Comments Add Comment

गोपाल किरातीलाई प्रदेश नम्बर १ को मुख्यमन्त्री बनाउने माओवादी निर्णय

गोपाल किराती

१४ भदौ, बिराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर १ को मुख्यमन्त्रीको उम्मेदवारका रुपमा गोपाल किरातीलाई अघि सारेको छ ।

प्रदेशसभाको चुनाव नजिकिँदै गर्दा माओवादीले किरातीलाई मुख्य मन्त्रीका रुपमा अघि सारेको हो ।

मंगलबार बिराटनगरमा बसेको एक नम्बर प्रदेश कमिटीको बैठकले किरातीको नाम अघि सार्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए ।

पूर्वसंस्कृतिमन्त्री समेत रहेका माओवादी नेता किराती सोलुखुम्बु जिल्लाका बासिन्दा हुन् । उनको थातबास झापामा पनि छ । ०७० को चुनावमा उनी झापामा एमाले अध्यक्ष केपी ओलीसँग चुनाव लडेर पराजीत भएका थिए ।

माओवादी केन्द्रले किरातीलाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरे पनि प्रदेश नम्बर १ मा उनको जीत निकै चुनौतीपूर्ण नै छ । कांग्रेस वा अरु कुनै दलसँग तालमेल नभएको अवस्थामा माओवादी एक्लैले मुख्यमन्त्री जित्ने सम्भावना क्षीण छ ।

तर, मुख्यमन्त्रीका लागि प्रत्यक्ष निर्वाचनको प्रावधान छैन । प्रदेशसभामा चुनिएर आउने जनप्रतिनिधिहरुको बहुमतका आधारमा मुख्यमन्त्री चयन गर्ने संवैधानिक प्रावधान छ ।

यो अवस्थामा मुख्यमन्त्री बन्नका लागि प्रदेशसभाको प्रत्यक्ष वा समानुपातिक सांसदमा चुनिनु अनिवार्य छ ।

स्थानीय चुनावमा माओवादीले प्रदेशसभाका १३७ स्थानमध्ये ९ सीटमा मात्रै जित हासिल गरेको थियो ।

यसैवीच विराटनगरमा बसेको माओवादी क्षेत्रीय सचिवालय बैठकले प्रदेशको निर्वाचनका लागि जिल्ला कमिटीले प्रत्येक निर्वाचन क्षेत्रबाट ३/३ जना उम्मदेवारको सिफारिस गर्ने र त्यसलाई प्रदेशले टुंगो लगाएर केन्द्रमा अनुमोदनका लागि पठाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment