२९ भदौ, सिमरा । बिहान सात बज्दै थियो । बाराको जितपुर-सिमरा उपमहानगर १४ की वडा सदस्य उम्मेदवार शान्तिदेवी राम र उनका पति प्रमोद दुधौरा पुलछेउमा गिटी कुट्न आएको आधा घण्टा बितेको थियो ।
उनीहरुको जीवन धान्ने उपाय गिटी कुट्ने र ढुंगा बोक्ने हो । चुनाव प्रचार छाडेर त्यस बिहान पनि उनीहरु आफ्नो नियमित काममा थिए ।
सिमरामा निर्माणाधीन विशेष आर्थिक क्षेत्रभित्र पर्ने उक्त स्थान आसपासका दलित र सुकुम्बासी परिवारको जीवन धान्ने मेलो नै गिटी कुट्ने र ढुंगा बोक्ने हो ।
पुलपारि पाँच सय मिटर टाढा खोला किनारको बेहेरी गाउँको चमार टोलमा शान्तिको घर छ । उनी भोजपुरी बोल्छिन्, नेपाली त्यतिसारो बुझ्दिनन् ।
उनका तीन छोरी र एक छोरा छन् । जेठी छोरीको भरखरै बिहे भयो । बिहे खर्च स्थानीय बैंकबाट लिएको ऋणबाट बेहोरिन् । बैंककै ऋणमा एउटा भैंसी पनि पालेकी छन् । त्यही कर्जा तिर्न उनीसामु गिटी कुट्नुको विकल्प छैन ।
उनी माओवादी केन्द्रबाट वडा सदस्य उम्मेदवार बनेकी छन् । उम्मेदवार बनेपछि सुविधा पाइने बुझेकी छन् । घरमा आएका माओवादीका स्थानीय कार्यकर्ताले उनलाई उम्मेदवार बनाउन लागिएको बताए, पति प्रमोदले हुन्छ भनेपछि उम्मेदवार बनिन् ।
पत्नीले चुनाव जिते दलितका नाममा आएको सेवा, सुविधा उनकै हातबाट वितरण हुने बुझेका छन्, प्रमोदले । भन्छन्, ‘दलितका नाममा धेरै पैसा आउँछ तर धनीहरुले मात्रै पाउँछन् । अबचाहीं सबैलाई बराबरी गछौँ ।’
पार्टीका चुनावी कार्यक्रममा सहभागी हुन सक्दिनन्, शान्ति । दिनभर पार्टीका काममा हिँडे सन्तानलाई साँझबिहान के खुवाउने भन्ने समस्या उत्पन्न हुन्छ । र, बैंकको ऋणको चिन्ता पनि ।
ससुराले नाम टिपाइदिए
जितपुर-सिमरा उपमहानगर ६ की ज्ञानी पासवान कांग्रेसबाट वडा सदस्य उम्मेदवार बनेकी छन् । अरु कोही उम्मेदवार बन्न तयार नभएपछि उनका ससुरा जमिरी पासवानले ज्ञानीको नाम टिपाइदिएका हुन् ।
परिवारसँग बाहेक अहिलेसम्म कतै पनि बाहिर हिँडेकी छैनन् उनी । उनीहरुको संस्कारमा छोरी, बुहारीले कामबिना घरबाहिर निस्किन मिल्दैन रे । भोजपुरीमै उनले अथ्र्याइन्, ‘अब बिस्तारै समाज परिवर्तन भइरहेको छ, हाम्रो जातका केटाकेटी पनि स्कुल जान थालेका छन् ।’
उनको चुनावी एजेन्डामा रहेछन्, गाउँमा बिजुली जोड्ने, सडक र नाला बनाउने अनि बालबालिकालाई बिद्यालय पठाउने । ‘यही त हो नि अरु के गर्नु पर्ला र,’ उनले अनभिज्ञता प्रकट गरिन् ।
२०६१ सालमा बिहे गरेकी ज्ञानीका दुई छोरा र एक छोरी छन् । पति वैदेशिक रोजगारीमा छन् ।
परिवार धान्ने आशा
बाराकै डुमरवाना-१४ बोरिङ टोलकी चन्द्रमाया सार्की एमालेबाट वडा सदस्य उम्मेदवार हुन् । उनका पति कुमार सार्की गाउँमै ज्याला मजदुरी र मिस्त्रीको काम गर्छन् .
गाउँको पुछारमा खरले छाएको सानो घरमा चन्द्रमाया, पति र दुई छोरा बस्छन् । काम पाउँदा उनका पति गाउँ-गाउँ पुग्छन्, नपाउँदा घरमै खुम्चिन्छन् ।
निर्वाच्ान माहोल सुरु हुनु अघिसम्म पार्टी राजनीतिबारे चासो थिएन । भन्छिन्, ‘गरिब परिवारलाई सबैको आस लाग्छ, केही पाइन्छ कि भनेर उम्मेदवार बन्न तयार भएकी हुँ ।’
घरको काममा निकै व्यस्त रहने चन्द्रमायालाई राजनीति र विकासका काममा खास चासो छैन । भन्छिन्, ‘घरकै कामले भ्याई-नभ्याई छ । गाउँघरतिर त मलाई जिताउनुपर्छ भनेको छु । तर, जितेपछि के गर्ने भन्नेचाहीं थाहा छैन ।’
चुनावका लागि गाउँमा
करैयामाई गाउँपालिकामा माओवादी केन्द्रबाट उपाध्यक्षकी उम्मेदवार हुन्, सुकमाया विक । उनी काठमाडौंमा सिलाइ, बुनाइको काम गर्छिन् ।
यसअघि प्रदेश २ मा पनि १४ असारमा चुनाव हुने तय भएको थियो । त्यसैका लागि गाउँ आएकी उनी तीन महिना बसेर फर्किइन् । फेरि २ असोजको मिति तय भएपछि गाउँ आएकी हुन् । पार्टीका साथीहरुसँग अहिले घरदैलो कार्यक्रममा व्यस्त छिन् ।
‘आर्थिक अवस्था कमजोर छ, काम नगरे खान पुग्दैन,’ उनी भन्छिन्, ‘चुनाव जितेँ भने गाउँमै बस्छु ।’ उनका पति कपिलदेव फर्निचरका सामग्री बनाउँछन् ।
गाउँमै छँदा उनी सामाजिक संस्थाहरुमा लागेर दलित महिलाको उत्थानमा सक्रिय थिइन् । सोही कारण माओवादीले उनलाई उम्मेदवार बनाएको हो ।
यसअघि कांग्रेसमा आबद्ध थिइन् । पहिलो चरणको निर्वाचन घोषणा हुनु केही दिनअघि माओवादीतिर लागेकी हुन् । उनलाई राजनीतिबारे यति मात्र थाहा छ, ‘महिला अधिकारका क्षेत्रमा काम गर्ने हो ।’
कानुनी औपचारिकता
निर्वाचन ऐनअनुसार हरेक वडामा एक दलित महिलाको उम्मेदवारी अनिवार्य छ । बारामा मात्र कम्तिमा एक सय ६६ दलित महिला निर्वाचित हुनेछन् ।
समाजमा अपहेलित बन्दै आएको दलित समुदायमा यसले खुशीको सञ्चार अवश्य गराएको छ । तर, दलहरुले उनीहरुलाई मुलधारमा ल्याउन भुमिका निर्वाह पटक्कै गरेका छैनन् ।
२०६८ को जनगणनाअनुसार नेपालका २६ थरी दलितमध्ये १९ थरीको बसोबास तराईमा छ । बारामा मुसहर, दुसाध (पासवान, हजरा), चमार (राम, मोची), चिडिमार, डोम (मरिक), धोबी (रजक) जातिका दलित समुदाय बसोबास गर्छन् । उनीहरुको जनसंख्या एक लाखभन्दा बढी छ ।
कांग्रेस,, एमाले र माओवादीले सबै स्थानीय तहमा दलित महिला उम्मेदवार खडा गरेका छन् ।
पछिल्ला दिनमा जिल्लाका दलित समुदायका साक्षरता प्रतिशत पनि बढ्दो क्रममा छ । करिब ६८ प्रतिशत साक्षर रहेको जिल्ला शिक्षा कार्यालयको भनाइ छ ।