Comments Add Comment

पोखरामा प्रमोदः म विना कसै कसैलाई

प्रमोद खरेलको थातवास पोखरामा होइन । अर्थात उनी पोखरेली होइनन् । तर, पोखरासँग उनको निकटता जोडिएको छ, गीतमार्फत ।

प्रमोद खरेललाई चाहिं पोखराले कति सम्झिन्छन् ?

सायद अयसपाली उनले राम्रैसँग अनुभव गर्न पाउनेछन् । किनभने शुक्रबार उनी पोखरेली पारखीमाझ उही रोमान्टिक प्रेम गीत लिएर प्रस्तुत हुँदैछन् । १५ जना बाद्यवादकलाई पृष्टभूमीमा राखेर उनी प्रत्यक्ष संगीतका लागि तयार हुनेछन् । र, सिटी हलको प्रेक्षालयमा प्रमोद गुञ्जनेछन्, ‘म बिना कसै कसैलाई मुश्किल छ पोखरामा ।’

उनले अविछिन्न आफ्ना नयाँ-पुराना गीतहरु सुनाउनेछन् । साँझ चार बजे सिटी हलको पर्दा खुल्नेछ । करिब दुई हजार दर्शक/स्रोताले प्रत्यक्ष बाद्यबादनमा प्रमोद खरेललाई सुन्नेछन् । लगतार तीन घण्टा । यसबीचमा उनले सोलो १६ वटा गीत सुनाउनेछन् । म्यासअप १० र युगल गीत सुनाउनेछन् । त्यसपछि पालो आउने छ, ओल्ड इज गोल्डको । यस सेग्मेन्ट अन्र्तगत पुराना प्रचलित गीतहरु सुनाइनेछ । यसलाई प्रमोदले समर्पण भावले प्रस्तुत गर्नेछन्, पुराना कलाकारको नाममा ।

प्रमोदलाई युगल आवजमा मिना निरौलाले साथ दिनेछिन् ।

कार्यक्रमको अर्को आकर्षण हुनेछ, मनोज गजुरेल । कार्यक्रममा सांगीतिक माहौलकै बीचमा उनले हास्य खुराक पस्कनेछन् ।

‘पोखरामा प्रमोद’ शीर्षकको यो कार्यक्रम खासमा प्रमोदको एकल सांगीतिक प्रस्तुती हो । यसअघि उनले दर्जनौ पटक पोखरा घन्काइसकेका छन् । यद्यपी यसपाली भने उनी फरक प्रारुपमा प्रस्तु हुँदैछन् । प्रत्यक्ष बाद्यबादनमा उनले आफ्ना गीतहरु सुनाउनेछन् । बार्दली इभेन्टले यस सांगीतिक कार्यक्रमको मेलोमेसो मिलाएका हुन् ।

‘म्युजिक ट्र्याकमा गाउनु र प्रत्यक्ष बाद्यबादनमा धेरै फरक छ’ पोखरा उड्ने हतारोमा रहेका प्रमोदले अनलाइनखबरसँग भने, ‘यसको स्तर र मिठास बेग्लै हुन्छ ।’

यसपछि उनी देश-विदेशका कार्यक्रममा व्यस्त हुनेछन् । २९ गते अर्थात नेपाली नयाँ बर्षको पूर्व सन्ध्यामा उनी युरोप उड्नेछन् ।

त्यसो त युवापुस्तामा अत्यान्तै रुचाइएको गायक हुन् उनी । पाश्र्व संगीतमा समेत जमेका प्रमोदका एकल गीतहरु बढी पि्रय छन् । भर्खरै मात्र उनले ‘गोप्य कुरा’ एल्बम सार्वजनिक गरेका थिए, जो अहिले निकै रुचाइएको छ । नयाँ बर्षपछि उनले ‘झुमा-झुमा’ एल्बमको तयारी गर्नेछन् ।

सुगमसंगीतमा जमेका गायक खरेलले पप, आधुनिक, राष्ट्रिय गीत लगायत भजन समेत गाएका छन् । प्राप्ति, सेन्टिमेन्ट्स, प्रणय, प्रवेग, निर्झरी, हंगामा लगायत उनको सोलो एल्बम बजारमा आइसकेको छ । उनले हालसम्म २ हजार भन्दा बढी गीत रेकर्ड गराएका छन् । करिब २ सय जति चलचित्रका गीत गाएका छन् । उनी सांगीतिक प्रतिभाको खोजी गर्ने कार्यक्रम ‘द भ्वाइस अफ नेपाल’को निर्णयक रहिसकेका छन् ।

ताप्लेजुङमा जन्मिएका उनको परिवार झापा झरेको हो । हाल उनी आफ्ना परिवारसहित काठमाडौंमा बसोबास गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment