+
+

सप्तरीमा बाढी आएकै बेला सिडियो फेरिँदा समस्या

कुन खोलाको क्षति कति ?

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १ गते ११:४६

१ भदौ, सप्तरी । जिल्लामा बाढीले कति घर बगायो र कति क्षतिग्रस्त बनायो भन्ने आधिकारिक तथ्यांक अहिलेसम्म तयार भएको छैन । बाढी आएकै समयमा तत्कालीन प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएपछि उद्धार कार्यमा अलमल भएको हो ।

नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा भागिरथ पाण्डे सोमबारमात्रै जिल्लामा हाजिर भए । उनले क्षतिको विवरण संकलनको काम भइरहेको बताएका छन् । यसअघिका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वाल बाढी शुरु भएदेखि नै जिल्लाको विभिन्न ठाउँ आफैं पुगेका थिए । नयाँ प्रमुख जिल्ला अधिकारी पाण्डेले तथ्यांक संकलनसँगै उद्धारको काम पनि भइरहेको बताएका छन् ।

जिल्लाको सदरमुकाम राजविराज-९ का ५० परिवार विस्थापित भई स्थानीय विद्यालयमा शरण लिइरहेका छन् । यहाँका एक दर्जन घर स्थानीय भलुवाही खोलाले बगाएको छ ।

राजविराजकै वडा नम्बर १ (साविकको १०) का दुई सय परिवार विस्थापित भएका छन् । राजविराज-१५ स्थित देउरी भरुवाको हाल पनि बेहाल छ । यहाँका हरेक घर डुबानमा परेका छन् ।

जिल्लाको तिलाठी- कोइलाडी गाउँपालिकाको तिलाठीसहित रम्पुरा मल्हनियाँ, कोइलाडी बर्साइन, लौनियाँ, हनुमाननगर कंकालिनी नगरपालिकाको इनर्वा, हनुमाननगर, मधवापुर, पोर्ताहा, भारदह सबै जलमग्न भएका छन् । यी ठाउँका सबैको घरमा पानी पसेको छ भने पाँच सयभन्दा बढी घर क्षतिग्रस्त बनेका छन् ।

डुबानमा परेका यहाँका बासिन्दाहरु सडकमा त्रिपाल टाँगेर जीवनयापन गर्न बाध्य बनेका छन् । कतिपयको त्रिपालसमेत नहुँदा जनजीवन कष्टकर बनेको छ ।

कुन खोलाको क्षति कति ?

खाँडो खोलाको बाँध विभिन्न ठाउँमा भत्किँदा राजविराज नगरपालिका अन्तर्गतको मलेठका घरघरमा पानी पसेको छ । खाँडोखोलाको बाढी रायपुरमा समेत पसेको छ । मलेठका ३ सयभन्दा बढी घर क्षतिग्रस्त बनेका छन् । खाँडो खोलाकै कारण रुपनी गाउँपालिका पनि जलमग्न बनेको छ ।

यस्तै खड्ग खोलाको बाँध भत्किँदा जिल्लाको बोदे बर्साइन, पातो, औरही, तरही, भुतही, गम्हरिया प्रवाहा, ब्रहमपुर, कविलास जलमग्न बनेको छ । यस क्षेत्रका पाँच सयभन्दा बढी घर बाढीसँगै बगेका छन् । बाढीले खड्ग नगरपालिकाको विभिन्न गाउँ डुबानमा परेको छ ।

त्यस्तै सुन्दरी खोलाको बाढीले जिल्लाको पूर्वी भेग डुबानमा पारेको छ भने कञ्चनरुप नगरपालिकाका विभिन्न गाउँमा सुन्दरी र बान्द्रा खोलाको बाढीको चपेटामा परेको छ ।

त्रियुगा खोलाको बाढीले सप्तकोशी नगरपालिका प्रभावित बनेको छ भने महुली खोलाको बाँध विभिन्न ठाउँमा भत्किँदा तिरहुत गाउँपालिका जलमग्न बनेको छ । महुली खोलाको बाढीले जिल्लाको जण्डौल, बकधुवा, सीतापुर, पोर्ताहासहितका गाउँ जलमग्न बनाएको छ ।

पर्यटन र वातावरण मन्त्रीको मन्त्रीको हवाइ निरीक्षण

सरकारका दुईजना मन्त्रीले सप्तरीको बाढी क्षेत्रको हवाइ निरीक्षण गर्दै बाढीपीडितको उद्वार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

हेलिकोप्टरबाट जिल्ला आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देव र वातावरण मन्त्री मिथिला चौधरीले हेलिकप्टर मार्फत जिल्लाको बाढीको अवस्था निरीक्षण गरेका हुन् । उनीहरुले करिब ४५ मिनेटसम्म जिल्लाको बाढी हवाइ मार्गबाटै निरीक्षण गरे ।

निरीक्षण पश्चात राजविराजस्थित प्रमुख जिल्ला अधिकारीको निवासमा जिल्लाका सुरक्षा अधिकारीलाई बाढीपीडितको बचाउमा कुनै कमी नराख्न मन्त्रीले निर्देशन दिए । ‘जुनसुकै हालतमा बाढीमा फँसेकाहरुको उद्धार गर्नुस्’ पर्यटन मन्त्री देवले भने, ‘ज्यान जोगाउँदै पेट पाल्ने जोहो गर्नु आवश्यक छ ।’

मन्त्री देवले सरकारले बाढीपीडितको उद्धारका लागि इमान्दारीपूर्वक काम गर्ने बताउँदै पहिलो चरणमा बाढीप्रभावित जिल्लाहरुको मन्त्री एवं सांसदहरुले टोली बनाएर निरीक्षण गरेको बताए । उनले बाढीपीडितको उद्वार तथा अस्थायी आवासका साथै खानाका लागि काम गर्ने बताए । यसपछि क्षतिको विवरण संकलन गर्ने र अबिलम्ब राहतको प्याकेज बनाएर वितरण गर्ने सरकारको योजना रहेको उनले सुनाए ।

जिल्लामा भर्खरै आएका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेसहित सशस्त्र, जनपथ, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखको सहभागिता रहेको बैठकमा मन्त्रीद्वय देव र चौधरीले जुनसुकै हालतमा पनि बाढीपीडितको रक्षा गरी अस्थायी बसोबास मिलाउन निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?