+
+
Shares

भारु २ करोडमा बनेको फिल्मले कसरी ३ सय करोड कमायो ?

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३ गते १५:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नीब करौरी बाबाको जीवनमा आधारित ‘हनुमान अंश’ले बक्स अफिसमा २७२ करोड २३ लाख रुपैयाँ कमाएको छ र ३०० करोड नजिक पुगेको छ।
  • फिल्मकी निर्मात्री अनुप्रिया नागरले यसको लागत दुई करोड रुपैयाँभन्दा कम रहेको बताएकी छन् भने समीक्षकहरूले शोभिनव सत्याको अभिनयको प्रशंसा गरेका छन्।
  • कैंची धाममा भीड बढेसँगै पार्किङ, सरसफाइ, फोहोर र ढल व्यवस्थापनमा दबाब बढेको छ र केन्द्र सरकारले १७ करोड ६० लाख रुपैयाँ स्वीकृत गरेको छ।

करिब पाँच दशकअघि संसार छाडेका एक सन्त, उत्तराखण्डका पहाडमा बनेको एउटा आश्रम र ती सन्तको जीवनबाट प्रेरित एउटा फिल्म ।

फिल्मको सुरुवात ठूला हिन्दी फिल्मको जस्तो थिएन । तर, अहिले यो फिल्म चर्चाको केन्द्रमा छ । यसको मुख्य कारण हो, ‘हनुमान अंश’ नामक फिल्मले बक्स अफिसमा हासिल गरेको सफलता । प्रसिद्ध फिल्म समीक्षक तरण आदर्शका अनुसार फिल्मको कुल कमाइ ३०० करोड रुपैयाँको नजिक पुगेको छ । उनले सामाजिक सञ्जाल एक्समा गरेको पोस्टअनुसार गएको बिहीबारसम्म फिल्मले कुल २७२ करोड २३ लाख रुपैयाँ कमाएको थियो ।

फिल्म समीक्षक कोमल नाहटाका अनुसार फिल्मले सहजै ३५० करोड रुपैयाँको आँकडा पार गर्नेछ ।

फिल्मको बजेटको तुलनामा यसको कमाइ निकै आकर्षक देखिन्छ । फिल्मकी निर्मात्री अनुप्रिया नागरले  फिल्मको लागत दुई करोड रुपैयाँभन्दा कम रहेको बताएकी छन् ।

फिल्ममा के देखाइएको छ ?

‘हनुमान अंश’ नीब करौरी बाबाको जीवन र उनीसँग जोडिएका घटनामा आधारित फिल्म हो । यसको कथा भोसले नाम गरेका एक व्यक्तिबाट सुरु हुन्छ । उनले आफ्ना नातिलाई बाबासँग भएको भेटबारे सुनाउँछन् । त्यसपछि कथा बाबाको बाल्यकालमा पुग्छ ।

फिल्ममा लक्ष्मी नारायणले आमाको मृत्युपछि घर छाडेको देखाइएको छ । उनलाई लाग्छ, यदि आफू भगवान्सम्म पुग्न सके आमासँग फेरि भेट हुन सक्छ ।

समय बित्दै जाँदा उनको खोजी मानिसहरूलाई सहयोग गर्ने र भोकालाई खाना खुवाउने कार्यसँग जोडिन्छ । फिल्ममा नीब करौरी बाबाको मुख्य भूमिका शोभिनव सत्याले निर्वाह गरेका छन् ।

उनको अभिनयको प्रशंसा भएको छ । फिल्मकी निर्मात्री अनुप्रिया नागरका अनुसार शोभिनवका लागि नीब करौरी बाबाको भूमिका निर्वाह गर्नु ठूलो जिम्मेवारी थियो । दर्शकले उनलाई बाबाको भूमिकामा स्वीकार गर्लान् कि नगर्लान् भन्ने चुनौती थियो । तर, दर्शकबाट प्राप्त प्रतिक्रियाले उनले भूमिका राम्रोसँग निर्वाह गरेको देखाएको नागर बताउँछिन् ।

‘द इन्डियन एक्सप्रेस’ की फिल्म समीक्षक शुभ्रा गुप्ताले पनि शोभिनवको अभिनयको प्रशंसा गरेकी छन् । उनका अनुसार शोभिनवले अनुहारका भाव, अभिनयमा लिने विराम र मौनतामार्फत पात्रलाई प्रभावशाली बनाएका छन् ।

फिल्मको पटकथामा गरिएको कामले दर्शकलाई कथाको समय र परिवेशको अनुभूति गराउने उनको भनाइ छ । फिल्ममा काम गर्ने अन्य कलाकारले पनि राम्रो काम गरेको उनले बताएकी छन् ।

फिल्म निर्माणमा को-को छन् ?

फिल्मकी निर्मात्री रागिनी सोना यसअघि पनि फिल्म निर्माणमा संलग्न रहिसकेकी छन् । सन् २००४ मा प्रदर्शन भएका ‘कौन है जो सपनों में आया’ र ‘शुक्रिया’ तथा सन् २००५ को ‘चकलेट’ फिल्ममा उनले निर्माताका रूपमा काम गरेकी थिइन्।

‘हनुमान अंश’ लाई हलमा टिकाइराख्न पनि रागिनीको भूमिका रहेको बताइएको छ । ‘स्क्रिन’ सँगको अन्तर्वार्तामा उनले दोस्रो सातामा फिल्म प्रदर्शन गर्ने हलको सङ्ख्या निकै घटेको बताएकी थिइन् । त्यतिबेला उनले र निर्देशक विशाल चतुर्वेदीले फिल्मलाई निरन्तर प्रदर्शन गराउने निर्णय गरेका थिए ।

फिल्मकी अर्की निर्मात्री नम्रता सिंह डिजिटल सञ्चारमाध्यम र मनोरञ्जन व्यवसायमा काम गरिसकेकी व्यक्ति हुन् । सन् २०२३ को जनवरीमा प्रकाशित ‘म्युजिक प्लस’ सँगको अन्तर्वार्ताअनुसार उनी सोनीको कम्पनी सेटभीमा डिजिटल तथा नयाँ प्रविधिसम्बन्धी कामको नेतृत्व गर्थिन् ।

‘बलिउड हङ्गामा’ सँगको कुराकानीमा नम्रताले टोलीले सुरुदेखि नै यो कथालाई तीनवटा फिल्ममा प्रस्तुत गर्ने योजना बनाएको बताएकी छन् । उनका अनुसार पहिलो फिल्मको छायाङ्कन २२ दिनमा पूरा भएको थियो । दुई दिन मुम्बईमा छायाङ्कन गरिएको थियो भने बाँकी काम चित्रकूटमा भएको थियो ।

फिल्मको गीत भाइरल

फिल्मको एउटा गीत इन्टरनेटमा भाइरल भइरहेको  छ। सुनील लोधीले गाएको उक्त गीतले उनलाई चर्चामा ल्याएको छ । सुनील दुवै आँखाले देख्न सक्दैनन् ।

गीत भाइरल भएपछि धेरै चर्चित नेता तथा कलाकारले उनीसँग भेटेर उनको गायनको प्रशंसा गरेका छन् ।

‘आजतक’ मा प्रकाशित अन्तर्वार्ताअनुसार मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले सुनीलको आँखाको उपचारका लागि सहयोग गर्ने आश्वासनसमेत दिएका छन् । भक्ति, सन्तहरूको जीवन र आस्थामा आधारित धेरै भारतीय फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गरेका छन्  ।  सन् २०२४ मा प्रदर्शन भएको ‘हनुमान’ ले बक्स अफिसमा करिब ३०० करोड रुपैयाँ कमाएको थियो ।

त्यस्तै, सन् २०२५ मा प्रदर्शन भएको ‘महावतार नरसिंह’ ले ३२५ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको बताइएको छ । धर्म र आस्थासँग सम्बन्धित यस्ता फिल्मले दर्शकको ध्यान तान्दै आएका छन् ।

कैंची धाममा भीड बढेसँगै समस्या पनि थपिए

नीब करौरी बाबासँग सम्बन्धित कैंची धामको लोकप्रियता बढ्दै जाँदा त्यहाँको पूर्वाधार व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।

सन् २०२५ मा गरिएको क्षमता अध्ययनसम्बन्धी प्रतिवेदनमा करिब ७४ प्रतिशत मानिसले पार्किङ व्यवस्थाप्रति असन्तुष्टि जनाएका थिए । त्यस्तै, ५८ प्रतिशतले सरसफाइको अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

राष्ट्रिय हरित न्यायाधिकरणसमक्ष पेस गरिएको उत्तराखण्ड प्रदूषण नियन्त्रण बोर्डसँग सम्बन्धित संयुक्त समितिको प्रतिवेदनमा पनि कैंची धाम आउने मानिसको सङ्ख्या बढ्दा सरसफाइ, ठोस फोहोर व्यवस्थापन र ढल व्यवस्थापनमा दबाब बढेको उल्लेख गरिएको थियो ।

केन्द्र सरकारले पनि यहाँको पूर्वाधार सुधारका लागि लगानी गरिरहेको छ। पर्यटन मन्त्रालयको आधिकारिक दस्तावेजअनुसार च्यालेन्ज बेस्ड डेस्टिनेसन डेभलपमेन्ट योजनाअन्तर्गत कैंची धाम परिसरको विकासका लागि १७ करोड ६० लाख रुपैयाँ स्वीकृत गरिएको छ।

यसबाट कैंची धामप्रतिको आकर्षण धार्मिक र सांस्कृतिक विषयमा मात्र सीमित नरहेको देखिन्छ। यो अहिले प्रशासनिक व्यवस्थापन र पर्यटन योजनाको विषयसमेत बनेको छ।

नीब करौरी बाबाको जन्मस्थल कहाँ हो ?

सन् २०२६ को सेप्टेम्बरमा उत्तर प्रदेश सरकारले नीब करौरी बाबासँग सम्बन्धित स्थानलाई धार्मिक पर्यटन मार्गमा जोड्ने योजना अघि बढाएको थियो ।

‘द इन्डियन एक्सप्रेस’ का अनुसार प्रस्तावित धार्मिक पर्यटन मार्गमा फिरोजाबादको अकबरपुर, फर्रुखाबादको नीब करौरी धाम, लखनउको हनुमान सेतु मन्दिर र वृन्दावनमा बाबासँग सम्बन्धित स्थान समेटिएका छन् ।

‘हनुमान अंश’ को सफलताले बाबासँग सम्बन्धित स्थान र उनको जीवन इतिहासप्रति मानिसको नयाँ चासो बढिरहेका बेला यो योजना अघि बढेको हो ।

अकबरपुरमा बाबाको पैतृक घरलाई लिएर विवादसमेत देखिएको छ। उनका छ जना नातिनीले सम्पत्तिको नियन्त्रणलाई लिएर एउटा ट्रस्टविरुद्ध जिल्ला प्रशासनसमक्ष उजुरी दिएका छन्। ट्रस्टले भने उनीहरूमाथि लगाइएका आरोप अस्वीकार गरेको छ ।

फिरोजाबाद प्रशासनले दाबीहरूको छानबिन गर्न समिति गठन गरेको छ। यस विषयमा अनुसन्धान जारी रहेको बताइएको छ ।

नयाँ पुस्तामा नीब करौरी बाबाप्रति किन बढ्दै छ चासो ?

यस प्रश्नको सीधा उत्तर छैन । तर, उपलब्ध तथ्यका आधारमा केही कारण पहिचान गर्न सकिन्छ ।

एकातिर राम दास, कृष्ण दास र ल्यारी ब्रिलियन्टमार्फत दशकौँदेखि अन्तर्राष्ट्रिय स्तरमा फैलिएको बाबाको परिचय छ। अर्कोतिर स्टिभ जब्स र मार्क जुकरबर्गसँग जोडिएका कथाहरूले पनि बाबाप्रति मानिसको चासो बढाएको बताइन्छ ।

भारतमा विराट कोहली र अनुष्का शर्माजस्ता चर्चित व्यक्तिहरू कैंची धाम पुगेका छन् । यसैबीच ‘हनुमान अंश’ जस्तो फिल्मको सफलताले पनि बाबासँग सम्बन्धित विषयलाई थप चर्चामा ल्याएको छ।

बाबाप्रति आस्था राख्ने मानिसका आफ्नै कारण छन्। नयाँ पुस्तामाझ उनको परिचय कहिले राम दास र कृष्ण दासका माध्यमबाट पुगेको छ भने कहिले स्टिभ जब्स र मार्क जुकरबर्गसँग जोडिएका कथामार्फत । अहिले ‘हनुमान अंश’ जस्तो फिल्म पनि उनको परिचय विस्तार गर्ने माध्यम बनेको छ ।

यद्यपि, सामाजिक सञ्जालमा उनको जीवन र भारतीय स्वतन्त्रता आन्दोलनबीचको सम्बन्धलाई लिएर आलोचनात्मक टिप्पणीसमेत भइरहेका छन्। भारतीय स्वतन्त्रता आन्दोलनमा उनको कुनै भूमिका नरहेको भन्दै केहीले प्रश्न उठाएका छन् ।

बिबिसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?