Comments Add Comment

गोरखामा नेपाली र अमेरिकी सेनाको संयुक्त स्वास्थ्य शिविर

३२ साउन, गोरखा । नेपाली र अमेरिकी सेनाको संयुक्त आयोजनामा गोरखामा निःशुल्क स्वास्थ्य शिविर र इन्जिनियरिङ सेवा सञ्चालनमा आएको छ ।

गोरखा नगरपालिका वडा नम्वर ८ स्थित सरस्वती मावि आहालेमा सोमवारबाट सुरु भएको स्वास्थ्य शिविरमा छाला तथा यौन रोग बिशेषज्ञ, आँखा रोग बिशेषज्ञ, मुटु रोग बिशेषज्ञ, दन्त रोग बिशेषज्ञ लगायतको टोलीले उपचार सेवा दिइरहेका छन् ।

शिविरमा हाल सम्म करीव १५ सयले सेवा लिइसकेको आज पत्रकार सम्मेलन गरी जानकारी गराइयो । शिविरमा आउने अधिकांश बिरामीहरुमा छाला, मुटु, पेट तथा आँखासम्बन्धी समस्या देखिएको नेपाली सेनाका मेजर प्रकाश बहादुर सिंहले जानकारी दिए ।

शिविरमा अमेरिकी वायु सेनाको नेतृत्वमा रहेको प्यासफिक एन्जल्स तथा नेपाली सेनाको चिकित्सक टोलीले उपचार सेवा दिइरहेका छन् ।

प्राकृतिक विपदको बेला सहकार्य गरेर सहयोग गर्न अभ्यासका लागि संयुक्त रुपमा स्वास्थ्य शिविर र इन्जिनियररिङ सेवा संचालन गरिएको अमेरिकी टोलीका प्रमुख कर्नेल डजले जानकारी दिए ।

मानवीय सहयोग तथा विपद् व्यवस्थापनमा नेपाललार्इ अमेरिकी सेनाले सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने उनले पत्रकार सम्मलेनमा बताए । चार दिनसम्म चल्ने शिविरमा नेपाली र अमेरिकी सेनाको करीव ४२ जना चिकित्सकको टोलीले स्वास्थ्य जाँच गरिरहेका छन् ।

त्यस्तै टोलीले जिल्लाको पुननिर्माणका लागी प्राविधिक ज्ञान पनि दिइरहेको छ । टोलीले गोरखाको तीन वटा बिद्यालय, एउटा अस्पताल र एउटा स्वास्थ्य चौकीमा पूर्वाधार बिकासको काम गरिरहेको नेपाली सेनाको इन्जिनियरिङ बिभागका प्राविधिक सेनानी अरविन्द श्रेष्ठले बताए ।

उक्त स्थानमा खानेपानीको पाइप बिछ्याउने, ट्याङकी निर्माण गर्ने तथा जीर्ण भवनहरु मर्मतमा सहयोग गर्दे आएको उनले जानकारी दिए । साथै भूकम्प पछि जिल्लाको पुननिर्माणमा सहयोग पुग्ने उद्देश्यले आवश्यक प्राविधिक ज्ञान पनि उपलब्ध गराइएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment