+
+
Shares

देउवालाई मोदीको सुझाव- सबै पक्षसँग सम्वाद जारी राख्नोस्

रक्षा, सुरक्षा, कनेक्टिभिटी, रामायण र बौद्ध सर्किटमा जोड

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ ८ गते १५:१६

८ भदौ, नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समाजका सबै वर्गसँग संवाद जारी राख्दै नेपालमा सबै नागरिकको आकांक्षालाई समाहित गरेर संविधानलाई सफलतापूर्वक लागु गर्ने विश्वास व्यक्त गरेका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले उनको कुशल र अनुभवी नेतृत्वमा यो सम्भव हुन सक्ने औंल्याए । अपेक्षा गरिएझैं मोदीले नेपालको संविधानलाई स्वागत गरेनन् । तर, सोहीअन्तर्गत् भएको स्थानीय तहको दुई चरणको चुनाव सफलतापूर्वक सम्पन्न गराएकामा नेपाल सरकारलाई बधाइ दिए । मोदीले भने, ‘नेपालमा लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउनका लागि तपाईंले जसरी व्यक्ति तवरबाट महत्वपूर्ण भुमिका निर्वाह गर्नु भयो, त्यसको म प्रशंसा गर्छु ।’

नेपाली भाषाबाट आफ्नो मन्तव्य सुरु गरेका थिए मोदीले, ‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य नेपाली अतिथि गणलाई नयाँदिल्लीमा स्वागत गर्न पाउँदा हामीलाई धेरै खुशी लागेको छ ।’

भारतमा प्रधानमन्त्री देउवालाई स्वागत गर्ने अवसर मिल्नु आफ्नो सौभाग्य रहेको बताए । भने, ‘महामहिम, तपाईंको यो भ्रमण एक यस्तो ऐतिहासिक समयमा भइरहेको छ, हामी हाम्रो कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठ मनाइरहेका छौं । तथापि, हाम्रो सम्बन्ध हिमालय जत्तिकै पुरानो हो ।’

‘महामहिम, हाम्रा दुवै मुलुकका बासिन्दा आपसमा गाँसिएका छन् । पारस्परिक सहयोगको क्षेत्रमा दुवै मुलुकको भागेदारी रहँदै आएको छ । हामी पारस्परिक उपलब्धिहरुप्रति गर्व गर्छौं,’ मोदीले थपे, ‘ठीक त्यसरी नै, आपसी पीडाको अनुभव पनि गर्छौं । एक नजिकको छिमेकी र मित्र देशका नाताले भारत नेपालमा शान्ति, स्थायित्व र उसका आर्थिक समृद्धिका प्रति सधैं सहज रहँदै आएको छ ।’

भारतलाई नेपालको विकास र आर्थिक प्रगतिको प्रयासहरुमा साझेदारी हुने सौभाग्य प्राप्त रहेको मोदीको जिकिर थियो । उनले भने, ‘महामहिम, लोकतन्त्रबाट आएको उन्नति शान्तिको स्थापना र सर्वांगिण विकासका लागि नेपालका नागरिकहरुको उपलब्धिहरुको हामी मुरी-मुरी प्रशंसा गर्छौं, सराहना गर्छौं ।’

‘असीम सम्भावना’

मोदीले प्रधानमन्त्री देउवा र आफूले दुवै मुलुकको साझेदारीको असीम सम्भावनाहरुबारे धेरै विस्तृत र सकारात्मक ढंगले छलफल गरेको जानकारी दिए । भने, ‘अन्य विभिन्न स्तरबाट अलग-अलग क्षेत्रहरुमा दुवै मुलुकको सम्बन्धलाई अगाडि बढाउनेवाला नयाँ मार्ग र अवसरहरु माथि विशेष ढंगले ध्यान दियौं ।’

भारतीय प्रधानमन्त्रीले नेपालमा भारतको सहायतामा चलिरहेका विकास परियोजनाहरु हुलाकी रोड, सीमापार ऊर्जा ‘ट्रान्समिसन लाइन’, संयुक्त चेकपोस्टमाथि काम भइरहेकामा खुशी व्यक्त गरे । र, कटैया-कुशाहा, रक्सौल-परवानीपुर ट्रान्समिसन लाइनको उद्घाटन गरेको सगर्व बताए । त्यसबाट भारतले नेपाललाई दिइरहेको करिब तीन सय ५० मेगावाट बिजुलीमा करिब सय मेगावाट थपिने जानकारी दिए । ‘हामी हाम्रो आपसी साझेदारीका विविध आयामहरु ऊर्जा, जल संशाधन, कनेक्टिभिटी परियोजनाहरु तथा भूकम्पपछिको पुनर्निर्माणमा मिलेर काम गरिरहेका छौं,’ मोदीले भने ।

पहिलेदेखि नै निर्माणाधीन जलविद्युत आयोजनाहरुलाई समय सीमामै सम्पन्न गर्नका लागि आफ्नो प्रयास अझ बढाइने आश्वासन दिए । र, अरुण तेस्रो जलविद्युत परियोजनामा नेपालमा रहेको जमीनसम्बन्धि विवाद सुल्झेकामा खुशी व्यक्त गरे ।

‘अरुण तेस्रो जलविद्युत परियोजना शिलान्यासका लागि देउवाजीले मलाई निमन्त्रणा दिनु भएको छ । यसका लागि म आभारी छु,’ उनले भने । पञ्चेश्वर परियोजनाको डीपीआरलाई अन्तिम रुप दिने प्रक्रियालाई तीव्रता दिइने पनि बताए ।

नेपालमा आएको बाढीको सन्दर्भमा भारतको तर्फबाट हरसम्भव सहायताको प्रस्ताव दोहोर्‍याए । सीमा बाँध नियन्त्रणका लागि समन्वय र परामर्शलाई अझ मजबुत बनाइने पनि बताए । ‘र, आपसी हीतलाई ध्यानमा राख्दै यसको दीर्घकालीन समाधानका लागि सोच्नु आवश्यक छ,’ उनले भने ।

दुवै मुलुकबीच व्यापार र लगानी बढाउनका लागि पनि सहमति भएको र त्यो दुवै मुलकका नागरिकहरुको हीतमा मात्र नभई क्षेत्रीय समृद्धिका लागि पनि अत्यावश्यक रहेको औंल्याए ।

मोदीले भने, ‘नेपाली जनता र नेपाल सरकारको प्राथमिकताहरुलाई ध्यानमा राख्दै नेपालको विकासमा आफ्नो साझेदारी बढाउनका लागि भारत पूर्ण रुपमा प्रतिबद्ध छ ।’ यो उद्देश्य प्राप्तिका लागि हामी कयौं त्यस्ता आर्थिक, कनेक्टिभिटी र विकास परियोजनामा सहमति जुटेको र त्यो नेपालको राष्ट्रिय प्राथमिकता पनि भएको बताए ।

भारतको अनुदान सहायताअन्तर्गत् धनगढीमा टेक्निकल इन्स्िटच्युट तथा जीपी कोइराला नेसनल सेन्टर फर रेस्पिरेटरी डिजिजको स्थापनाका लागि सैद्धान्तिक सहमति भएको जानकारी दिए। ‘आज जुन आठ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ, तीमध्ये चार वटा भूकम्पपछिको पुनर्निर्माणका लागि भारतद्वारा व्यक्त गरिएको एक बिलियन डलर सहायता अझ अगाडि बढाइने छ,’ उनले भने ।

रक्षा, सुरक्षा र सर्किट

रक्षा क्षेत्र र सुरक्षामा सहयोग द्विपक्षीय साझेदारीको महत्वपूर्ण पहलु भएको मोदीले बताए । उनले भने, ‘हाम्रो सुरक्षा हीत पनि आपसमा निर्भर छ । र, आपसमा गाँसिएको छ । हाम्रो खुला सीमाको दुरुपयोग रोक्नका लागि दुवै मुलुकका बासिन्दाको सुरक्षाका लागि हाम्रा रक्षा र सुरक्षा एजेन्सीहरुबीच दैनिक समन्वय बहुत अहम् कुरा हो ।’

बृहत्तर कनेक्टिभिटीका लागि बौद्ध र रामायण पर्यटन सर्किट विकास गरेर सीप विकास र क्षमता अभिवृद्धिका माध्यमबाट जनस्तरको सम्बन्धलाई अझ विस्तार गर्नु आवश्यक रहेको औंल्याए ।

मोदीले भने, ‘महामहिम, तपाईंको यो यात्रा परस्पर सहायताको हाम्रो प्रयासलाई अझ गति दिएको छ । मलाई विश्वास छ, यस क्रममा हामीले जुन सम्झौतामा हामीले सहमति जनाएका छौं, त्यो हाम्रो द्विपक्षीय सम्बन्धमा एक नयाँ ऊर्जाको सञ्चालन गर्नेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?