
२२ चैत, बुटवल । नवलपरासी (पश्चिम) को सुनवल नगरपालिका–१०, गैंडाखालमा घरको गारो भत्किँदा २ बालिकाको मृत्यु भएको छ । २ घाइते छन् ।
स्थानीय कर्णबहादुर थापाको इँटा र माटोले बनेको पुरानो घर भत्काउने क्रममा अकस्मात खसेको गारोले पुरियर स्थानीय ४ वर्षीया नवीना अधिकारी र ५ वर्षीया समीक्षा बस्नेतको मृत्यु भएको हो । नवीना रमाकान्त अधिकारी र समीक्षा उमा बस्नेतकी छोरी हुन् ।
नवीना र समीक्षासँगै अन्य २ जना खेल्दै गरेको अवस्थामा गारो खसेपछि त्यसले पुरेर उनीहरू घाइते भएका थिए । घाइते ४ मध्ये नवीनाको देवदह मेडिकल कलेज भलुहीमा र समीक्षाको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नवलपरासीका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।
यही घटनामा सुनवल-१० कै रमेश खत्रीकी ६ वर्षीया छोरी दीक्षा खत्री र ७ वर्षीया समीक्षा भुसाल घाइते भएका छन् । दीक्षाकाे आम्दा अस्पताल बुटवल र समीक्षाको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, नवलपरासीले जनाएको छ ।
प्रतिक्रिया 4