Comments Add Comment

विशाल र अरुणा वर्ष उत्कृष्ट खेलाडी, रानाभाटलाई लाईफटाईम अचिभमेन्ट अवार्ड

२१ साउन, पोखरा । पोखरा स्पोर्टस अवार्ड-२०७३ मा लन टेनिस खेलाडी कुमार अधिकारी र भलिवलकी अरुणा शाही वर्ष उत्कृट खेलाडी घोषित भएका छन् ।

खेलकुद पत्रकार मञ्च कास्कीले शनिबार पोखरामा गरेको दोश्रो संस्करणको ‘पोखरा स्पोर्टस अवार्ड-२०७३’ मा अधिकारीले वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्ड र शाहीले वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड चुमेका हुन् ।

अधिकारीले क्रिकेटका करण केसी र हृयाण्डवलका विशाल वस्नेतलाई पछि पार्दै अवार्ड हात पारे । अवार्ड वितरणमा अनुपस्थित अधिकारीको अवार्ड उनका बुबा दुर्गाबहादुर अधिकारीले थापे ।

पाँच वर्षसम्म राष्ट्रिय च्याम्पियन कुमार सन् २००७ देखि २०१२ सम्म नम्बर वान खेलाडी हुन् । अधिकारीले गत साल पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा टिम ईभेन्ट र डबल्स ईभेन्टमा स्वर्ण तथा एकल प्रतिष्पर्धामा काश्य पदक जितेका थिए ।

त्यस्तै सातौं राष्ट्रिय खेलकुदमा भलिवलमा काश्य पदक ल्याउन महत्वपूर्ण भूमिका खेलेकी अरुणा शाहीले वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जितिन् । उनले फुल कन्ट्याक्ट कराँतेकी सुस्मी श्रेष्ठ र भारत्तोलनकी टीकामाया गुरुङ्गलाई पछि पार्दै अवार्ड चुमेकी हुन् ।

यसैगरी, उदीयमान वर्ष खेलाडी विधामा भलिवलकी ममता डगौराले अवार्ड जितिन् । उनले एथ्लेटिक्सका दर्शना बुढा मगर र सागर नेपालीलाई पछि पार्दै डगौराले अवार्ड जितेकी हुन् ।
सातौं राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चलले भलिवलमा काश्यपदक जित्दा उनी त्यसको सदस्य थिइन् भने क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण जित्दा उनको महत्वपूर्ण योगदान थियो ।

वर्ष उत्कृष्ट प्रशिक्षकमा तेक्वान्दोका सुनबहादुर लामाले अवार्ड जिते । उनले भारत्तोलनका बखतमान श्रेष्ठ र एथ्लेटिक्सकी ईन्द्रा मल्ललाई पछि पार्दै अवार्ड जितेका हुन् ।
फाईभ डाँन सुनबहादुर निरन्तर खेलकुदमा कृयाशिल छन् । उनको प्रशिक्षणमा खेलाडीले सातौं राष्ट्रिय खेलकुद परिषद्मा राम्रो नतिजा प्राप्त गर्न सफल बनेको छ । साथै विभागीय टीम नेपाल आर्मीका खेलाडीलाई समेत उनले प्रशिक्षण दिँदै आएका छन् ।

वर्ष उत्कृष्ट खेलाडी महिला तथा पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई नगद २५-२५ हजार र अन्य विधाकालाई जनही १०-१० हजारसहित अवार्ड प्रदान गरिएको हो ।

मञ्चले पहिलोपटक थपेको उत्कृष्ट संघको विधामा कास्की जिल्ला लन टेनिस संघलाई अवार्ड प्रदान गरेको छ ।

वर्ष उत्कृष्ट संघलाई नगद १० हजारसहित अवार्ड प्रदान गरिएको हो । संघले यस वर्ष रंगशालामा रकम संकलन गरेर २ वटा टेनिस कोर्ट निर्माण गर्नुका साथै प्रतियोगितामा समेत आयोजना गरेको थियो । सोही कामको मूल्यांकन गर्दै संघलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

लाइफटाईम अचिभमेन्ट अवार्डबाट रानाभाट सम्मानित

खेलकुद पत्रकार मञ्च कास्कीले पूर्व अन्र्तराष्ट्रिय धावक खड्गबहादुर रानाभाटलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरेको छ ।
मञ्चले अवार्ड वितरणको अवसर पारेर रानाभाटलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको हो । पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले ताम्रपत्र प्रदान गर्दै दोषल्ला ओढाएका थिए ।

लाइफटाइम एचिभमेन्ट अवार्ड वाट सम्मानित हुने ६९ वषिर्य रानाभाटले १४ वर्षको उमेर २०२० सालबाट आफ्नो खेल जिवन शुरु गरेका थिए । एथलेटिक्स, भलिवल र फुटवलका राष्ट्रिय खेलाडी रहेका उनी सन १९७० मा थाइल्याण्डको वैंककमा सम्पन्न छैटौं एशियाली खेलमा नेपालको तर्फबाट सहभागी हुँदै ३ हजार मिटरको स्टिपल चेजमा आठौं स्थान हाँसिल गरेका थिए । २०४१ सालमा राष्ट्रिय खेलकुद परिषदको मुख्य प्रशिक्षक रहेका रानाभाट २०६८ मा परिषदको सदस्य समेत बनेका थिए ।

भुतपूर्व खेलाडी मञ्च नेपालको संस्थापक तथा निवर्तमान अध्यक्ष र हाल नौलो घुम्ती नेपालको अध्यक्ष समेत रहेका रानाभाट विभिन्न खेलकुद लगायत सामाजिक संघ संस्थामा समेत कृयाशिल छन् ।

लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित रानाभाटले आफूले खेल क्षेत्रमा गरेको योगदानको मूल्यांकन गरेर सम्मान गरेकोमा आयोजकलाई धन्यवाद दिए । उनले खेलाडी प्रोत्साहनका लागि यस्ता कार्यक्रम आवश्यक रहेको भन्दै यसलाई निरन्तरता दिएर खेलाडीलाई प्रेरणा र प्रोत्साहन जगाईराख्न आग्रह समेत गरे । रानाभाटले पोखरामा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल बनिसकेपछि हालको विमानस्थललाई क्रिकेटको रंगशाला बनाउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment