Comments Add Comment

दाङमा बाढीले साढे २० करोडको क्षति, ७ को मृत्यु, एक जना वेपत्ता (पूर्ण विवरणसहित)

४०० घरपरिवारका १८५८ जना बिस्थापित

५ भदौ, दाङ । बाढी र डुवानका कारण दाङमा झण्डै साढे २० करोड रुपैयाँको क्षति भएको छ । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङका अनुसार समुदाय तथा व्यक्तिगत सम्पत्तीको अनुमानित क्षति बिबरण अनुसार २० करोड ४५ लाख ८० हजार ३ सय ५० रुपैयाँ बराबरको क्षति भएको छ ।

साउन २७ गते रातिदेखि चार दिनसम्म परेको अबिरल बषर्ापछिको बाढी र डुवानले जिल्लाको घोराही, तुलसीपुर, लमही, दंगिशरण, बबई र राजपुरमा जनधनको क्षति भएको हो ।

बाढीले ३ सय ४५ विगाह खेतियोग्य जमिन कटान गर्दा ८ करोड ११ लाख रुपैयाँको क्षति भएको अनुमान गरिएको छ । त्यसैगरी, १० हजार २ सय ९० क्वीन्टल अन्नबाली बगाउँदा ६ करोड १७ लाख ४० हजार बराबरको नोक्सानी भएको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

यस्तै ५ वटा सडक तथा पुल भत्काउँदा ४ करोड ८५ लाख ६३ हजार ३ सय ५० रुपैयाँ, ४ वटा बिद्यालयमा क्षति पुग्दा ३६ लाख ५० हजार, पाँच वटा माछा पोखरी बगाउदा ३४ लाख, ५ वटा कुखुराको र्फम बगाउँदा २५ लाख २० हजार रुपैयाँको नोक्सानी भएको अनुमान गरिएको छ ।

त्यस्तै बाढी र डुवानबाट ३४ सय ९१ पशुचौपाया मर्दा र घाईते हुँदा ४१ लाख १६ हजार ६ सय रुपैयाँ बराबरको नोक्सानी भएको पशु सेवा कार्यालयले जनाएको छ ।

यसैगरी टेलिफोनका तारमा असर पुग्दा ११ लाख ८५ हजार, १८ स्थानमा बिद्युतमा क्षति पुग्दा २ लाख ७० हजार, पसलमा असर पुग्दा २ लाख ७० हजार, सामुदायिक स्रोत केन्द्र तथा भवनहरुमा बाढी पस्दा २ लाख ५० हजार र एउटा स्वास्थ्य चौकीमा असर गर्दा ८० हजार रुपैयाँको नोक्सानी भएको प्रारम्भिक विवरण संकलन भएको केन्द्रका सूचना अधिकृत खिलानाथ दाहालले जानकारी दिए ।

बाढी र डुवानले पुर्‍याएको क्षतिको एकीन बिबरण संकलनका लागि स्वयमसेवकहरु परिचालन भएको प्रशासनले जनाएको छ । पीडित बनेकाहरुको घरधुरी सर्बेक्षणका लागि ५० जना स्वयम सेवकहरुलाई परिचालन गरिएको र केही दिनमा पूर्ण बिबरणहरु सार्वजनिक गर्ने केन्द्रको भनाइ छ ।

४०० घर भत्किए

बाढी र डुवानका कारण दाङका झण्डै ४०० घर पूर्णरुपमा भत्किएका छन् । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङका अनुसार बाढी र डुवानका कारण जिल्लामा ३ सय ९१ घर पूर्णरुपमा भत्किएका छन् ।

गत साउन २७ गतेदेखि चार दिनसम्म परेको अबिरल वर्षापछि आएको बाढी र डुवानले तुलसीपुर उपमहानगरपालिका भित्र १ सय ७, दंगिशरण गाउँपालिकामा १ सय ३, बबई गाउँपालिकामा ८०, लमही नगरपालिकामा ५८, राजपुर गाउँपालिकामा २९ र घोराही उपमहानगर क्षेत्रमा १४ घर पूर्णरुपमा भत्किएको पाइएको छ । ती ६ वटा स्थानीय तहका गाउँमा ४५३ वटा घरमा आंशिक क्षति पुगेको छ ।

१८५८ जना नागरिक बिस्थापित

घर भत्किएपछि ३९१ घरधुरीका १ हजार ८५८ जना विस्थापित भएका छन् । विस्थापितहरु त्रिपाल, आफन्त र सामुदायिक भवनहरुमा आश्रय लिएर बसेका छ । बाढी र डुवानले ८ सय ४४ घरधुरीका ४ हजार ७ जना प्रभावित भएको केन्द्रका सुचना अधिकृत दाहालले जानकारी दिए ।

७ को मृत्यु, १ बेपत्ता

बाढी र खोलाले बगाउँदा अहिलेसम्म ७ जनाको मृत्यु भएको, एक जना बेपत्ता भएको र दुई जना घाइते भएको सरकारी तथ्यांकमा उल्लेख छ ।

मृत्यु हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका-१३ सिमलखुटीका ४८ बर्षीया भगवती सुनार, तुलसीपुर-४ जितपुरका २८ बर्षीय नरबहादुर रावत, तुलसीपुर-११ का ४० बर्षीय मेघबहादुर केसी रहेका छन् ।

त्यसैगरी, तुलसीपुर बल्लेका ४६ बर्षीय भिमराज पाण्डे, घोराही उपमहानगरपालिका-१२ पेदाकी ३८ बर्षीया निर्मला बाठामगर, घोराही-९ का पि्रयभक्त डाँगी र राजपुर गाउँपालिका-१ पटौलीका १८ बर्षीय बुद्धिमान पुन रहेको केन्द्रको तथ्यांकमा उल्लेख छ । त्यसैगरी, लमही नगरपालिका-२ रनियापुरका ३८ बर्षीय सुरज चौधरी बेपत्ता छन् ।

राहत बितरण जारी

बाढी र डुवानबाट प्रभावित भएकाहरुलाई सरकारी एवं गैरसरकारी क्षेत्रबाट राहात बितरणको क्रम जारी छ । बाढीबाट पुगेको क्षतिको अबस्थालाई हेर्न प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ अधिकांश प्रभावित क्षेत्रमा पुगेका छन् ।

पीडितहरुलाई खाद्यान्न, त्रिपाल, भाडाबर्तन सहितका दैनिक आबस्यक पर्ने आधारभुत सामग्रीहरु बितरणको काम भैरहेको प्रशासनले जनाएको छ । बास्तबिक पीडितहरुलाई राहत पुर्‍याउने उदेश्यले अहिले सरकारी तथा गैरसरकारी क्षेत्रबाट प्रतिनिधिहरु पीडित वस्तीमा पुगेका छन् भने स्वास्थ्य जाँच र उपचार पनि भैरहेको छ ।

क्षतिको पूर्ण विवरण

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment