+
+

अब त नचरियाकी श्रीमती भनेर हेप्दैनन् कि !

उम्मेदवारीसँगै शुरु भयो अधिकारको बहस

कृष्ण सिग्देल कृष्ण सिग्देल
२०७४ भदौ ३० गते १९:५०

३० भदौ, सिमरा । समाजले कमजोर मनस्थितिले हेर्ने गरेको महिलाले अब स्थानिय तहको गहन जिम्मेवारीमा रहने अवसर पाएका छन् । राज्यले कानुन नै बनाएर स्थानीय तहको निर्वाचनमा महिलाको उपस्थितिलाई अनिवार्य गरेपछि महिला पनि स्थानिय तहको जिम्मेवारी लिन कतै बाध्य छन् भने कतै उत्साहित छन् ।

जितपुर-सिमरा उपमहागर १०, दलित बस्तिकी सुगन्धी पासवानले भर्खरै बनेको आफ्नो घर देखाउँदै भनिन्, ‘अर्काका घरमा भाँडा माझेपछि एक छाक खान दिए खुसी हुँदै घर फर्किने दिन सम्झदा नराम्रो लाग्छ । बिहे गरेर आउँदा वर्षामा बोरा ओढेर सुत्नुपर्ने भित्तो नै नभएको घर थियो । अहिले त पक्की घर आफैले बनाएँ ।’

सामान्य साक्षर मात्र रहेकी सुगन्धीले विद्यालय शिक्षाको अनुहार देख्न नपाएपनि हस्ताक्षर गर्न सक्छिन् । छोराछोरी बोर्डिङमा पढ्छन् । आफू दलित भएकै कारणले धेरै छुवाछत भोग्नु परेको कथा सुनाउँने सुगन्धी अहिले स्थानीय तह निर्वाचनको उम्मेदवार समेत हुन् ।

‘२ नम्बर प्रदेशको निर्वाचन नसरेको भए पक्का जितिन्थ्यो, अब के हुन्छ भन्न् सकिन्न’ उनले भनिन् ।

गत जेठ नौ गते नै फोरम लोकतान्त्रिकबाट माओवादी केन्द्रमा प्रवेश गरेकी पासवानले आफूले वडा सदस्यमा जितेमा वडामा छुवाछुतको अन्त्य गर्ने रहर बोकेकी छन् ।

  • सुगन्धी पासवान र लक्ष्मी नेपाली

गाउँमा अहिले बुंगुरपालन ब्यवसायबाट उदाहरणीय बनेकी पासवानका श्रीमान मधेशी समुदायको बिहेमा नाच्ने समूह (तासा पार्टी) को नाइके हुन् । उनी बिहेमा नाच्ने पनि गर्छन् । सुगन्धी भने ब्यावसाय र बाँकी समय समाजसेवामा लगाउने गरेकी छन् ।

उनले भनिन्, ‘यहाँका ठुला (बडका) जातिहरुले मलाई नचरिया (लवण्डा) को श्रीमती भनेर धेरै अपमान गर्थे । तर अहिले पैसा कमाउन थालेपछि तिनै मानिसहरु घरतिर फर्केर हेर्दैनन् । म उनीहरुका अगाडि एकदिन समाज परिवर्तन गरेर देखाउँछु ।’

सुगन्धीलाई जनप्रतिनिधिको जिम्मेवारीबारे धेरै थाहा छैन् । माओवादीका वडा अध्यक्ष उम्मेदवार रामचन्द्र महतोले सिफारिस गरेपछि उनी पार्टीमा प्रवेश गरेकी हुन् ।

५७ वर्षीया तुलसा मैनाली पनि वडा सदस्यको उम्मेदवार हुन् । उनी जितपुर सिमरा उपमहानगरपालिका १६ मा एमालेबाट महिला सदस्यको उम्मेदवार बनेकी हुन् । तर, अवसर दिए प्रमुख बनेरै स्थानिय तह हाँक्न सक्ने उनी बताउँछिन् ।

२०५४ सालको स्थानिय निकायको निर्वाचनमा पनि सदस्यमा निवार्चित उनी अहिले चुनावी घरदैलोमा ब्यस्त छिन् । खासगरी आफ्नो वडाका ५० प्रतिशत मानिस एैलानी जग्गामा जीवन बिताउँदै आएका कारण पुर्जा हातमा नहुँदा निकै समस्या भोग्नु परेकाले आफु र आफनो प्यानलले जिते यो समस्या समाधानमा लाग्ने उनको रहर छ ।

बारा डुमरवानाकी लक्ष्मी नेपाली पनि स्थानिय तह निर्वाचनको दलित महिला उम्मेदवार हुन् । ‘म आज बिहानैदेखि चुनावी कार्यक्रममा ब्यस्त छु, मलाई केही समय लाग्छ, बस्दै गर्नुस्’ दलित महिलाकी अगुवा नेपालीसँग फोनमा कुरा गरेको ५ मिनेटपछि भेट भयो ।

लक्ष्मी नगरको वडा नम्बर १४ को एमालेबाट वडा सदस्यामा उम्मेदवार बनेकी छन् । दलित महिला विकास केन्द्र बाराकी अध्यक्ष समेत रहेकी नेपाली स्थानीय तहमा दलितहरुलाई राख्नैपर्ने बाध्यकारी कानुन भएका कारणले मात्र अवसर पाएको बताइन् ।

यही बाध्यकारी नियमकै कारण वडाहरुमा जान्नेसुन्नेले राजनीति नै नजानेका आफ्ना घरका छोरी-बुहारीलाई वडा सदस्यमा उम्मेदवार बनाएको भन्दै उनले दुःख पोखिन् । ‘राज्यले अधिकार त दियो नि, तर अधिकार प्राप्त गर्ने सामर्थको मापन गर्न सकेन’ नेपाली भन्छिन्, ‘मतपत्रको चिन्ह समेत पहिचार गर्न कठिन् छ दलित उम्मेदवारलाई, अब जितेपछि आफ्नो जिम्मेवारी कसरी बहन गर्ने ?’

नेपाली समाज र राजनितिक दलले पनि दलितहरुलाई सँधै पछाडि पारेकाले उनीहरु निरिह बन्नुपरेको उनको धारणा छ । ‘दलितहरु अझैपनि ‘हामी साना जाती हौं’ भन्ने भावनाबाट माथि उठ्न सकेका छैनन्, खोजी खोजी उम्मेदवार बनाउनुपरेको छ’, नेपालीले भनिन् ‘कतिपय बडाहरुमा दलित उम्मेदवारीमा ठुलाबडाकै चलखेल छ ।’

तर, महिलाहरुमा पनि राजनीतिक चेतनाको बिकास गरी समाज विकास निर्माणको मुल धारमा ल्याउने हो भने पुरुष भन्दा इमान्दार रुपमा देशको सेवक बन्न सक्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?