Comments Add Comment

प्रदेश २ मा एक सय स्थानीय तह जित्ने कांग्रेसको दावी

२९ भदौ, ललितपुर । नेपाली कांग्रेसले प्रदेश नम्बर २ मा एक सय स्थानीय तह जित्ने दावी गरेको छ ।

आउँदो असोज २ गते निर्वाचन हुन लागेको प्रदेश २ का ८ जिल्लामा १३६ स्थानीय तह छन् ।

बिहीबार केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रचारप्रसार समन्वय समिति संयोजक रमेश लेखकले १३६ स्थानीय तहमध्ये एक सय तह जित्दै कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरे ।

प्रदेश नम्बर २ मा वीरगञ्ज महानगरपालिका, कलैया, जीतपुर-सिमरा र जनकपुर उपमहानगरपालिका, ६९ नगरपालिका र ६३ गाउँपालिका छन् । नेपाली कांग्रेसले स्थानीय स्तरमा गौर, मिथिला र निजगढ नगरपालिकामा प्रमुख र उपप्रमुख पदमा अन्य राजनीतिक दलसँग तालमेल गरेको छ ।

प्रदेश नम्बर २ का सबै जिल्लाको प्रचार प्रसारमा सहभागी भएर काठमाडौं फर्किएका नेता लेखकले भने, ‘मतदाताको अपेक्षा, भावना र झुकाव हेर्दा यस चरणको निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने छ ।’

नेपाली कांग्रेसले स्थापनाकालदेखि हालसम्म मधेश र मधेशवासीको हितमा काम गरेको दाबी गर्दै उनले त्यही काम नै जीतको आधार भएको दाबी गरे । संविधानलाई अझ सर्वस्वीकार्य बनाउने सन्दर्भमा नेपाली कांग्रेसले लिएका कदम पनि निर्वाचन जित्नमा सहयोगी हुने लेखकको दाबी छ ।

‘मधेशी जनतासहित सबैको भावनालाई समेटेर संविधानलाई सर्वस्वीकार्य बनाउँदै कार्यान्वयन गरी मुुलुकको विकास गर्न ल्याइएको संविधान संशोधनको हाम्रो प्रयास प्रमुख प्रतिपक्षी एमालेको कारण असफल हुनपुग्यो,’ नेता लेखकले भने, ‘यसले नेपाली कांग्रेसले मधेश र मधेशी जनताको हितमा काम गरेको र एमालेले विरोधमा काम गरेको अनुभूति स्थानीय बासिन्दालाई भएको छ ।’

नेता लेखकले तराई मधेशको समस्याको रुपमा रहेको बाढी र डुबान समस्याको समाधानमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा उल्लेख्य प्रगति भएको भन्दै तराईको विकासका लागि पनि कांग्रेसको नेतृत्वमा थुप्रै काम भएको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment