+
+

संशोधन प्रस्ताव केही दिनमै निर्णयार्थ पेश हुन्छः पुन

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १५ गते १३:५६

१५ साउन, काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनले संसदमा विचाराधीन संविधान संशोधन विधेयकलाई एक-दुई दिनभित्रै निर्णयार्थ पेश गर्ने तयारी भइरहेको बताएका छन् ।

ईमानदारिताका साथ दुई तिहाई पुर्‍याउने कोशिश गरिरहेका भन्दै उनले भने ‘अब संशोधन प्रस्तावलाई टुँगो लगाउने निश्कर्षमा पुगिसकेका छौं, राजपाले अब परिणाम स्विकार्न तयार हुनुपर्छ । प्रस्ताव फेल वा पास जे भएपनि राजपाले मान्नुपर्छ ।’
संविधान संशोधन प्रस्ताव फेल भएपनि त्यही एजेण्डा बोकेर राजपा चुनावमा जान तयार हुनुपर्ने उनले बताए ।

आइतबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा माओवादी नेता पुनले संशोधनमा प्रमुख प्रतिपक्षी एमाले पनि लचिलो बन्नुपर्ने धारणा राखे । एमालेले अतिवादी चिन्तन त्याग्नु पर्ने भन्दै उनले भने, ‘संशोधनको कुरा गर्दा राष्ट्रघाती देख्ने र विदेशीको प्रभावमा ल्याएको देख्ने एमालेको दृष्टिदोष हो, यसबाट एमाले मुक्त हुनुपर्छ ।’

संशोधन प्रस्ताव पारित भए नेपालको स्वाधिनता, समृद्धि, शान्ति र स्वाभिमानमा टेवा पुग्ने उल्लेख गर्दै भने, ‘एमाले र मधेशवादी दलहरु दुई कित्तामा उभिएका छन्, यीनीहरुलाई मिलाउनका लागि नै कांग्रेस र माओवादी केन्द्रको मध्यमार्गी गठबन्धन बनेको हो ।’

माघ गतेभित्रै सबै निर्वाचन गर्नुपर्ने भएकोले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन छुट्टाछुट्टै गर्दा समय अपुग हुन सक्ने उनले बताए । नेता पुनले भने, ‘समय अत्यन्त छोटो छ, त्यसैले प्रदेश र केन्दि्रय संसदको निर्वाचन एकै चरणमा गर्दा राम्रो हुन्छ ।’

बाणिज्यमन्त्री मिन विश्वकर्माले एकै चरणमा निर्वाचन गराउने गरी सरकार गृहकार्यमा जुटिसकेको बताएका छन् । उनले भने, ‘सरकारले प्रदेश र केन्दि्रय संसदको निर्वाचन एकै चरणमा गराउने गरी छलफल सुरु गरिसकेको छ, यसमा प्रतिपक्षी दललगायत अन्य दलहरुले पनि सकारात्मक प्रतिक्रिया दिएका छन ।’

दुवै निर्वाचन मंसिरको पहिलो अथवा दोस्रो हप्ता गर्नेगरी प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका र दलहरुसँग छलफल गरिरहेको उनले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता प्रकाश ज्वालाले प्रदेश र केन्द्रको निर्वाचन एकै चरणमा गर्नका लागि आफ्नो पार्टीको सहमति रहेको स्पष्ट पारेका छन् । उनले भने, ‘समय थोरै छ, यसमा सरकार र आयोगले खुट्टा कमाउनु हुँदैन । दुवै निर्वाचन एकै चरणमा गर्दा राज्यको साधन र स्रोतको पनि बचत हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?