+
+

सिरहा नगरपालिका प्रमुखमा तीन डाक्टरको भिडन्त

तीनै जनाको दाबी– चुनाव त मै जित्छु

रासस रासस
२०७४ भदौ २४ गते १०:४३

२४ भदौ, लहान । तेस्रो चरणमा असोज २ गते हुने स्थानीय तह निर्वाचनमा सिरहा नगरपालिकाको प्रमुख पदका लागि तीन जना एमबीबीएस एमडी डाक्टर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

बिरामीको उपचार गर्दै आएका तीनै जना एमबीबीएस एमडी डाक्टर चुनावी एजेण्डासहित चुनावी प्रतिस्पर्धामा उत्रिएपछि यहाँको चुनावी प्रतिस्पर्धा रोचक बन्न पुगेको हो ।

नेपाली कांग्रेसबाट डा. सुभाषचन्द्र यादव, नेकपा एमालेबाट डा. नवीन यादव र नयाँ शक्ति पार्टीबाट डा दिलीप सदा सिरहा नगरपालिकाको प्रमुख पदका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

चुनावी प्रतिस्पर्धामा उत्रिएका तीनैजना डाक्टरबीच नै कडा प्रतिस्पर्धा हुने स्थानीय बुद्धिजीवीले लख काट्न थालेका छन् ।

लामो समयदेखि चिकित्सकसँगै पार्टीको राजनीतिमा सक्रिय डा. सुभाषचन्द्र नेपाली कांग्रेसका कोषाध्यक्ष तथा पूर्वमन्त्री सीतादेवी यादवका छोरो हुन्् । डा. सुभासचन्द्र कांग्रेसका महासमिति सदस्यसमेत हुन् । उनी सदरमुकाम सिरहामै स्वास्थ्य क्लिनिक सञ्चालन गरी बिरामीको उपचारसमेत गर्दै आइरहेका छन् ।

यस्तै एमालेबाट प्रमुख पदका उम्मेदवार डा नवीन एमालेका तत्कालीन सांसद हेमनारयाण यादवका छोरो हुन् । डा. नवीन एमाले छाडेर २०७० को संविधानसभाको निर्वाचनमा नेपाल लोकतान्त्रिक फोरमबाट निर्वाचन लडेका थिए । त्यसपछि नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका उनी फेरि एमालेमै प्रवेश गरी प्रमुखको उम्मेदवार बनेका छन् । उनले पनि सदरमुकाम सिरहामै स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आएका छन् ।

नयाँ शक्तिबाट प्रमुख पदमा उम्मेदवारी दिएका डा. दिलीप सदा दलित समुदायको हुन् । उम्मेदवारी दिनुअघिसम्म जिल्ला अस्पताल सिरहामा कार्यरत रहेका डा. सदा अस्पतालबाट राजीनामा दिएर पहिल्लोपटक चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

चुनावी प्रतिस्पर्धामा देखिएका तीनै जना डाक्टरले आफ्नो जीत सुरक्षित रहेको बताएका छन् । तीनै जनाले आफूहरु चुनाव जिते नगरपालिकाको विकास निर्माणको गतिलाई तीवता दिने प्रतिवद्धतासमेत जनाएका छन् ।

उनीहरुसँगै संघीय समाजवादी फोरमबाट अशेश्वर यादव र माओवादी केन्द्रबाट महेश यादव पनि चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । फोरमबाट उम्मेदवार बनेका यादव पूर्वप्रमुखसमेत हुन् ।

सिरहा नगरपालिकाको प्रमुख पदका लागि कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक, राजपा, नयाँ शक्ति, नेकपा मालेलगायतका दलका तर्फबाट नौजना र स्वतन्त्र नौ गरी १८ जनाले सिरहा नगरपालिकाको प्रमुख पदका लागि उम्मेदवारी दिएको सिरहा मुख्य निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार सिरहा नगरपालिकाको उपप्रमुख पदमा १० जना, वडाध्यक्ष पदमा १२९ जना, खुला सदस्य पदमा २०१ जना, महिला सदस्यमा ९९ जना र दलित महिला सदस्यमा ९३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी मनोनयन दर्ता गराएका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार मत माग्दै जनताको घरदैलोमा पुगिरहेका छन् ।

नगर र गाउँपालिकाको प्रमुखमा र अध्यक्षमा कुन पार्टीको वर्चस्व रहन्छ भन्ने तर्क वितर्कसमेत हुन थालेका छन् । गाउँदेखि शहरसम्म चोकचोकमा विभिन्न पार्टीको झण्डा, उम्मेदवारको तुल लगायतले रंगिएका छन् । बाइस वडा रहेको सिरहा नगरपालिकामा ८२ हजार ५३१ जनसंख्या रहेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?