Comments Add Comment

पोखरामा प्याराग्लाईडिङ दुर्घटना, पाइलटसहित २ घाइते

फाइल तस्वीर

२ असोज, पोखरा । पोखराको आकाशमा उड्ने क्रममा प्याराग्लाईडिङ दुर्घट्ना हुँदा २ जना घाइते भएका छन् ।

सराङ्कोटबाट सोमबार पूर्वाहृन करीब ११ बजे उड्ने क्रममा हावाको भुमरीमा पर्दा प्याराग्लाइडिङका पाइलट धर्म गिरी र उनीसँगै प्याराग्लाईडिङ गर्दैगरेकी काठमाडौं दरबारमार्गकी सुस्मा शर्मा घाइते भएका हुन् ।

बुद्ध प्याराग्लाईडिङ कम्पनी अन्तर्गत टेण्डम फ्लाइट गर्दै आएका २५ वर्षीय गिरिले सुस्मालाई उडान गरेका थिए । तर, उडानका लागि हामफाल्ने वित्तिकै हावाको भुमरीमा फस्दा केहिबेरको रस्साकस्सी पछि केही तलको चौरमा खसेका थिए ।

दुर्घटनामा परेका पाइलट गिरिको ढाडमा गम्भीर असर परेको र खुट्टा भाँचिएको बताइएको छ । सुस्माको पनि ढाडमा चोट लागेको छ ।

घाइते मध्ये गिरिको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते दुबैको रिदम हस्पिटल जिरोकिलोमिटरमा उपचार भइरहेपनि गिरीको अवस्था केही जटिल भएकाले अर्कै अस्पताल रिफर गर्ने तयारी भइरहेको अस्पताल श्रोतले जनाएको छ ।

घाइते सुस्मा शर्मा रेसिडेन्सियल कलेज बानेश्वरमा बीबीए सिक्स सेमेष्टरकी छात्रा हुन् । उनी साथीहरुसँग पोखरा घुम्न आएका बेला प्याराग्लाईडिङ गर्ने क्रममा दुर्घटनामा परेकी हुन् ।

साथै दुर्घटनामा परेपछि उनीसँगै प्याराग्लाईडिङ गर्न पुगेकी रुपा बुढाथोकी भने प्याराग्लाईडिङ नगरी फर्केकी छन् ।

यसैबीच, बुद्ध प्याराग्लाईडिङ कम्पनीले दुर्घटना ढाकछोप गर्ने प्रयास गरेको छ । दुर्घटना भएको करीब साढे २ घण्टासम्म पनि कम्पनीले प्रहरीलाई खबर गरेको छैन भने पत्रकारलाई पनि जानकारी दिन अस्वीकार गरेको छ ।

कास्की प्रहरीले घटनाबारे अनभिज्ञता प्रकट गरेको छ । घट्ना सराङ्कोटमै भएकाले प्रहरीलाई खबर नगरी प्याराग्लाईडिङ कम्पनीले ढाकछोप गर्ने प्रयास गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment