+
+

शहरका गरीब घर फर्कन नसक्ने अवस्थामा

नहरको डिलबाट गुनासो- राहत लिएर कोही आएनन्

ध्रुव भट्टराई ध्रुव भट्टराई
२०७४ साउन ३२ गते ९:५२

३२ साउन, बिराटनगर । भनिन्छ, विपत्ति धनी र गरीब सबैलाई उस्तै गरी आउँछ । तर, बिराटनगरको अवस्था हेर्दा विपत्तिले हुनेखानेलाई भन्दा हुँदाखाने गरीबलाई बढ्दा सताउँदोरहेछ । बालकृष्ण समले त्यसै लेखेका होइन रहेछन्- धनीको घरमा मात्र तेरो बास हुने भए । हे ईश्वर दया राखी मलाई अझ दुःख दे !

आकाशबाट वर्षिएको  पानी रोकिए पनि जमीन ओभाएको थिएन । अनलाइनखबरकर्मी केसलिया नहरको डिलमा पुग्दा त्यहाँ विपन्न समुदायका मानिसहरु अलपत्र अवस्थामा भेटिए ।

डुवानका कारण घरबारविहीन बनेका बिराटनगर-११ का सुदिर खातुन नहरको डिलमै थिए । विस्थापित भएको तीन दिन भए पनि आफूहरुले अहिलेसम्म राहत नपाएको उनले गुनासो गरे ।

केशलिया नहरको डिलमा बसेका अधिकांशले खाना र पानीको समस्या भएको बताए । खातूनजस्तै अहिले केशलियाको डिलमा करिव ४० घरपरिवार बसेका छन् ।

‘डुवानका कारण घर भत्कियो, बस्नका लागि घर फर्कन सक्ने अवस्था छैन, यसरी नहरको डिल कतिञ्जेल बसाइ हुने हो थाहा छैन,’ खातूनले अनलाइनखबरसँग भने- ‘एकछाक खानका लागि कतैबाट सहयोग पाइएन ।’

घरबारविहीन भएर स्कुल, पार्टी प्यालेस एवं नहरको डिलमा बसिरहेका पीडितले आफूहरुलाई कुनै पनि संघसंस्थाले राहत वितरण नगरेको गुनासो गरे ।

‘अलिअलि पैसा हुनेहरुले त्रिपाल किनेर छाप्रो हालेका छन्, नभएकाहरु यत्तिकै दुखले बसेका छौं,’ अर्का ६२ वर्षीया रमला सरदारले अनलाइनखबरसँग भनिन् ।

बिराटनगरमा पक्कीघर हुनेहरु डुबानमा परे पनि उनीहरूका आवास सग्लै छन् ।गरीबहरु भने छाप्रोमा फर्केर जान सक्ने अवस्था नभएकाले सडकमा आउन बाध्य छन्

बिराटनगरका अन्य स्थानमा पनि घरबारविहीन भएर बसेकाहरुले समेत समयमै राहत नपाएको बताउँदै आएका छन् । विषेश गरी डुवानपीडितलाई स्वच्छ खानेपानी र दुई छाक खानको समस्या देखिएको छ ।

 

बिराटनगरमा भएको डुबानले सबैभन्दा ठूलो मारमा गरीबहरु परेका छन् । उनीहरुको घर कच्ची एवं माटाको एकतले भएका कारण डुबानसँगै अधिकांश भत्किएका छन् । पक्की एवं दुई तले घर हुनेहरु डुबानमा परे पनि उनीहरुको आवास काम नलाग्ने बनेको छैन ।

तर, गरीबहरु भने छाप्रोमा फर्केर जान सक्ने अवस्था छैन । डुबानपछि उनीहरु सडकमा आउन बाध्य बनेका छन् ।

जिल्लामा विभिन्न संघसंस्था एवं स्थानीय प्रशासनले राहत वितरण थालेको बताइरहेका छन् । तर, गरीब, विपन्न एवं आवाजविहीनहरुसम्म राहत पुग्न सकेको छैन । यसतर्फ स्थानीय प्रशासन, दलका नेता, स्थानीय जनप्रतिनिधि एवं संघसंस्थाहरुले ध्यान दिन सकेका छैनन् ।

शहर सामान्य बन्न थाल्यो


यसैवीच, केहीदिनसम्म जलमग्न बनेको बिराटनगर उपमहानरपालिकामा पानी सुक्न थालेपछि जनजीवन क्रमश सामान्य बनिरहेको छ । सडकमा गाडीहरु गुड्न थालेका छन् भने पसलहरु पनि सामान्यतः खुल्न थालेका छन् ।

बिराटनगरबासीहरु मुख्य सडकमा सवारी साधन लिएर निस्कन थालेका छन् । जनजीवन विस्तारै सामान्य बन्दैछ ।

अविरल वर्षका कारण बिराटनगरको मुख्य सडकमा ३ फिटसम्म पानी जमेको थियो भने बिराटनगर बसपार्कमा ४ फिटसम्म पानी जमेको थियो । अहिले बिराटनगर बसपार्कमा पनि पानी सुकेर जमिन ओभाउने क्रम सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?