+
+

नयाँ राप्रपाः गणतन्त्रवादी कि राजावादी ?

सरकारमा जान खुल्ला, केन्द्रीय बैठकको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २३ गते १८:५०

२३ साउन, काठमाडौं । राप्रपाबाट फुटेर पशुपति समशेर राणाको नेतृत्वमा गठन भएको नयाँ दल राप्रपा (प्रजातान्त्रिक) ले गणतन्त्रको पक्षमा उभिने संकेत दिएको छ । राप्रपा नेपाल र राप्रपाबीच एकता गर्दा राजसंस्थासहितको लोकतन्त्रलाई पार्टीको मुख्य राजनीतिक कार्यदिशा बनाइएको थियो ।

तर, एकता महाधिवेशन भएको ६ महिना नपुग्दै राप्रपामा फुट आएको छ । वरिष्ठ नेता पशुपति समशेरले १९ सभासद सहित आफ्नो नेतृत्वमा राप्रपा (प्रजातान्त्रिक) गठन गरेका छन् । नयाँ पार्टी गठनसँगै राणा समूहले महाधिवेशनको राजनीतिक लाइन फेर्ने तयारी सुरु गरेको हो ।

पार्टीको महाधिवेशनबाट पारित राजतन्त्र र हिन्दुराष्ट्र सहितको राप्रपाको विधान निर्वाचन आयोगले अस्वीकार गरेको अवस्थामा राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) ले आयोगको चाहना अनुसारकै नीति अंगीकार गर्न लागेको हो ।

विद्रोही राप्रपा नेताहरुले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन समेत दिएका छन् । नयाँ दलका लागि चुनाव चिन्ह हलो माग गरिएको छ । नयाँ पार्टी गठन लगत्तै केन्द्रीय समिति बैठकको तयारी भइरहेको नेताहरुले बताएका छन् ।

नयाँ पार्टीको मुख्य एजेण्डा संघीय लोकतान्त्रिक गणतन्त्र र सनानत हिन्दु राष्ट्र हुने एक नेताले बताएका छन् । गणतन्त्रको पक्षमा उभिने संकेत गर्दै उनले भने, ‘नयाँ पार्टी भर्खर बनेको छ, छलफललै क्रममा छौं । तर, जनताले दिएको म्याण्डेटलाई हामी स्वीकार गर्छौं ।’

लगातार तीन चुनाव (दुई वटा संविधानसभा र एक स्थानीय चुनाव)मा जनताले परिर्वतनकै पक्षमा मत दिएको भन्दै राप्रपा प्रजातान्त्रिकले त्यसलाई स्वीकार गर्ने बताएको छ ।

राप्रपा नेपालसँग पार्टी एकता गर्नुअघि तत्कालीन राप्रपाले गणतन्त्रलाई स्वीकार गरेको थियो । तर, धर्मनिरपेक्षताको सट्टा सनानत हिन्दु राष्ट्र हुनुपर्ने मत अघि सारेको थियो ।

सरकारमा जान खुला

नयाँ दल राप्रपा प्रजातान्त्रिकले सरकारमा जान सक्ने बताएको छ । तर, यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठवन्धनले पहिला प्रस्ताव गर्नु पर्ने एक नेताले बताए ।

यसो त सरकारमा जानकै लागि राप्रपा फुटाएर नयाँ दल दर्ता गरिएको दाबी पनि छ ।

तर, नयाँ दलका नेताहरु भने पार्टी फुट्नु अघि कमल थापाले आफैं सरकारमा जाने तयारीमा रहेको तर, प्रधानमन्त्रीले नबोलाएपछि सरकारमा नजाने निर्णय गराएको दाबी गरे ।

राप्रपा प्रजातान्त्रिकका एक नेताले भने, ‘एक कल कुरेर बसेका छौं, थोत्रो मन्त्रालय नै लिएर पनि जान तयार थियौं भनेर कमल थापा स्वयंमले पार्टी पदाधिकारी बैठकमा भन्नुभएको थियो । तपाई आफैं भन्नुस्, सरकारमा जान को आतुर थियो ?’

यो पनि पढ्नुहोस्

राप्रपा फुट्यो, पशुपति शम्शेरले खोले नयाँ दल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?