Comments Add Comment

कनकाईका मेयर भन्छन्–नगरपालिकाको अनुमतिबिना जग्गा प्लटिङ गर्न दिन्नँ

८ साउन, झापा । कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले नगरपालिकाको अनुमतिबिना जग्गा प्लटिङ गर्न नपाउने व्यवस्था गरिने बताएका छन् ।

संवाद समूह, झापाले आयोजना गरेको कार्यक्रममा मेयर पोखरेलले अव्यवस्थित जग्गा प्लटिङले समस्या उत्पन्न भएको भन्दै अब जग्गा प्लटिङको लागि नगरपालिकाको अनुमति लिनु पर्ने व्यवस्था सुरु गर्न लागिएको जानकारी दिए ।

नगरका सबै जनप्रतिनिधिले ऐलानी जग्गाको व्यवस्थापनलाई पहिलो प्राथमिकता दिएको उक्त अवसरमा बताए ।

‘ऐलानी जग्गाको व्यवस्थापन, नदी नियन्त्रण, स्वच्छ खानेपानी सुविधा, विद्युतीकरण, शैक्षिक गुणस्तर वृद्धि, सडक, पर्यटन, कृषिको व्यवसायीकरणलाई नगरको कामको प्राथमिकतामा राखेका छौं’, पोखरेलले भने, ‘कनकाईलाई समृद्ध बनाउन अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नेछौं ।’

जनप्रतिनिधिको रुपमा निर्वाचित भएपछि तत्काल परिवर्तनको अनुभूति दिलाउन वडा अध्यक्षहरु जनताको विभिन्न कामको सिफारिसका लागि खटिएको मेयर पोखरेलले बताए ।

त्यस्तै कार्यालयमा पहिले आउने सेवाग्राहीको कामलाई पहिलो प्राथमिकतामा राखिएको उनको भनाइ छ ।

मजदुरका छोराछोरी स्याहारका लागि दुईवटा शिशु स्याहार केन्द्र र बाल विकास केन्द्र स्थापनाको निर्णय गरिएको, खर्च अभावमा कसैले मृत्युवरण गर्नु नपरोस भनी तत्कालका लागि पाँच लाख रुपैयाँको मजदुर हितकोष स्थापना गरिएको पोखरेलले बताए ।

कनकाईकी नगर उपप्रमुख मञ्जु प्रसाईले मादकपदार्थ सेवन गर्ने पुरुष र अन्यबाट महिला हिंसा बढिरहेकोमा चिन्ता व्यक्त गर्दै महिलालाई न्याय र सुलभ ढंगले सेवा प्रवाह गर्ने बताइन् । उनले कानुनी सहायताको व्यवस्था गरी पीडित नगरवासीलाई तत्काल न्याय दिने बताउँदै नगरका विभिन्न समस्याबारे जानकारी गराएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment