Comments Add Comment

दशैंले बोलायो देशमा (फोटो फिचरसहित)

सुनौली नाकाबाट यसरी भित्रिँदैछ दशैं

५ असोज, भैरहवा । स्थलमार्ग हुँदै नेपालमा भित्रिने मुलुककै ठूलो नाका हो, रुपन्देहीको बेलहिया । रोजगारीको खोजीमा भारत पुगेका नेपाली नागरिक दशैं मान्न धमाधम घर फिरिरहेका छन् ।

बेलहिया हुँदै दैनिक ठूलो संख्याका नेपाली भित्रिइरहेका छन्, जसका कारण बढेको चहलपहल व्यवस्थापन र सम्भावित अपराध नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा योजना लागु गरेको छ ।

विदा मागेर घरतिर

भारतको पञ्जाबमा होटलमा काम गरिरहेका अर्घाखाँचीका ४१ वर्षीय दुर्गाबहादुर पाण्डे बेलहिया बसपार्कमा गन्तव्यसम्म पुग्ने बस खोज्दै भौंतारिइरहेका थिए । उनी घर नआएको दुई वर्ष बितिसकेको थियो ।

उनले भने, ‘यसपालि कामबाट विदा मागेर परिवारसँगै दशैं मनाउन फर्किएको हुँ ।’ हर्षित् मुद्रामा उनी घर पुगेर बालबच्चा भेट्न आतुर देखिन्थे ।

भारतीय गोर्खा सेनामा कार्यरत बुटवलका ३२ वर्षीय दिपजंग थापाको ड्युटी अहिले महाराष्ट्रमा छ । पारिपट्टि सुनौली बजारमा झोलीझाम्टासाथ भेटिएका उनले भने, ‘सेनाको जागिरमा जहिले भन्यो तहिले आउन पाइँदैन । दशैंका लागि २० दिनको विदा पाएको छु ।’

स्याङ्जाका ५२ वर्षीय धुव्र ढकाल भारतमा सुरक्षा गार्ड छन् । उनी हरेक वर्ष दशैंमा परिवारका साथ रमाउन घर आउँछन् । बेलहियास्थित भन्सार पोस्टमा झोला जाँच गराउँदै गरेका उनले भने, ‘वर्षमा एक पटक दशैंमै त हो, परिवारसँग रमाउन पाइने ।’

दशैंका ‘भगवान’ पनि भित्रँदै


दशैंको हर्षोल्लास सुरु हुँदै गर्दा भारतबाट ‘भगवान’ पनि भित्रिन थालेका छन् । माटो, पराललगायत सामग्रीबाट बनाइएका देवी÷देवतामा मुर्ति व्यापारीले भित्र्याउन थालेका हुन् ।

विशेषगरी नवरात्रिका बेला चोक–चोकमा त्यस्ता मुर्ति राखेर पूजा गर्ने चलन छ । विजयादशमीका दिन ती मुर्ति नदी तथा तालतलैयामा लगेर बिसर्जन गर्ने गरिन्छ ।

भारतीय बजारमा बढ्दो घुइँचो


दशैंमा नयाँ लुगा परम्पराजस्तै बनेको छ, नेपाली समाजमा । पारिपट्टि सस्तोमा पाइने मनोविज्ञानका कारण सधैंझैं यसपटक पनि भारतीय सीमा बजार सुनौलीमा भीड बढ्न थालेको छ ।

सुनौलीका पसलहरु यतिबेला लुगाकपडाका साथ दाल, चिनी, चामल, साबुनलगायत सामग्री खरिद गर्ने नेपाली नागरिकहरुका कारण भरिभराउ देखिन थालेका छन् ।

रुपन्देहीका मात्र नभई चितवन, अर्घाखाँची, पाल्पा, नवलपरासीलगायत जिल्लाका बासिन्दा पनि दशैंको किनमेलमा सुनौली आउँछन् ।

नाकामा सहायता कक्ष

भारतबाट फर्किरहेका नेपालीहरुको सहायताका लागि रुपन्देही प्रहरीले बेलहिया नाकामा सहायता कक्ष स्थापना गरेको छ ।

विगतमा यात्रुहरु अलपत्र पर्ने, लुटिने र दुव्र्यवहारका घटना हुने गरेका थिए । त्यस्ता घटना हुन नदिन प्रहरीले उक्त कक्ष स्थापना गरेको हो ।

इलाका प्रहरी, बेलहियाका निरीक्षक रविन बिष्टका अनुसार यातायातका साथ, होटेल र सार्वजनिक स्थलमा पनि निगरानी बढाइएको छ ।

दशैं मनाउन फर्किने लर्को बढिरहँदा भारततर्फ लुटपाटका घटना पनि बढेका छन् । प्रहरीका अनुसार ४ असोजसम्ममा नौ जना नेपाली नागरिकहरु लुटिइसकेका छन् । गत वर्ष यही समयमा १८ जना लुटिएका थिए ।

नयाँदिल्लीबाट गुल्मी घमिर ६ स्थित घर फर्किइरहेका ३० वर्षीय राजु विश्वकर्मा बीच बाटोमै लुटिएका छन् । बाटोमा पकौडा खाएलगत्तै उनी बेहोस भएका थिए । उनको साथमा रहेको १७ हजार भारतीय रुपैयाँ लुटिएको छ ।

यस्तै, सर्लाही नवलपुर ७ का ३५ वर्षीय कान्छा थिङ भारतको जयपुरबाट घर आउने क्रममा कानपुरमा अपरिचित व्यक्तिबाट लुटिएका छन् । उनलाई बेहोस बनाएर २६ सय भारतीय रुपैयाँ लुटिएको छ ।

प्रहरी निरीक्षक बिष्टका अनुसार त्यसरी लुटिएका नेपालीलाई परिवारसँग सम्पर्क गराइदिएर घर पुर्‍याउने काम भइरहेको छ । बस व्यवसायीहरुले पनि पीडितलाई घरसम्म पुग्न सहयोग गरिरहेका छन् ।

यात्रीसँग चर्को भाडा लिने सवारी साधनविरुद्ध प्रहरीले कारवाही अभियान नै चलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment