Comments Add Comment

विराटनगरको भारतीय क्याम्प हटाउनुपर्छः प्रचण्ड

'भारतसँगको समझदारीबारे प्रधानमन्त्रीसँग छलफल गर्छु'

१२ भदौ, बिराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवालेे भारत भ्रमणको क्रममा गरेका समझदारी र पत्रकार सम्मेलनमा दिएको विवादास्पद अभिव्यक्तिमा असन्तुष्ट माओवादी केन्द्रले प्रधानमन्त्रीसँग छलफल गर्ने बताएको छ ।

कोशी उच्च बाँधमा समझदारी गरेको र फेरि संविधान संशोधन गर्छु भनेर देउवाले दिएको अभिव्यक्तिमा माओवादी केन्द्र असन्तुष्ट छ ।

विराटनगरमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाल र भारतबाट जारी संयुक्त वक्तव्यमा कोशी बाँधको विषय उल्लेख भएको र त्यसलाई राख्न आवश्यक नभएको बताए ।

उनले भने, ‘आज मात्रै मैले संयुक्त वक्तव्य हेरें । तर, त्यो कुरा उल्लेख गर्न आवश्यक थिएन । काठमाडौं फर्केपछि हामी प्रधानमन्त्री लगायतसँग छलफल गर्छौं ।’

प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा सरकारमा माओवादी केन्द्रको नेतृत्व गरेका परराष्ट्रमन्त्री कृष्णबहादुर महरासमेत सहभागी थिए ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिले संविधान संशोधन आवश्यक नै नभएको पनि बताए ।

‘प्रधानमन्त्रीले कुन सन्दर्भमा के बोल्नुभो, आधिकारिक जानकारी छैन । तर, अहिले संविधान संशोधन हुँदैन, यो छिमेकीसँग समझदारी गर्ने कुरा पनि हैन,’ प्रचण्डले भने, ‘देशलाई आवश्यक परे फेरि बहस गरौंला । तर, अहिले यो बहस आवश्यक नै छैन ।’

हेर्नुहोस् भिडियो

पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले बिराटनगरमा राखिएको भारतीय क्याम्प हटाउनुपर्ने कुरामा माओवादी केन्द्र स्पष्ट रहेको बताए ।

अध्यक्ष प्रचण्डले अहिलेको मिसन निर्वाचन भएकाले माओवादी त्यसमा केन्द्रित भएको र सत्ता परिवर्तनबारे कुनै ध्यान नदिएको दाबी गरे ।

‘यो वर्ष चुनावमय’

अध्यक्ष प्रचण्डले यो वर्ष नेपालको लागि चुनावमय वर्ष भएको पनि वताए । अध्यक्ष प्रचण्डले स्थानीय तहको चुनावसँगै प्रदेश र संंसदको चुनाव पनि यही साल हुने भएकाले यो वर्ष चुनावमय साल भएको टिप्पणी गरे ।

उनले २ नम्वर प्रदेशमा हुने स्थानीय तहको चुनावमा लोकतान्त्रिक पक्षधर गणतान्त्रिक पार्टी जुनसुकैसँग पनि तालमेल गरेर अघि वढ्न सकिने वताए । यहि पार्टीसँग तालमेल गर्ने नखुलाएपनि प्रचण्डले आफूहरुको प्राथमिकता मधेस केन्दि्रत दलहरुसँगै तालमेल गर्नु रहेको बताए ।

पार्टीका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यहरुलाई प्रशिक्षण दिन प्रचण्ड सोमबार बिहान विराटनगर आएका हुन् ।

बिभिन्न कार्यक्रममा सहभागी भएर प्रचण्ड बुधबार काठमाडौं फर्किने उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment