+
+

पोखरा महानगर अब हर्न निषेधित क्षेत्र, मेयर भन्छन्-पहिला सचेतना, अनि कारबाही

 सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७४ साउन १ गते ११:३२

१ साउन, पोखरा । पोखरा लेखनाथ महानगरपालिका आजदेखि हर्न निषेधित क्षेत्र (नो हर्न जोन) बनेको छ । आइतबार मेयर मानबहादुर जिसीले ‘हर्न निषेधित क्षेत्र’ घोषणा लेखिएको ब्यानरमा हस्ताक्षर गर्दै अभियान सुरु गरेका हुन् ।

अब पोखरामा अनावश्यक हर्न बजाउन पाइने छैन । घुमाउरो बाटो वा घुम्ती, आकस्मिक अवस्थामा भने हर्न बजाउन पाइने महानगरपालिकाले जनाएको छ ।

जनचेतना जगाउन तथा अभियान सफल बनाउन ट्राफिक प्रहरीले अभियान चलाइरहेको छ । असार २८ गतेदेखि शुरु भएको अभियान अन्तर्गत चोक/चोकमा स्वयम्सेवकसहित ट्राफिक बसेर हर्न निशेधित क्षेत्र भएको जानकारी गराइएको छ ।

पैदल यात्रुलाई जेब्राक्रसबाट मात्र बाटो काट्न आग्रह गर्दै चकलेट वितरणसमेत गरिनेछ । चकलेट लिनेलाई लज्जाबोध भई पुनः बाटो काट्दा जेव्राक्रसको प्रयोग गर्न बाध्य बनाउने विश्वासका साथ कार्यक्रम शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका ईञ्चार्ज प्रहरी निरीक्षक विश्वराज अधिकारीले बताए ।

साउन ८ देखि भने कारबाही शुरु हुनेछ । साउन ८ गतेपछि अनावश्यक रुपमा हर्न बनाएमा पहिलो पटकमा पाँच सय जरिवाना गरिनेछ ।

एक पटक कारबाहीमा परेका व्यक्तिले दोश्रोपटक उलंघन गरे एक हजार र त्यो भन्दा बढी पटक उल्लघन गर्नेलाई १५ सय रुपैयाँसम्म जरिवाना तिराइने उनले बताए ।

कार्यक्रममा मेयर मानबहादुर जिसीले शान्त, सुरक्षित र हँसिलो पोखरा बनाउने अभियान अन्तर्गत हर्न निषेधित क्षेत्र घोषणा गरिएको भन्दै सघाउन महानगरबासीलाई आग्रह गरे ।

‘पूर्वाधार तयार नगरी घोषणा भयो भनेर नसोच्नुस्’ उनले भने, ‘यो अभियान पूर्वाधार तयार पार्नका लागि ध्यानाकर्षण गर्ने अभियान पनि हो र महानगर र जनप्रतिनिधिहरुलाई कानमा तेल हालेर नबसोस् भनेर ध्यानाकर्षण गर्ने कार्यक्रम पनि हो ।’

अभियान सफल पार्ने शर्तमा सचेतना अभियान केहीदिन लम्ब्याएर कारबाही प्रक्रिया केही दिन सार्न सकिने बताए ।

यातायात ब्यबसायीहरुले भने पूर्वाधार बिना नै घोषणा भएको भन्दै हर्न निशेधित क्षेत्र नमान्ने बताएका छन् ।

ब्यबसायीलाई आग्रह गर्दै उनले भने, ‘कर असुल्नका लागि मात्र हर्न निषेधित क्षेत्र घोषणा गरिएको होइन । ढुक्क हुनुहोस्, पहिले सचेतना अभियान चलाइन्छ, हर्न नबजाई सवारी चलाउन अभ्यस्त बनाइन्छ, अनिमात्र कारबाही शुरु हुन्छ ।’

ट्राफिक प्रहरीले दुःख दिए आफूलाई जानकारी गराउन आग्रह गरे । पोखरा महानगरका मेयर जिसीले छाडा चौपाया नियन्त्रण गर्न काञ्जी हाउस बनाउने उद्घोष पनि गरे ।

हर्न निषेधित क्षेत्र घोषणा अघि चिप्लेढुङ्गाबाट शुरु भएको र्‍याली न्यूरोड हुँदै पोखरा सभागृहमा पुगेर हर्न सभामा परिणत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?