Comments Add Comment

विन्ध्यबासिनीमा नवदूर्गा महोत्सव हुने

१ असोज, पोखरा । पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यबासिनी मन्दिरमा नेपालीहरुको महान चाड बडादशैंको अवसरमा विगतका वर्षहरुमा झैं यसवर्ष पनि नवदूर्गा महोत्सव हुने भएको छ । विन्ध्यबासिनी धार्मिक क्षेत्रविकास समितिको आयोजनामा असोज ५ गते घटस्थापनाको दिनदेखि असोज १३ गते महानवमीसम्म नवदूर्गा महोत्सव हुने आइतबार मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठका अनुसार महोत्सवको पहिलो दिन अर्थात घटस्थापनाको विहान विन्ध्यवासिनी मन्दिर, नवदुर्गाका नौ रथसहितको झाँकी, बिन्ध्यबासिनी मन्दिरको झाँकी, पञ्चैबाजा, विभिन्न जातजातीका संस्कृति झल्कने झाँकीसहित शोभा यात्रा निकालिने छ ।

सुरक्षा निकाय, विद्यार्थी, आमा समुह, भजन समुह, जातीय, धार्मिक, शैक्षिक, सामाजिक संघ संस्थाको सहभागिता रहने शोभायात्रा विन्ध्यबासिनी पार्कबाट विहान ७ः३० बजेबाट सुरु भएर मोहरियाटोल, भैरवटोल, भिमसेनटोल, नालामुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, सिद्धार्थचोक, रामकृष्ण टोल, गणेशटोल हुँदै पुनः नालामुख, भिमसेन टोलहँुदै बिन्ध्यबासिनी मन्दिरमै पुगेर समापन हुनेछ ।

नवदुर्गा महोत्सवको कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापाले उद्घाटन गर्ने समितिका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।

घटस्थापनाको दिन मन्ध्याहदेखि मन्दिर परिसरमा झाँकीसहितको श्रीमद् देवी भागवत ज्ञान महायज्ञ शुरु हुनेछ ।

मन्दिरमा तलबी पूजारी

बिन्ध्यबासिनी मन्दिरमा पुजारीले तलबमा काम गर्न शुरु गरेका छन् । भेटी सम्बन्धी निर्देशिका अनुसार आफूहरुले तलमा पूजारी राखेर काम शुरु गराएको सदस्य सचिव श्रेष्ठले जानकारी दिए । उनका अनुसार मुख्य पुजारी रुद्रनाथ पौडेलसहित ४ जनाले तलबमा काम गरिरहेका छन् ।

तलबमा काम गर्ने अन्य पूजारीमा माधव पौडेल, कृष्णप्रसाद पौडेल र सुशील पौडेल छन् । शुरुमा तलबमा पुजारी राख्दा विवाद भएपनि अहिले विवाद समाधान भइसकेको समितिको दाबी छ । समितिले भेटी निर्देशिका अनुसार तलबमा पूजारी राख्नका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको थियो ।

प्रशासनले अनुमति दिएपछि तलबमा पूजारी राख्न समितिले दरबन्दी खुलायो । दरबन्दी खुलाएलगत्तै असन्तुष्ट पक्षले सर्बोच्च अदालतमा खाइपाइ आएको भेटी रोक्का गरिएकाले तत्काल खुल्ला गरिपाउँ भनि अन्तरिम आदेशको माग गर्दै मुद्दा दायर गरेका थिए । तर अदालतले भेटी निर्देशिका अनुसार नै काम गरेको देखिएको भन्दै अन्तरिम आदेश दिनुनपर्ने निर्णय सुनाएपछि भेटी विवाद समाधान भउको समितिको भनाई छ ।

बिबाद चलिरहेकै समयमा मुख्य पुजारी रुद्रनाथ पौडेललगायतले तलबमा पूजारी हुन निवेदन दिएपछि समितिले पूजारी नियुक्ती गरेको हो । समितिका अनुसार मुख्य पुजारीलाई मासिक ३५ हजार र अन्यलाई मासिक ३० हजारमा ६ महिनाको करार सम्झौता गरिएको छ । अन्य २ जना सहयोगी पूजारीसमेत राखिएको समितिले जनाएको छ ।

मन्दिरको आम्दानी बढ्यो

मन्दिरमा तलबमा पूजारी राखेसँगै मन्दिरको आम्दानी हृवात्तै बढेको छ । यसअघी भेटीमा समितिको पहुँच नपुग्दा पूजारी धनी र देवता गरीब भएको भन्दै आलोचना हुनेगरेको थियो । तर तलबमा पूजारी राखेसँगै मन्दिरको भेटीमा समितिको पहुँच पुग्दा आम्दानी हृवात्तै बढेको हो । आम्दानी बढेपछि भगवानपनि धनी भएको सदस्य सचिव तीर्थ श्रेष्ठले बताए । उनले भने,’देवता पहिलेदेखिनै धनी हुन्, उनलाई गरीब बनाइएको मात्र हो, अब भेटीमा समितिको पहुँच पुग्ने वित्तिकै देवता धनी भईहाले नि ।’

समितिका अनुसार तलबमा पूजारी राखेपछि साउनमा मात्र ४ लाख २० हजार रुपैयाँ भेटी बापतको रकम प्राप्त भएको छ । त्यस्तै, साउन शिव पूजनको महिना भएकाले सबै मन्दिरको आम्दानी जोड्दा एकै महिनामा ३९ लाख आम्दानी भएको सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए । मन्दिरको मर्मतसम्भारलगायतमा २१ लाख खर्च भएको र बाँकी करीब १८ लाख बचत भएको उनले बताए । आम्दानीमा स्थानीय विकास मन्त्रालयमार्फत पोखरा लेखनाथ महानगरपालिकाले दिएको ११ लाख पनि जोडिएको उनले बताए । महानगरपालिकाले दिएको ११ लाखबाहेकको आम्दान भने २८ लाख हुने उनले स्पष्ट पारे ।

मन्दिरमा सिसी क्यामरा

बिन्ध्यबासिनीमा सिसी क्यामरा जडान गरिएको छ । मन्दिरमा हुने आपराधिक गतिविधि तथा अन्य असामान्य गतिविधी निगरानी गर्न सिसी क्यामरा जडान गरिएको समितिका सदस्य सचिव तीर्थ श्रेष्ठले बताए । हाल २ वटा क्यामरा जडान गरेर आंशिक रुपमा सिसी क्यामरा सञ्चालनमा ल्याइएको र केहि दिनमै १६ वटा क्यामरा जडान गरेर सञ्चालन गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment