+
+

काठमाडौंकाे पिउने पानीमा दिसामा पाइने जिवाणु, सतर्क रहन अनुरोध

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ३० गते १८:४९

३० असार, काठमाडौं । काठमाडौंमा दैनिक २५ जना झाडापखालाका विरामी अस्पताल भर्ना हुने गरेको भेटिएको छ । साथै काठमाडौंले प्रयोग हुने ६६ प्रतिशत खानेपानीमा कोलिफर्म अर्थात दिसा मिसिएको भेटिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले काठमाडौंका कुल १७ वटा अस्पतालमा गरेको अध्ययनमा दैनिक भर्ना हुने झाडापखालाको विरामीेको संख्या २५ भेटिएको हो ।

कीर्तिपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट राजीव महतोले भने, ‘हामीले काठमाडौमा झाडापखालाको अवस्था हेर्न कुल १७ वटा अस्पतालको निरिक्षण गरेका थियौं । त्यसमध्ये १५ वटामा एक दिनमै २५ जना हैजाका विरामी भेट्यौ । त्यसमा पनि झाडापखालाका विरामी धेरै पाएका छौं ।’

विष्णुदेवी अस्पतालमा ६ जना तथा टिचिङ्ग अस्पतालमा ३ जना विरामी भेटिएका छन् । कीर्तिपुर, वयोधा, मनमोहन, सिभिल र वीर अस्पतालमा २/२ तथा ब्लूक्रस र शिवज्योतीमा एक-एक जना झाडापखालाका विरामी भेटिएका छन् ।

उनीहरु मध्ये टाइफाइडको विरामी २ तथा हेपाटाइटिसका विरामीको संख्या ५ जना छन् ।

अध्ययनका क्रममा जनस्वास्थ्य कार्यालयले गत असार २६ गतेदेखि ५ दिन लगातार अस्पतालहरुको निरीक्षण गरेको थियो ।

निरिक्षणका क्रममा जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाडौंले विरामीहरु स्वयंसित विवरण लिएको थियो ।

यद्यपि, गत वर्षको तुलनामा झाडापखाला तथा हैजाको विरामीको संख्या धेरै नबढेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक महेन्द्र बहादुर श्रेष्ठ बताउँछन् ।

अघिल्लो वर्षको असारदेखि गत जेठसम्म झाडापखालाका विरामीको संख्या जम्मा दुई हजार रहेको भन्दै उनले भने, ‘जेठमा झाडापखालाका विरामी धेरै हुने तथा हिउँदमा कम हुने यो सामान्य हो । यो संख्यालाई सामान्य मानेका छौं ।’

यो संख्या अझै बढेमा मात्र यसलाई माहामारीको रुप दिन सकिने उनले बताए । उनका अनुसार गत वर्ष काठमाडौंमा हैजाका विरामी देखिएका थिए । यस वर्ष पनि फाट्टफुट्ट भेटिएको छ तर, अघिल्लो वर्ष जस्तो बढेको छैन ।

यस पटक हैजाका विरामी बढ्न नदिन विभिन्न स्तरमा काम गरिरहेको उनले बताए । उनले सार्वसाधारणलाई शुद्ध पानी, उमालेको पानी पिउन तथा पानी तथा खाद्यान वस्तुको सेवन गर्दा विशेष सजग रहन समेत आग्रह गरे ।

६६ प्रतिशत पिउने पानीमा कोलिफर्म

यसैगरी काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यालयले विभिन्न सहयोगी संस्थाहरुसित मिलेर पानी शुद्धिकरण सम्बन्धि जाच गर्ने क्रममा काठमाडौमा पाउने झण्डै ६६ प्रतिशत पानीमा कोलिफर्मको जिवाणु भेटिएको जनाएको छ । शहरी वातावरण व्यवस्थापन समाजको सहयोगमा १३ सय घरधुरीमा प्रयोग गरिने करिब ६६ प्रतिशत पानीमा कोलिफर्मको जिवाणु भेटिएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाडौका प्रमुख जनस्वास्थ्य प्रशासक महेन्द्र बहादुर श्रेष्ठ भन्छन्, ‘पानीमा कोलिफर्म हुनु भनेको पानीमा कुनै न कुनै बेला दिसा मिसिएको छ भन्नु हो ।’

यसले काठमाडौंमा कुनै पनि बेला झाडापखालाको महामारी फैलिन सक्ने खतरा औल्याएको छ ।

ललितपुरमा ५० प्रतिशत तथा भक्तपुरको ७३ प्रतिशत पिउने पानीमा कोलिफर्मको जिवाणु भेटिएको शहरी वातावरण व्यवस्थापन समाजका सदस्य बुद्ध बज्राचार्यले जानकारी दिए । उनका अनुसार समाजले पाटनको मंगलबजार, सुन्धारा, थैव, काठमाडौमा टंकेश्वरी, मरु, पाटनका भित्री क्षेत्र, सुकम्वासी एरिया, मनोहरा, पाथीभरा क्षेत्रमा पानी जाँच गरेको थियो । त्यस क्षेत्रका इनार, धारा, ढुङ्गेधारा, ट्यांकर, जारको पानी लगायतमा कोलिफर्मको जिवाणु भेटिएको समाजका सदस्य बुद्ध बज्राचार्यले बताए ।

उनले भने, ‘हामीले विभिन्न ठाउँहरुमा पानी शुद्धिकरणका लागि बुथ नै राखेर पानीको नमुना परिक्षण गरेका थियौं । परीक्षणका क्रममा काठमाडौं जिल्लाको मात्र ६६ प्रतिशत पानीमा कोलिफर्मको जिवाणु भेटिएको पाइएको छ ।’

कार्यक्रममा काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का ल्याब प्रमुख ज्ञानेन्द्र बहादुर कार्कीले झाडापखालाको लगायतका ८० प्रतिशत रोग पानीकै कारण लाग्ने हुँदा यसबारे विशेष सजग रहन सबैलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?