Comments Add Comment

‘ए मेरो हजुर २’को ट्रेलर युटुबमा हिट, हलमा फिल्म के होला ?

नेपालमा इन्टरनेटको विस्तार भएसँगै सामाजिक संजाल प्रयोगकर्ताको संख्या दिनहुँ बढिरहेको छ । कुनै, समय चलचित्रको प्रमोशनका लागि खासै माध्यम नपाउने निर्माताहरुसँग अहिले धेरै विकल्प छन् ।

यसमध्ये, पछिल्लो समयमा चलचित्रको प्रचार सामाग्रीको लोकप्रियता युटुबबाट मापन हुन थालेको छ । चलचित्रको गीतको भिडियो, ट्रेलरको चर्चा युटुबमा देखिएको भ्यूजको आधारमा हुन थालेको छ । हुनत, युटुबमा हिट भएका ट्रेलर र गीतसंगीतकै कारणले चलचित्र पनि हिट भएका छन् भन्ने अवस्था छैन । तर, केहीको हकमा भने यो कुरा लागू भएको छ ।

शुक्रबार बेलुकी सार्वजनिक भएको चलचित्र ‘ए मेरो हजुर २’को ट्रेलरले पनि युटुबमा आक्रामक भ्यूज पाएको छ । यो ट्रेलर १ दिनमा सबैभन्दा धेरैपटक हेरिने नेपाली चलचित्रको ट्रेलर समेत बनेको छ ।

१ दिनमा ५ लाख भन्दा बढी पटक हेरिएको ट्रेलरलाई यो समाचार तयार पार्दासम्म ६ लाख ३० हजार भन्दा बढी पटक हेरिएको छ । यो ट्रेलर नेपालको नम्बर २ ट्रेन्डिङमा छ ।

सुनिलकुमार थापाको निर्माणमा तयार भएको चलचित्रलाई नायिका झरना थापाले निर्देशन गरेकी हुन् । चलचित्रमा साम्राज्ञीराज्य लक्ष्मी शाह, सलोन बस्नेत, नव-नायक सलिनमान बनियाँको मुख्य भूमिका छ ।

युटुबमा ट्रेलरले पाएको समिक्षा र भ्यूजबाट आफूहरुले गरेको मिहिनेत केही हदसम्म प्रमाणित भएको निर्माता सुनिलकुमार थापाले बताए । चलचित्रको यस अगाडि सार्वजनिक २ गीत पनि युटुबमा निकै हिट भएको थियो ।

भदौ १६ गतेबाट रिलिज हुने यो चलचित्रले व्यापार पनि आक्रामक गर्ने धेरैको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment