Comments Add Comment

हवल्दारको चाबी चोरेर निकालिएको थियो प्रश्नपत्र

२१ चैत, काठमाडौं । एसईई परीक्षाका क्रममा प्रदेश दुईमा बाहिरिएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र सुरक्षार्थ खटिएका प्रहरी जवानले चाबी चोरेर निकालेको खुलेको छ ।

प्रश्नपत्र लिक गराएको आरोपमा पक्राउ परेका ६ जनालाई सप्तरी प्रहरीले बिहीबार नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । पक्राउ गर्नेमा सिरहाको इलाका प्रहरी कार्यालय, कल्याणपुरमा कार्यरत् जवान ब्रम्हदेव सुनरैत र दिपेन्द्रकुमार मण्डल पनि छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) निरञ्जन भट्ट नेतृत्वमा खटाएको अनुसन्धान टोलीका अनुसार प्रश्नपत्र राखिएको ठाउँको चाबी चोरेर निकालेको भेटिएको छ ।

कल्याणपुर प्रहरी कार्यालयमा जनता मावि, बनिया र रादु मावि, कल्याणपुरको प्रश्नपत्र राखिएको थियो । प्रश्नपत्र सुरक्षामा हवल्दार हरिनन्दन ठाकुर खटिएका थिए ।

तर, रक्षक नै भक्षक भए । प्रहरी जवान ब्रम्हदेव सुनरैत र दिपेन्द्रकुमार मण्डलले प्रश्नपत्र आइपुग्नु अघि नै चोरी गर्ने योजना बनाएको अनुसन्धानबाट खुलेको छ ।

अधिकारीहरुकाअनुसार प्रश्नपत्र एउटा कोठाभित्र दराजमा चाबी लगाएर ब्यागमा राखिएको थियो । कोठा, दराज र ब्यागमा गरेर तीन वटा चाबी थियो भने प्रश्नपत्र खाममा शिलबन्दी थियो । प्रहरी भएकाले यसबारे ब्रम्हदेव र दिपेन्द्रकुमार दुबै जानकार थिए । ‘हवल्दारले राम्रैसँग सुरक्षा दिएर राखेको देखिन्छ’, अनुसन्धानमा संलग्न एक अधिकारीले भन्छन्, ‘तर, दुई जवानले बद्मासी गरेछन् ।’

प्रहरीकाअनुसार ब्रम्हदेव र दिपेन्द्रकुमार निरन्तर प्रश्नपत्र चोरी गर्ने अवसरको खोजीमा थिए । १३ गते साँझ जब हवल्दार ठाकुर खाना खान गए, उनीहरुले मौका छोपेको देखिन्छ ।

उनीहरुले चाबी निकालेर प्रश्नपत्र राखिएको कोठा खोले । त्यसपछि दराज र ब्यागको चाबी खोलेपछि प्रश्नपत्र भएको पोको भेटियो । त्यहाबाँट प्रश्नपत्र भएको खाम निकाले ।

खामको बीचमा मात्रै स्टीकर थियो । दुवैतिर गम थियो । ब्लेडको सहायताले खामको एक छेउ काटे र विज्ञान र सामाजिक विषयको प्रश्नपत्र निकालेर फोटो खिचे । ब्लेड बाहिरिएको प्रश्नपत्रको तस्वीरसँगै देखिन्छ । अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार प्रश्नपत्र निकालेपछि उनीहरुले खाममा राखे र गमले खाम टाँसिदिए ।

ब्याग, दराज र कोठाको ताला लगाए र चाबी पुनः पहिलेकै ठाउँमा राखिदिए । खाना खान गएका हवल्दारले यसको पत्तो पाएनन् । ‘खामको दुवै साइडमा स्टीकर टाँसेको भए सायद उनीहरु त्यतिवेलै समातिन्थेँ’, अनुसन्धान अधिकारी भन्छन् ।

यो पनि पढ्नुहोस लाै हेर्नुहोस् एसईई प्रश्नपत्र लिक गर्ने ६ भाइको अनुहार !

सप्तरीबाट सुरु किनबेच

दुई जवानमध्ये ब्रम्हदेव सुनरैतले राति नै सप्तरीमा रहेका आफ्ना दाइ विष्णुदेव यादवलाई प्रश्नपत्रको फोटो पठाउँछन् ।

उनले शिक्षक मनोज यादवलाई त्यो प्रश्नपत्र सामाजिक सञ्जालमार्फत पठाएको देखिएको सीआईबीका निर्देशक निरजबहादुर शाही बताउँछन् । मनोज आधारभूत विद्यालय फेक्सर, सप्तरीमा पढाउँछन् ।

उनको हातमा प्रश्नपत्र पुगेपछि मात्रै किनबेच सुरु भएको अनुसन्धान अधिकारी बताउँछन् । ‘ मनोजले उमेश यादव हुँदै अन्य व्यक्तिसम्म प्रश्नपत्र पठाएको देखिन्छ’, ती अधिकारीले भने, ‘धेरै जना विद्यार्थीमाझ पुगेपछि साथीहरुलाई पनि शेयर गर्ने क्रममा प्रश्नपत्र भाइरल भएको देखिन्छ ।’

प्रश्नपत्र हजार रुपैयाँदेखि ४ हजार रुपैयाँसम्म लेनदेन भएको देखिएको प्रहरीको भनाइ छ । लगातार दुई वटा विषयको प्रश्नपत्र परीक्षा अगावै प्रश्नपत्र सार्वजनिक भएपछि शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले पनि चासो देखाएका थिए । उनले १५ चैतमा साँझ पत्रकार सम्मेलन गरेर प्रदेश २ मा बाँकी परीक्षा स्थगित भएको घोषणा गरे ।

उनले घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई आग्रह गरेका थिए । प्रश्नपत्र बाहिरिएको विषयमा छानविन गर्न परीक्षा नियन्त्रण कार्यालयले पनि परीक्षा बोर्डकी सदस्य प्राध्यापक अमुदा श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको छ । समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

प्रदेश २ मा स्थागित परीक्षा भने भोलि शुक्रबारदेखि सुरु हुँदैछ ।

यो पनि पढ्नुहोस एसईई प्रश्नपत्र आउट प्रकरण : सिरहामा फोटो खिचियो, सप्तरीमा बेचियो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment