नेपालमा भने सांसद र मेयरकै निद्रा बिगि्रँदा पनि निरीह बनेर बस्नुपर्ने अवस्था इटहरीमा देखियो ।

सप्ताह पुराणका नाममा धुरीमा लगाइएको माइकको आवाजले बुढाबुढी, केटाकेटी, जाँच दिने विद्यार्थी र आफ्नो समेत निद्रा बिगि्रएको प्रदेश १ का सांसद सर्वध्वज साँवाले गुनासो गरे । तर, रातभरि सुत्न नसक्दा पनि आफूले ब्राह्मणहरुलाई केही भन्न नसकेको उनले बताए ।

पुराणको ध्वनी प्रदुषण रोक्न नसकेपछि आफूले इटहरीका मेयर द्वारिकलाल चौधरीलाई आग्रह गरेको उनले सुनाए । तर, मेयर पनि चौधरी समुदायको भएकाले बाहुनहरु रिसाउछन् कि भनेर उनी डराएको सांसद सावाँले बताए ।

छिमेकमा लगाइएको पुराण र त्यसले खल्बल्याएको अशान्तिबारे इटहरीका पूर्वमेयर समेत रहेका सांसद सावाँको गुनासो उनकै शब्दमा-


मेरो ओछ्यान दोस्रो तल्लामा छ, आजकल ५ दिनदेखि सुत्न छोड्या छु । किनभने, मेरो घरभन्दा अलि मास्तिर पुराण लाग्दैछ । चार बजेदेखि सुरु हुन्छ । मेरी बास्सै ! बेलुका ११ बजेसम्म ! कतिखेर सुत्ने ? सुत्न पाउनु छैन । ठूलो-ठूलो माइक लगाएर गर्दाखेरि मात्रै माथि पितृहरुले सुन्ने हो के हो ? यो मेरो प्रश्न छ ।

मेरो एकजना ८५ वर्षको छिमेकी हुनुहुन्छ, दमको रोगी । हप्याक हप्याक गर्दै मलाई भन्नुभयो, ए नानी यता आऊ । तिमी त प्रदेश सांसद हैन ? भन न नानी भन । यो माइक सानो बजाऊ भन । त्यसो गरेदेखि त एकछिन सुत्न पाउँथें कि ? एकछिन झपक्कै हुनासाथ ठूलो स्वरले रामरामराम… केकेजाति भन्छन्, म त मर्न लागें है नानी !

म आफैं त्यहाँ गएर यसरी माइक नबजाउनुहोस् भन्न सक्दिनँ । के भन्ने हुन् ? त्यत्रो धार्मिक आस्था राख्नेहरु खर्लप्पै रिसाए भने त मेरो त भोट चिलिम हुन्छ ! त्यसैले म केही भन्न सक्दिनँ ।

अनि म नगरपालिकामा फोन गर्छु, ए, मेयर साप, नगर प्रहरी पठाएर माइक अलि सानो बजाऊ भन्नु न । मेयर सा’प चौधरी हुन्, उनी भन्छन्, ‘बाहुनहरु रिसाउँदैनन् ? बाहुनहरु रिसाए भने त भोलि हाम्रो राजनीति सिद्धिन्छ त हौ !’

बुझ्नेले आफैं नबुझेपछि मनमा पीर त पर्ने नै भयो । बूढाबूढीलाई पीर भयो । केटाकेटीलाई पीर भयो । छोराछोरीको जाँच आइराखेको छ, उनीहरुलाई पीर भयो । बर्बाद भयो । यो त बुझिदिनुपर्ने हो नि । ठूला-ठूला माइक लगाएर अरुलाई ‘डिस्टर्ब’ गर्नु राम्रो हुँदैन । यसो गर्दा पितृहरु पनि रिसाउनुहुन्छ होला ।

पुराण सुन्न १/२ सयजना मान्छे आउँदा हुन्, त्यतिले मात्रै सुन्ने साउण्ड बक्स राख्दा त हुँदो हो नि । धुरीमा, चारतिर माइक फर्काएर बिहानदेखि रातिसम्म पड्किएको छ, पड्किएको छ । यो कुन सभ्यता हो ?

त्यसैले, अब हामी आफैं सचेत हौं कि ? सभ्य हौं कि ? अरुलाई डिस्टर्ब नगरौं कि ? आफ्नो काम फत्ते गर्नका लागि अरुलाई दुःख नदिऔं कि ? म निवेदन गर्न चाहन्छु । आग्रह गर्न चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment