Comments Add Comment

रौतहटमा माओवादी उम्मेदवारको फाइल गायव !

८२१ पदमा चार हजार बढी उम्मेदवार

२३ भदौ, रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा मनोनयन दर्ताको लागि बुझाइएको एक उम्मेदवारको फाइल गायब भएको छ । नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष पदका उम्मेदवार प्रमोद पासवानको फाइल हराएको हो ।

मनोनयनका क्रममा अबेर रातिसम्म लाइन बसेर उम्मेदवारी दस्तुरको रसिद समेत काटेका पासवानको फाइल नभेटिएपछि सो विवाद भएको छ ।

पासवानले आफूले फाइल बुझाएको तर निर्वाचन कार्यालयका कर्मचारीहरुले नियतवश फाइल लुकाएको आरोप लगाएका छन् । उम्मेदवारको फाइल हराएपछि माओवादी कार्यकर्ताहरुले विजयपुरमा रहेको निर्वाचन अधिकृतको कार्यालय घेराउ समेत गरे ।

यता निर्वाचन अधिकृत धर्मअवतार कोइरालाले उम्मेदवारले फाइल नबुझाएको दाबी गरेका छन् । उनले निर्वाचन आयोगको केन्द्रीय कार्यालयमै फाइल सम्बन्धी विवादबारे पत्राचार गरेर जानकारी गराएको बताएका छन् ।

प्रमुख पदमा २६६ जना उम्मेदवार

स्थानीय तहको निर्वाचनमा रौतहटमा झण्डै चार हजार उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । रौतहटका १६ नगरपालिका र २ गाउँपालिका मध्ये मौलापुर नगरपालिकाको उम्मेदवारको अन्तिम तथ्यांक भने प्राप्त नभएको निर्वाचन कार्यालयले जनाएको छ ।

रौतहटमा कुल १८ स्थानीय तहका लागि २६६ जनाले मेयर पदका लागि र १५४ जनाले उपमेयरमा पदका लागि उम्मेदवारी दिएका छन् । यसैगरी ८७६ जनाले वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

जिल्लामा हालसम्म ३ हजार ८०५ जनाको उम्मेदवारी परेको तथ्यांक प्राप्त भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बिहीबार बिहानसम्म पनि जिल्लाका केही स्थानहरुमा मनोनयनको कार्य जारी थियो ।

रौतहट सदरमुकामसमेत रहेको गौर नगरपालिकामा १७ जनाले प्रमुख पदमा उम्मेदवारी दिएका छन् । सबैभन्दा बढी गरुडा र वृन्दावन नगरपालिकामा २४-२४ जनाको प्रमुख पदमा उम्मेदवारी परेको छ ।

यसैगरी राजपुर नगरपालिकामा २१, माधवनारायण नगरपालिकामा २०, कटहरीया नगरपालिकामा १७ र गढीमाई नगरपालिकामा १६ जनाले प्रमुख पदमा आफ्नो उम्मेदवारी दिएका निर्वाचन कार्यालयले जनाएको छ । परोहा नगरपालिकामा र बौधिमाई नगरपालिकामा १४-१४, राजदेवी नगरपालिकामा १३ तथा देवाही गोनाही, चन्द्रपुर र फतुवा विजयपुर नगरपालिकामा १२-१२ जनाले मेयर पदमा उम्मेदवारी दिएका छन् ।

गुजरा नगरपालिकामा ११ र ईशनाथ नगरपालिकामा ११ जना उम्मेदवारले प्रमुख पदका लागि मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

यसैगरी दुर्गा भगवति गाउँपालिका र यमुनामाई गाउँपालिकामा १४-१४ जनाले अध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment