Comments Add Comment

मोरङको फोकल्याण्ड टापुमा अज्ञात रोगबाट दुई जनाको मृत्यु

९ साउन, दुलारी (मोरङ) । सुनसरी र मोरङको सीमा क्षेत्रमा रहेको फोकल्याण्ड टापुमा अज्ञात रोगका कारण २ जना बालबालिकाको मृत्यु भएको छ ।

मोरङको सुन्दर हरैँचा नगरपालिकाको वडा नम्बर-५ का दुई बालबालिकाको मृत्यु भएको हो ।

डिल्लीमान तामाङकी-५ बर्षीय छोरी सुस्मिता तामाङको शनिबार उपचारको क्रममा मृत्यु भएको हो ।

सुस्मिताको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको उनकी आमा निर्मला तामाङले जानकारी दिइन् । मृत्युको स्पष्ट कारण डाक्टरले केही नभनेको उनको भनाइ छ ।

आफन्तका अनुसार सुस्मितालाई ज्वरो आउने र टाउको दुख्ने गरेको थियो ।

यस्तै गएको असार २९ गते पनि दिलकुमार राईको छोरा विजय राईको मृत्यु भएको थियो । उनलाई पनि ज्वरो आउने, टाउको, दुख्ने समस्या थियो ।

समस्या देखिएको दुई दिनमा १४ वर्षीय छोराको मृत्यु भएको बुवा दिल कुमार राईले बताए ।

करिब १४ बर्षका डानियल राई सिकिस्त बिरामी भएपछि उपचारका लागि धरान वीपी प्रतिष्ठान लगिएको छ ।

अन्य स्थानीयबासीहरुमा पनि यो समस्या देखिएको छ । अज्ञात रोगका कारण स्थानीयवासीहरु त्रसित भएका छन् ।

३५ घरपरिवार बसोबास गर्दै आएको यो गाउँमा १० परिवारमा यस्तो समस्या देखिएको स्थानीयले बताएका छन् ।

उनीहरु सबैमा ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएको स्थानीय दलजित सुब्बा जानकारी दिए ।

एउटै लक्षणको रोगका कारण २ जनाको मृत्यु भएपछि कुरा बाहिर आएको हो ।

प्रकोपको बारेमा भर्खरै जानकारी भएको भन्दै वडा नम्बर-५ का वडाअध्यक्ष राम रिजालले स्वास्थ्यकर्मीहरु बोलाईएको बताए ।

असारको दोस्रो हप्तादेखि ज्वरो आउने समस्या देखिएको थियो । सुरुमा एउटा परिवारमा देखिएको समस्या पछि गाउँमै फैलिएको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment