Comments Add Comment

टयाक्सीमा मिटर, भाडामा बार्गेनिङ !

Photo Credit : फाइल फोटो

२१ चैत, पोखरा । दुई जना गाडीबाट बसपार्कमा ओर्लन्छन् । एकछिन कानेखुसी गर्छन् । त्यसपछि लाग्छन्, लहरै उभिएका टयाक्सी छेऊ । उनीहरु मध्ये एकले सोधेः-

दाइ ! टयाक्सी खाली छ ?
चालकः छ भाइ छ । कता जाने हो ? कति जना हो ?
यात्रुः ‘न्यूरोडसम्म पुग्ने हो ! २ जनामात्रै हो । कति होेला भाडा ?’
चालकः ‘३ सय रुपैयाँ देउ न ।’
यात्रुः ‘मिटरमा जाऊँ न त । हुँदैन दाइ ?’
चालकः ‘उहिले जमानाको भाडामा लैजान सक्दिनँ भाइ । ल २५० मा जाऔं । होइन भने आफैं टयाक्सी किनेर चलाउँदा हुन्छ ।

पोखराका सबै टयाक्सीमा मिटर जडान गरिएको छ । तोकिएको भाडादरमा मिटरमै यटयाक्सीमा चढाउने सहमति पनि छ । तर, मिटरमा टयाक्सी चलाउनुको साटो उल्टै यात्रुमाथि दुव्र्यवहार गरिरहेका छन् ।

हाल मिटर सुरु हुने वित्तिकै १४ रुपैयाँ र प्रतिकिलोमिटर ३९ रुपैयाँ थप भाडा लाग्छ । तर ०६७ सालमा तोकिएको भाडादर भन्दै टयाक्सी चालकले यसलाई वेवास्ता गर्दै आएका छन् ।

दैनिकजसो टयाक्सीसम्बन्धी गुनासो बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरीले पटकपटक छड्के चेकिङ पनि नगरेको होइन । मिटर प्रयोग नगर्ने र यात्रुलाई अनावश्यक दुःख दिने ट्याक्सी चालकहरुलाई कारवाही गर्न केही समय अभियान पनि चलाएको थियो ।

तर, कारबाहीमा परेका टयाक्सी चालकहरु ३ हजारदेखि ५ हजारसम्म जरिवाना तिरेर उम्किने गरेका छन् । उनीहरु न त नियम मान्छन् न व्यवहार सुधार गर्न तयार छन् ।
टयाक्सी चालकहरुले हाक्काहाक्की मिटर भाडादर अवैज्ञानिक भएकैले चलाउन गाह्रो भएको बताउँछन् । ‘तेलको मूल्य बढेर आकास पुगिसक्यो । भाडा उही पुरानै छ ।

यसरी त चलाउन गाह्रो हुन्छ,’ टयाक्सी चालक समिप घले भन्छन्, ‘अहिलेको समय हेरेर पुनः भाडादर निर्धारण गरे मान्न तयार छौं ।’ मिटरमा चले तेल खर्च नउठ्ने उनको दाबी छ ।

सादा पोशाकमा छड्के

मिटरमा नचलाउने र उल्टै यात्रुमाथि दुव्र्यवहारको उजुरी बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरीले मंगलबारदेखि कास्की जिल्ला प्रहरीसँग समन्वय गरेर छड्के चेकिङ सुरु गरेको छ ।

सादा पोसाकमा खटिएर प्रहरीले टयाक्सी मिटरमा चलाएको छ कि छैन ! निरीक्षण गर्न सुरु गरेका हुन् । मंगलबार पहिलो दिन नै ४ घण्टाको अवधिमा ३१ टयाक्सी प्रहरीको फन्दामा परे । बुधबारदेखि भने टयाक्सी चालकहरुले सजगता अपनाउन थालेका छन् ।

त्यसैले कारबाहीमा पर्नेहरुको संख्या घटेको छ । अहिलेसम्म जम्मा ४० टयाक्सी कारबाहीमा परेका छन् । पक्राउ परेका टयाक्सीलाई पृथ्वीचोकस्थित ट्राफिक प्रहरी कार्यालय परिसरमा राखिएको थियो । कास्की प्रहरी प्रवक्ता डिएसपी रवीन्ऽमान गुरुङले टयाक्सीका कागजपत्र नियन्त्रणमा लिएर उनीहरुलाई छोडिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment