
२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघमा आरआर क्याम्पसको स्ववियु निर्वाचनलाई लिएर विवाद भएको छ । केन्द्रलाई बेवास्ता गर्दै आफूखुसी सर्वसम्मत गराउन लागेको आरोपमा सात जनालाई अनुशासन समितिले कारबाही गरेपछि विवाद भएको हो ।
अनुशासन समितिका संयोजक परोपकार अधिकारीले केन्द्रीय सदस्यद्वय दुई केन्द्रीय सदस्यसहित थप छ जनालाई संघको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको पत्र पठाएका छन् ।
केन्द्रीय सदस्यद्वय अशोक सिंह विष्ट र विजय शाह (अनुराग) सहित जितेन्द्र तिमिल्सिना, शैलेन्द्र उपाध्याय हिमेन्द्र शर्मा, शेखर रोकायलाई संघबाट हटाइएको छ । कारबाहीमा परेकाहरूमा विष्ट गृहमन्त्री रमेश लेखक, शाह पार्टी प्रवक्ता डा. प्रकाशशरण महत निकट हुन् ।
कारबाहीका लागि वैशाख १८ मा रत्नराज्य क्याम्पसमा भएको स्ववियु निर्वाचनमा केन्द्रीय प्रतिनिधिलाई बेवास्ता गर्दै सर्वसम्मत बनाउन भूमिका खेलेको कारण देखाइएको छ । नेविसंघको आधिकारिक उम्मेदवारलाई हटाएर अन्य व्यक्तिलाई सचिव र सदस्य पद अग्रसर गराएको अनुशासन समिति संयोजक अधिकारीले कारबाही पत्रमा उल्लेख गरेका छन् ।
कारबाहीप्रति आपत्ति जनाउँदै केन्द्रीय सदस्य विष्ट र शाहले आरआर क्याम्पसमा सचिव सहित पाँच सदस्य नेविसंघबाट स्ववियुमा प्राप्त गर्नु ऐतिहासिक कार्य भएको प्रतिजवाफ फर्काएका छन् । २०३६ सालदेखि नेविसंघले आरआरमा एउटा पनि सदस्य जित्न नसकेको तर हाल सर्वसम्मत मार्फत संघले सम्मानजनक स्थान पाएको उनीहरूले जनाएका छन् ।
प्रतिक्रिया 4