Comments Add Comment

मर्ने मार्ने अवस्थाबाट गुज्रिएका बक्सर

'जो आफ्ना थिए, उनीहरुले नै लडाउन चाहे'

मेरो ठाउँमा अर्को खेलाडी भएको भए कि मर्थ्यो कि त मार्थ्यो अथवा विदेश पलायन हुन्थ्यो । मैले तीनवटै कुरा गरिनँ । बक्सिङ रिङमा उत्रिँदा लडेका क्षणहरु छन्, लडाएका क्षणहरु पनि छन् । जितले भन्दा हारले नै शिक्षा दिएको छ । सम्पन्नतामा भन्दा अभावमा नै जीवनको ज्योति मिलेको छ । अनुहारमा चोट लिएर घर जाँदा बुबाआमाको आँखामा देखेको आँसुले पीडा मात्र दिएन, बल दियो ।

मेरो खेल जीवनका उतारचढाव सुन्ने-देख्नेले जिब्रो टोक्छन् । नदेखिने कुरा त कति छन् कति । किनभने तिनीहरुले मेरो जीवनबाट बक्सिङ नै निकालिदिने संकल्पै लिएका थिए ।

… त्यसैले कति समय जड्याहा भएँ । कति समय झोला अङ्गालो हालेर हृवाँ-हृवाँ रोएर मात्र बसेँ । कति समय त्यही झोलामा मुड्की हान्दा हात रगताम्मे बनाउँदै बसेँ । कति बेला मर्छु जस्तो लाग्थ्यो । कति बेला मार्छु जस्तो लाग्थ्यो । असाध्यै निराश । कतिले थु-थु गरे । कतिले भविष्य बिगार्‍यो विचरा भने ।

तर म पनि हार मान्ने स्वभावको होइन । उनीहरुकै समयमा जितेर देखाउँछु भन्ने मलाई पनि थियो । देखाएँ पनि । किनभने म बक्सिङमा आएको होइन, बक्सिङले मलाई बोलाएको हो ।

बढी बोलेको जस्तो सुनिएला । विश्वास नहोला । तर चलचित्रकै कथाजस्तो भए पनि मेरो यथार्थ यस्तै छ ।

****

सानो बेलामा बुबाले सिकाएको एउटा काम अहिले बक्सिङ खेलिरहँदा मलाई असाध्यै याद आउँछ ।

हाम्रो घर ललितपुरको लुभु बिसुण्डोल भएर बग्ने गोदावरी खोला सफा थियो । हरेक शनिबार बुबाले हामीलाई नुहाउन खोलामा लैजानुहुन्थ्यो । फर्किंदा भने सक्नेसम्म ढुंगा बोक्नुपर्थ्यो । साच्चीभन्दा ढुंगा बोक्न लगाउने भएर बुबासँग नुहाउन जानै मन लाग्दैन थियो ।

यसरी ल्याएको ढुंगो अप्ठ्यारो बाटोमा हालेर मिलाउनुपर्थ्यो । बर्खा बेलामा हिलो र अरु समय खाल्डाखुल्डीले बाटो जिर्ण नै थियो । त्यहाँ हामी हरेक शनिबार ढुंगा हालेर केही सजिलो बनाउँथ्यौं । बुबा भन्नुहुन्थ्यो, ‘बाटो भनेको सबैको लागि सजिलो हुनुपर्छ ।’

खेलको १७ वर्षमा मैले ‘बक्सिङ’ भित्र पनि त्यस्तै अप्ठ्यारा बाटाहरु देखेको छु । त्यसलाई सजिलो बनाउने प्रयत्नमा छु । किनभने बाटो भनेको सबैका लागि बनाउनुपर्छ । आफू एक्लै फड्किएर हिँडिदिनु मान्छेको स्वभावमा मिल्दैन ।

आमा भन्नुहुन्थ्यो, तीन दिदीपछि तँलाई मनकामना भाकेर पाएको । आमाको त्यो विश्वासमा सानो छँदा मलाई पनि खुशी लाग्थ्यो । बुझ्दै जाँदा त्यो विश्वासले अरु पनि शिक्षा दिँदै गयो ।

सानोमा अलि जिद्दी स्वभावकै थिएँ । भनेको नमान्ने, पढ्नभन्दा खेल्नमा बल गर्ने । त्यसले गाली पनि खाइन्थ्यो । दिदीहरुको पिटाइ पनि खाइन्थ्यो । बलियो नै भएकाले एउटा दिदीले नसकेर तीनै जना मिलेर पनि पिट्थे । अहिले सम्झँदा रमाइलो लाग्छ ।

स्कूले बेलामा म ‘मनोहर बस्नेत’बाट ‘म्याक्स बस्नेत’ भएँ । जीवन भन्ने साथीसँग म झगडा गरिरहने भएर उसलाई ‘ज्याक्स’ र मलाई ‘म्याक्स’ भनेर अंग्रेजी पढाउने सरले बोलाउनुभएको थियो । पछि स्कूलमा त्यो जिस्काउने नाम नै बन्यो । साथीहरु ‘म्याक्स’ भनेर खिस्सी गर्दै जिस्काउँथे तर, अहिले गर्व गर्ने नाम यही बनेको छ ।

विद्यालयमा गोलकिपर बसेर फुटबल खेल्थेँ । बक्सिङ सोचमा पनि थिएन । ७ कक्षामा पढ्ने बेलातिरको कुरा हो, घरबाट नजिकै टिकाथलीमा प्रकाश दाइ, रामचन्द्र दाइहरु बक्सिङमा लागिरहनु भएको थियो । उहाँहरुको नामहरु पत्रिकामा पनि आइराख्थ्यो । त्यो देख्दा एक किसिमको प्रेरणा आफूमा पनि आयो ।

उहाँहरुको कान्छो भाइ प्रभु दास थापा मगरले बक्सिङ खेल्नुपर्छ भन्ने कुरा गरेका थिए । उसैको सल्लाहमा टिकाथली बक्सिङ क्लबमा जान थाल्यौं । त्यसैले प्रभु मेरो प्रेरणाको स्रोत नै हो । १६ वर्षको उमेरमा पुग्दा त हामीले राम्रो नै खेल्न थालिसकेका थियौं ।

प्रभु, नन्द, विपिन, प्रकाश दाइ, रामचन्द्र दाइ, मदन जस्ता गुरुहरु पाएर मैले राम्ररी सिक्ने मौका पाएँ । मदन गुरुले त ‘यो गोर्खालीको खेल हो, केटा राम्ररी गर्नुपर्छ’ भन्नुभएको मलाई अझै याद आउँछ । तर बक्सिङ खेल्ने खेलाडीलाई झगडिया हुन्छन्, गुण्डा हुन्छन् भन्ने समाजको सोच अझै त फेरिएको छैन भने त्यो बेला कस्तो थियो होला ? अभाव र नकारात्मक सोचकै बीच पनि बक्सिङले तान्दै लग्यो ।

हुन त नेपालको बक्सिङमा पाउने अरु नै हुन्छन् । खेलाडीले खाने गोदाइ र पाउने मेडल भनिने एउटा ढ्याके तक्मा हो । प्रमाणपत्र समेत विदेशमा प्रतियोगितामा जाने बेलामा पेश गर्नुपर्दा अंग्रेजीमा बनाएर पठाउनुपर्छ । त्यसको लागि आठ सय रुपैयाँ लाग्छ ।

****

मैले पहिलोपटक प्रतियोगितामा खेलेको २०५८ सालतिर हो । २१ दिनको अभ्यासपछि हामी टिकाथली बक्सिङ क्लबबाट गएका थियौं । पहिलो खेलमै राष्ट्रिय च्याम्पियन दीपक महर्जन दाइसँग खेलेको थिएँ । हारे पनि राम्रै खेलेको हो भनेर सबैले तारिफ गरे ।

त्यो दिनपछि राम्रो अवसर र अभ्यास पाएको भए नेपालको नाम माथि लैजान सक्थेँ जस्तो अहिले सम्झँदा लाग्छ । अहिलेको अनुभवले भन्छ, ओलम्पियन त पक्कै बन्थेँ ।

सुरुसुरुमा त डर पनि लाग्थ्यो, मार्ला कि जस्तो लाग्थ्यो । बाङबुङ गरेर हान्ने त हो जस्तो पनि लाग्थ्यो । विस्तारै बुझ्दै गएँ, बक्सिङमा लड्ने भनेको विपक्षीसँग होइन रहेछ, आफैंसँग रहेछ । आफूभित्रको डर त्रास, अभाव, परिवारको चिन्ताविरुद्ध लड्नुपर्ने रहेछ । यो सबैलाई जितियो भने रिङमा खेलाडीलाई त हराइन्छ ।

सुरुको प्रतियोगितापछि केही सयम रेस्लिङतिर पनि लागेँ । त्यसले बक्सिङमा मात्र केन्दि्रत भइरहन सकिनँ । प्रतियोगिताहरुमा भने गइरहेँ । अहिले आएर हेर्दा त्यो सिक्ने समय नै रहेछ । पिटाइ खाएर हारेकै खेलमा पनि धेरै सिकेँ । मलाई हराउने विपक्षी, मैले हराएका विपक्षीसँग पनि सिकेँ । उनीहरुलाई म आफ्नो ठूला गुरु नै मन्छु ।

त्यही कारण पहिलोपटक प्रतियोगितामा भिडेको करिव दुई वर्षमा मैले दीपक महर्जनलाई नै जितेँ । त्यसबेला उहाँको खेल पनि डाङडुङ हान्ने नै थियो तर पन्च राम्रो चल्थ्यो । प्रतियोगितामा मैले जिते पनि दर्शकहरुलाई दीपक दाइको खेल मन परेको भएर होला ‘झेली भयो, हारेकालाई जितायो’ भन्दै विरोधमा कुर्सी नै भाँचे ।

आयोजकले छानविन गरेर म्याक्स कसरी विजेता भयो भन्ने घोषणा नै गर्नुपरेको थियो । तर, त्यो खेल जितेर पनि म थाइल्याण्ड खेल्न जान पाइनँ । शायद विवाद भएकाले नलगिएको होला ।

तर, मलाई पनि मौका दिएको भए स्वर्ण जित्न सक्षम छु भनेर प्रमाणित गर्न यतिका वर्ष लाग्ने नै थिएन ।

****

त्यसको केही समयपछि म दीपक दाइसँग नै नराम्रोसँग हारेँ । त्यो हारले बक्सिङ के हो भनेर मलाई बुझायो । जब पिटाइ खाएर ढंग्रङ्ग ढलेँ, मलाई कसैले पनि वास्ता गरेनन् । हारेँ नि त । प्रकाश दाइले घर जाऊ भनेर ५ सय रुपैयाँ दिनुभयो ।

भोलिपल्ट पत्रिकामा नकआउट हारको समाचार आफैंले पढेँ । त्यसबेला म २ मिनेट ११ सेकेण्डमा आउट भएको अझै याद छ । जित्दा घमण्ड पैदा हुनेरहेछ, हारेपछि आफ्नो कमजोरी थाहा हुँदोरहेछ । त्यसैले सबैको नजरमा हारेको म आफ्नै नजरमा भने विजेता बने । अब के गर्नुपर्छ भन्ने बुझेँ, सिक्न भारत गएँ । भारतमा रहँदा आध्यात्मिक ज्ञान पनि पाएँ । मानिस शारीरिक, मानसिक साथै आध्यात्मिक रुपमा पनि बलियो हुनुपर्नेरहेछ, तर रिङमा उत्रिँदा जितको भोक भने हुनुपर्छ ।

केही समय खेलौं, त्यसपछि हेरौला भनेर नहुँदो रहेछ । निरन्तर लागिरहनु पर्छ र केही गर्छु भन्ने सोच्नुपर्छ । तर हाम्रोमा त, तँ गएर खेल्दे न भनेर पठाएको जस्तो लाग्छ । केही त छन्, तर धेरै सरकारी जागिर खाएर जागिरको लागि खेलेको जस्तो लाग्छ ।

****

नराम्रो कुरा नराम्रो नै हो । चाहे राम्रो मान्छेले गरोस्, चाहे नराम्रो मान्छेले । मैले बक्सिङ संघभित्रको अनियमितता, वेथिती सुधार हुनुपर्छ भनेर आवाज उठाउँदा अनुशासनभन्दा बाहिर गएको भनेर एक वर्ष प्रतिबन्ध घोषणा गरे, तर तीन वर्ष लगाए ।

कस्तो भने, हाम्रो अभ्यासको धेरै समय प्याराफिटमा दौडिने हुन्थ्यो । एक गिलास जुस र दुई वटा पाउरोटी खाएर । कराँते, तेक्वान्दो, बक्सिङ, टेबलटेनिस, चेस जे खेले पनि त्यही डाइटले होला त ?

अभ्यासमा दिनको सय रुपैयाँ भत्ता हुन्थ्यो । टाढा घर हुनेलाई गाडी भाडा पुर्‍याउन पनि मुस्किल हुन्थ्यो । यो भनेको लुटेको हो । अरुको छोराछोरीको भविष्य किन बिगार्ने भनेर प्रश्न उठाएँ । पैसा नभएको पनि होइन । राज्यले दिएको पैसा छ, तर चाहिने ठाउँमा लगानी भएको छैन । नागरिकले तिरेको कर होइन र त्यो पैसा ?

संघमा पैसा छैन भनेपनि प्रायोजक त खोज्न सकिन्थ्यो । यहाँ त छैन भन्ने अनि खाने र बस्ने । दुई जना खेलाडी लिएर ६ जना पदाधिकारी विदेश जान चाहिँ पैसा कहाँबाट हुन्छ त ? त्यसैले मैले भनिदिएँ, तपाईँहरु राति १२ बजे चुनाव गराएर अध्यक्ष बनेर आउनुहुन्छ । वर्षभर मेहनत गर्ने खेलाडीका लागि केही गर्नुहुन्न । यसरी हुँदैन ।

मलाई तीन वटा अन्तर्राष्ट्रिय खेलमा पठाउनुस्, स्वर्ण पदक पक्कै लेराउँछु भनेर चुनौती नै दिएँ । तर तँ राजनीति गर्न खोज्ने भनेर प्रतिबन्ध लगाइदिए । मलाई निकालेर विदेश जाने बेला अरु खेलाडी लगे । धेरैलाई यो मन परेको छैन, तर नेपालमा यस्तै हो भनेर चुप बस्छन् । म चुप बसिनँ । खेलाडीका लागि गर्न सक्दैनन् भने किन कुर्सीमा बस्ने ? छोडे हुन्छ, सक्ने मान्छे आउँछ । विदेशका पाँच तारे होटलमा भात खान जान सक्ने, काम गर्न नसक्ने ? भुँडी भ्यात्त पारेर नेपाल लेखेको टिसर्ट लगाएर जसरी विदेशमा प्रतियोगिता हुँदा जान्छन्, त्यो लाजमर्दो हुन्छ ।

एकजना बक्सर अभ्यासका बेला गराएको रनिङमा घुँडामा चोट लागेर घाइते भएको थियो । दुनियाँमा त्यस्तो अभ्यास गराउने शैली कतै हुन्छ ? प्रतियोगिता नजिकै आइसक्दा बक्सरलाई दौडाएर मात्र अभ्यास हुन्छ ? हामीले गरेको कुरा मात्र ठीक भन्ने पदाधिकारी, प्रशिक्षकको शैलीले नेपालले पदक जित्न नसकेको हो । यिनीहरुले जस्तो केही पाइएला भन्ने आशमा म पनि चुप लागेर बसेँ भने बोल्ने को त ?

विभागीय टिमका खेलाडी केही बोल्न मिल्दैन । उनीहरु विभागीय कारबाहीमा परिहाल्छन् । बोल्ने हिम्मत पनि गर्दैनन् । उनीहरुको भत्ता र तलब पनि बाँच्न पुग्छ । सिभिल खेलाडीमा विजेता म नै हुँ । त्यसैले बेथिती सहन नसकेर मैले, ‘मेरो बक्सिङ संघको अध्यक्षलाई बक्सिङ खेल्न आउँदैन । मध्यम ब्यापारी मात्रै हुन्’ भनेर फेसबुकमा लेखिदिएको थिएँ । त्यसपछि उनीहरुले मलाई प्रतिबन्ध लगाए ।

तर त्यो बेला, तँ कुनै पनि क्लबमा खेल्न जान पाउँदैनस् भनेर उनीहरुले मलाई पत्र थमाएका थिए । एक वर्ष प्रतिबन्ध भनेका थिए, तर त्यसपछि म कतै क्लबमा जाँदा पनि यसलाई नखेलाउनू भन्न पुग्थे । जिल्लामा पनि पत्र पठाएर नखेलाउनू भनेछन् ।

उनीहरुले मेरो जीवनबाटै बक्सिङ निकालेर फालिदिने संकल्पै लिएका थिए । तर, म पनि हार मान्ने परिनँ । ज्ञान थियो, मेहनत गरेँ । उनीहरुकै समयमा जितेर देखाउँछु भन्ने अठोट गरेँ । तर उनीहरुको व्यवहारले केही समय नराम्रो तनाव दियो । एक समय त बक्सरबाट जड्याहा पनि भएँ । कति समय हृवाँ-हृवाँ रोएर बसेँ । कति बेला मर्छुजस्तो लाग्यो । कति बेला मार्छुजस्तो लाग्यो । कति समय निराश भएँ । कतिले थु-थु गरे । कतिले बिचराले भविष्य बिगार्यो पनि भने ।

आत्महत्या गरौं जस्तो लागिरहेका बेला मर्नुभन्दा अगाडि मार्ने पो हो कि जस्तो पनि नलागेको होइन । मन अस्थिर थियो । तर मैले केही गरेर देखाउनुपर्छ भन्ने सोचले जित्यो र प्रतिबन्धलाई प्रोफेसनल बक्सिङमा लाग्ने समयका रुपमा सदुपयोग गरेँ ।

आफ्नै बलबुतामा व्यावसायिक बक्सिङको लागि भारत, श्रीलंका, जापान, थाइल्याण्डसम्म पुगेँ । सबै ठाउँमा म्याक्स बस्नेत मात्रै होइन, नेपालको नाम राखेको छु ।

जापानमा सात वटा क्लबमा व्यावसायिक बक्सिङ प्रतियोगितामा खेल्न जाँदा पहिलो पटक त मेरो ओठमुख सुकेको थियो । सात दिनपछि त्यहीँ खेल्दा भने मैले राम्रो खेलेँ । त्यतिबेला मलाई कसैले इन्डोनेसियाको, कैसैले भारत, कसैले क्युवाको भने । पछि नेपाली भन्ने थाहा पाउँदा उनीहरु दंग परे, धेरैले तारिफ गरे । भारतमा जाँदा पनि त्यहाँका गुरुहरुले तिमीले ओलम्पिकका लागि अभ्यास गर्नुपर्छ भनेका थिए ।

आफू चढिरहेको मोटरसाइकल पनि बेचेर म कसरी विदेशी भूमिमा मेहनत गर्दै थिएँ, त्यो मलाई मात्र थाहा थियो । घर गएँ भने बरु कफनमा जान्छु तर हारेर जाँदिन भनेर मेहनत गरेँ । खोस्न खोजेको पहिचानलाई अझ बलियो रुपमा अगाडि ल्याएँ ।

अब बक्सिङमा लागेका नयाँ पुस्तालाई एउटा बाटो देखाउन केही गराैं भनेर लागेको छ । जापानमा एउटा बक्सरले सामान्य बक्सिङ खेल्दा नेपालको ३० लाख रुपैयाँ कमाउँछ । नेपालमा कम्तिमा एउटा बक्सरले १० लाख रुपैयाँ कमाउन सकोस् भन्ने सोचमा काम गर्न थालेको छु । मेरो मुख्य उद्देश्य भनेको नै एउटा फाइट खेल्दा १० लाख रुपैयाँ कमाउन सकोस् भन्ने नै हो, यसले मात्र खेलाडी बाँच्न पाउँछ ।

****

राष्ट्रियस्तरमा १४ पटकको विजेता भएपनि मैले अन्तर्राष्ट्रिय स्तरमा एक पटक मात्र देशलाई प्रतिनिधित्व गर्न पाएँ, त्यो पनि भिख मागेर । साँच्चै भनेको रोइकराइ गरेर गत वर्ष नेपालको प्रतिनिधित्व गरेर भारतमा काजकिस्तानसँग खेल्न पाएको थिएँ । जित्न त सकिएन, तर पहिलोपटक राष्ट्रिय टिममा परेर विदेशमा खेल्न गएँ ।

यसले हामी कुन स्तरमा रहेछौं भन्ने बुझायो । हामीले धेरै कुरा सिक्न बाँकी नै रहेछ । त्यो स्तरमा पुर्‍याउन चाहिने प्रशिक्षक तथा रेफ्री हामीसँग छन् कि छैनन् थाहा छैन ।

विदेश जाने, देखावटी प्रतिष्ठा बढाउने र आसेपासेलाई जागिर खुवाउने माध्यम बनाउनेहरुले बक्सिङलाई बिगारिरहेका छन् । सीमित व्यक्तिहरु रमाउन प्रयोग भइरहेको छ । उनीहरुले खेलाडीको खेल हेर्दैनन् ।

यो बढी बोल्छ, यसको तौल समूह हटाइदिउँ भन्ने सोच्छन् । म आफैं गएर जापानमा खेलेर आएपछि पनि एउटा प्रतियोगितामा विदेश लैजाने तयारी भइरहेको थियो । तर, मेरो तौल समूहमा खेलाडी नै पठाएनन् । म ७८ किलोग्राममा थिएँ । ७५ देखि ८१ तौलसमूहसम्म खेल्न सक्थेँ । तर ९१ किलो र ४८ किलो तौल समूहको खेलाडी मात्र पठाइयो । दुई जना मात्रै ल्याउनु भनेको त होइन होला ।

****

आगामी वैशाखमा हुने तय भएको आठौं राष्ट्रिय खेलकुदलाई नै मेरो अन्तिम खेल बनाउने सोचेको छु । एम्योचरमा मेरो अन्तिम प्रतियोगिता यही हुनेछ । आठौंकै खेलमा सन्यास लिनेछु । युवा जोशको बेला भनेका कुराहरुबाट सबैसँग माफी मागेर बिदा हुनेछु ।

सन्यास केही वर्ष नलिँदा पनि हुन्थ्यो होला, तर खेल्ने इच्छा भएको बेलामा खेल्न पाइएन । अब त्यो भोक पनि हराइसकेको छ । ओलम्पिक गएर खेल्छु भन्ने इच्छा पनि रहेन । तर ओलम्पियन बनाउनसक्छु भन्ने सोच भने छ र बनाउछौं पनि… ।

प्रस्तुति : ऋग्वेद शर्मा

तस्वीर : विकास श्रेष्ठ 

(अनलाइनखबरले सुरु गरेको खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समिटिने ‘मेरो कथा’ को ३० औं श्रृङ्खलामा यो हप्ता बक्सिङ खेलाडी म्याक्स बस्नेतको कथा प्रस्तुत गरिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment