Comments Add Comment

प्रधानमन्त्री भन्छन्- खुशीको वसन्त आउने कुरामा ढुक्क रहौं (सम्बोधनको पूर्णपाठ)

Photo Credit : RSS

१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७६ को अवसरमा देशबासीको नाममा सम्बोधन गर्दै गएको साल बेथिति र भ्रष्टाचार विरुद्धको अभियानको वर्ष रहेको बताएका छन् ।

उनले आफू नेतृत्वको सरकारले सुशासनका लागि चालेका कदमले नतिजा दिन थालेको दाबीसमेत गरे ।

नयाँ वर्ष २०७६ को अवसरमा देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले घरजग्गा कारोबार, नक्कली भ्याट बिल प्रकरण, संगठित तस्करीलगायतका अनुचित कामको छानबिन भइरहेको जानकारी दिए । उनले जालझेल गरी कब्जा गरिएका सरकारी जग्गा धमाधम फिर्ता गर्न लागिएको पनि बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘घरजग्गा कारोवार होस् वा संगठित तस्करी,भन्सार/अध्यागमनको विषय होस् वा हुण्डी कारोबार तथा विदेशी विनिमय अपचलन, नक्कली भ्याट बिल प्रकरणदेखि सबै प्रकृतिका अवाञ्छित/अनुचित कामको छानबिन जारी छ । जालझेल गरेर कब्जा गरिएका सरकारी जग्गाहरू धमाधम फिर्ता गरिँदै छन्, गरिँदै जाने छन् । राज्यको सम्पत्तिमाथि अनधिकृत दोहनलाई सरकारले छुट दिने छैन ।’

उनले भ्रष्टाचारविरुद्धको यो लडाइँ चुनौतिपूर्ण रहेको पनि बताए । यद्यपि जुनसुकै मूल्य चुकाएर भए पनि भ्रष्टाचार उन्मूलन गरेरै छाड्ने उनले प्रतिबद्धता जनाए । प्रधानमन्त्री ओलीले भने, ‘हामीलाई थाहा छ, भ्रष्टाचार विरुद्धको लडाइँ चुनौतीपूर्ण छ र यसले लामै समय लिन्छ । तर जुनसुकै मूल्य चुकाएर भए पनि र जति समय लगाएर भए पनि भ्रष्टाचारलाई उन्मूलन गरी छाड्ने अभियानमा म प्रतिवद्ध छु ।’

अफ्रिकी सिंह र हरिणको कथाको अंश उद्धरण गर्दै प्रधानमन्त्री ओलीले छोटो समयसीमाभित्र असिमित काम गर्नुपर्ने दायित्व सरकारसँग रहेको बताए । उनले भने, ‘मैले नेतृत्व गरेको सरकारको यसै कार्यकालमा हामीले हाम्रो मुलुकलाई ‘अतिकम विकसित मुलुक’को टिठलाग्दो हैसियतबाट उकास्नै पर्छ । सन् २०३० मा तोकिएको दीगो विकास लक्ष्य भेट्टाउनै पर्छ । यसको लागि हामी/हामी बीचको दौड-प्रतिस्पर्धा अफ्रिकी सिंह र हरिणको जस्तै हुनु आवस्यक छ । जे गर्नुछ, हामीले यही एक दशकभित्र सम्पन्न गरिसक्नु पर्छ । आउँदो १०/११ वर्षपछि आजको युवा जनसंख्या बुढ्यौलीतिर ढल्कनेछ र हाम्रो विकासको जनसाङ्खिक लाभ सकिनेछ ।’

हरेक दिन सामान्यतः विहान ६ बजेदेखि राति १२ बजेसम्म आफू सक्रिय रहेको जानकारी पनि उनले दिए । मुख्य औपचारिक कार्यक्रमको मात्रै हिसाब गर्ने हो भने पनि गएको एक वर्षमा ३१४ वटा विभिन्न कार्यक्रममा आफू सहभागि भएको र कुनै न कुनै रुपमा जनतासँग सम्वाद जारी राखेको ओलीले बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘हामीसित समयको सीमा छ, गर्नुपर्ने काम भने असिमित छन् । समयको गति समाउन मैले पनि आफूलाई, यो तीब्र गतिको दौडमा सामेल गरिरहेको छु । प्रत्येक परिश्रमी नेपालीझैं मैले पनि आफूलाई, हरेक दिन सामान्यतः विहान ६ बजेदेखि राति १२ बजेसम्म सक्रिय राखेको छु ।’

यस्तो छ प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment