Comments Add Comment

ब्लुस्काई प्याराग्लाइडिङका सञ्चालक र प्रशिक्षकविरुद्ध किटानी जाहेरी

हवाई तथा पर्यटन विभागका अधिकारीलाई समेत कारवाही गर्न माग

१ साउन, काठमाडौं । ब्लुस्काई फ्लाईड स्कुल प्रा.लि.का सञ्चालक नारायणप्रसाद पराजुली र प्रशिक्षक दामोदर पराजुलीका विरुद्धमा जिल्ला प्रहरी कार्यालय कास्कीमा कारवाहीका लागि पीडित परिवारले किटानी जाहेरी दिएका छन् । उजुरीमा हवाई विभागका अधिकारी तथा पर्यटन विभागका अधिकारीको समेत मिलेमतो भएको भन्दै सबैलाई कारवाहीको दायरामा ल्याउनु पर्ने माग गरिएको छ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३० का २६ वर्षीय प्रभात सुवेदीको प्याराग्लाईडिङ प्रशिक्षणका क्रममा असार ५ गते दिउँसो साढे २ बजे करिब १५० मिटर माथिबाट फेवातालमा खसेर ज्यान गएको थियो । यसै विषयलाई लिएर मृतक प्रभातका काका गजेन्द्र प्रसाद च्वाईँले प्रहरीमा कारवाहीको माग गर्दै शुक्रबार किटानी जाहेरी दिएका हुन् ।
तालिमका क्रममा रिजर्भ प्यारासुट खोलेरमात्र ग्लाइडर बन्द गर्न लगाउनु पर्नेमा प्यारासुट नखोली ग्लाइडर बन्द गर्न प्रशिक्षकले तल रेडियो सेटबाट सूचना दिएपछि सो दुर्घटना भएको दुर्घटनाका क्रममा लिइएको भिडियो रेकर्डमा प्रष्ट देखिने अभिभावक गजेन्द्रले बताए ।
अभिभावक गजेन्द्रले पत्रकार सम्मेलनमा भावुक हुँदै भने, ‘दुर्घटना पश्चात् प्रभातको तत्कालै उद्दार हुन सकेको भए ऊ बाँच्ने थियो । न त्यहाँ चिकित्सक थिए, न त स्वास्थ्यकर्मी नै ।’
उक्त संस्थाको लापरवाहीका कारण यसअघि पोखरा लेकसाइडका शैलेश पहारीले ज्यान गुमाएका थिए । पहारीको दुर्घटना पश्चात् ६ महिनाका लागि निलम्बनमा परेको उक्त संस्था पुनः सञ्चालनमा आएको छ ।
पीडित परिवारका तर्फबाट स्वर्गीय प्रभातका काका तथा माइजु तारा शर्माले, प्रभात जस्तै अन्यको अकालमा  ज्यान नजाओस् भन्दै ब्लु स्काई प्याराग्लाईडिङका सञ्चालकहरुलाई कारवाही गर्दै उक्त प्रशिक्षण केन्द्र सदाका लागि बन्द गर्नुपर्ने माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment