Comments Add Comment

रुपन्देहीमा २०५ जनाले नेपाली नागरिकता त्यागे

२६ साउन, भैरहवा । ०७० साल माघ महिनामा तत्कालीन बुटवल ननगरपालिका-१३ का एकबहादुर रानाले नेपाली नागरिकता त्यागका लागि जिल्ला प्रशसान कार्यालय रुपन्देहीमा निवदेन दर्ता गराए । कारण थियो बेलायतको नागरिकता प्राप्त ।

हङकङमा बस्दै आएका उनलाई ‘विदेश मोह’ ले छोएपछि उनले आफ्नो जन्मस्थान छाडेर बेलायत रोजे । ०५३ सालमा नागरिकता बनाएका उनले ०७० सालमा अर्थात नागरिकता प्राप्त गरेको १७ वर्षमा आफ्नो नेपाली नागरिकता त्याग गरे ।

यस्तै भैरहवा (सिद्धार्थनगर ननगरपालिका-३) की गायत्री थापाले ०६८ साल असोज महिनामा नागरिकता त्यागको लागि जिल्ला प्रशसान कार्यालय रुपन्देहीमा निवदेन दिइन् ।

उनले पनि बि्रटिश नागरिकता लिन परेको कारण देखाउँदै आफ्नो वंशज नेपाली नागरिकता त्याग गरिन् । ०५५ सालमा नागरिकता बनाएर उनले नागरिकता प्राप्त गरेको १३ वर्षमा ०६८ सालमा नागरिकता त्याग गरिन् ।

यी त प्रतिनिधि उदाहरण मात्र हुन् । रुपन्देही जिल्लाबाट नागरिकता लिएका २ सय ५ जनाले आफ्नो नागरिकता त्याग गरेको रुपन्देहीका साहयक प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले बताए ।

अन्य देशको नागरिकता लिइसकेको, लिने प्रक्रियामा रहेको, विदेशी नागरिकसँग विवाह गरी विदेशमै बसोबास गरेको लगायतका कारण देखाउँदै हालसम्म २०५ जनाले नागरिकता त्याग गरेको प्रजिअ रेग्मीले बताए ।

‘विदेश मोह’ का कारण नागरिकता त्याग गर्नेमा अधिकांश युवा पुस्ताको जमात रहेको छ । जो वैदशिक रोजगारीको सिलसिलामा विदेश जाने गरेको र वर्षौ विदेशमा कार्यरत रही सोही देशको नागरिकता प्राप्त गरी/गर्नका लागि आफ्नो जन्म मुलुकलाई छाडेर बिदेशी नागरिकता लिने गरेका छन् ।

विगतका वर्षहरुको तुलनामा केही वर्ष यता नागरिकता त्याग्नेको संख्या भने केही कमी आएको साहयक प्रजिअ रेग्मी बताउँछन् । ‘विगतका वर्षहरुमा नागरिकता त्याग गर्ने संख्यामा वृद्धि भएको थियो तर अहिले उक्त संख्या विस्तारै घट्दै गइरहेको छ ।’ उनले भने ।

गत आर्थिक वर्ष ०७२/०७३ को तुलनामा गत आव ०७३/०७४ मा नागरिकता त्याग्नेको संख्यामा पनि केही कमी आएको छ ।

गत आव ०७२/०७३ मा रुपन्देही जिल्लाबाट नागरिकता लिएका १७ जनाले नागरिकता त्याग गरेका थिए भने आव ०७३/०७४ मा १५ जनाले नागरिकता त्याग गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीको नागरिकता फाँटका नासु यज्ञ पोख्रेलले जानकारी दिए ।

नेपाली नागरिकता त्याग गरेर अधिकांशले बेलायत, बि्रटिश, सिंगापुर लगायत देशका नागरिकता प्राप्त गरेका छन् ।

किन त्याग गर्छन् नागरिकता, कसरी रोक्ने ?

नागरिकता त्याग्नेको संख्यामा कमी आएपनि मुलुकमा राजनीतिक अस्थिरता, भ्रष्टाचार, बेरोजगारी लगायतका कारण नेपाली नागरिकले नागरिकता त्याग्ने गरेको समाजशास्त्री उमेश रिजाल बताउँछन् ।

उनले नेपाली नागरिकता त्याग्ने व्यक्तिहरुलाई देशको माटोप्रति माया रहेपनि मुलुकको दुरवस्था कारण नेपालीहरुले विदेशको बसाई रोज्ने गरेको बताए ।

राष्ट्रले आफ्नो नागरिकको सुरक्षा, रोजगारी लगायतको ग्यारेण्टी गरेर कार्यान्वयन गर्नुपर्ने राष्ट्र जिम्मेवारी रहेपनि राष्ट्रले नागरिकको वेवास्ता गर्दा नेपालीहरुले नागरिकता त्याग गरेर अन्य देशको नागरिक बन्दै गएको उनको भनाइ छ ।

स्थिर सरकार, भष्ट्राचार नियन्त्रण, रोजगारी, सुरक्षा लगायत नभएसम्म नागरिकता त्याग गर्नेलाई रोक्न नसक्ने उनी बताउँछन् ।

उनले सरकारले प्रत्येक नेपाली नागरिकता सुरक्षा, रोजगारीको व्यवस्था लगायत देशमा बसेर खाने राम्रो व्यस्था मिलाएर मात्र नागरिकता त्याग गर्ने क्रम रोकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment