Comments Add Comment

इटहरी र रामधुनी नगरको बजेट सार्वजनिक

५ असोज, इटहरी।  सुनसरी जिल्लाको कूल १२ स्थानीय तहमध्ये इटहरी उपमहानगरपालिका र रामधुनी नगरपालिकाले बुधबार छुट्टाछुट्टै अर्थात् आ–आफ्नै स्थानमा विशेष कार्यक्रमको आयोजना गरी चालू आर्थिक वर्ष २०७४/७५ को बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले विविध चुनौती र समस्यालाई चिर्दै उपमहानगरका लागि सीमित स्रोत र साधनलाई अधिकतम प्रयोग गर्ने नीतिसहित चालू आव २०७४/७५ का लागि रु एक अर्ब ३१ करोड १७ लाख २५ हजारको बजेट सार्वजनिक गरेको छ ।

प्रमुख चौधरीले सार्वजनिक गरेको बजेटअन्तर्गत रु ८० करोड ५८ लाख ६८ हजार पूँजिगत तथा रु ४९ करोड ३८ लाख ९९ हजार चालू खर्च हुने प्रस्तावित बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरे ।

प्रमुख चौधरीले इटहरीलाई अबको १० वर्षभित्रमा इटहरीलाई सम्पूर्ण पूर्वाधारसहितको महानगरपालिकासँगै प्रदेश नं १ को राजधानी बनाउने महत्वकांक्षी योजना पनि प्रस्ताव गरेका छन् ।

आगामी १० वर्षभित्रमा इटहरीलाई पूर्वी नेपालकै एक साधन, स्रोतसम्पन्न एवं पर्यटकीय आकर्षणको केन्द्रका रुपमा स्थापित गराउन एकै रङका आवासीय भवनसँगै भूकम्पीय जोखिमरहित आवास क्षेत्र स्थापना गरेर आगामी २५ वर्षमा अन्तर्राष्ट्रियस्तरको मेगा शहर बनाएर छाड्ने कुरा पनि कार्यक्रममा प्रस्ताव गरे ।

मातृ मृत्युदर शून्यमा झार्दै केही वर्षभित्रमा सडक बालबालिकारहित एवं सम्पूर्ण बालबालिकालाई पूर्ण साक्षर तुल्याउँदै इटहरीलाई खेलकुदको केन्द्रको रुपमा विकास गरी हरेक वर्ष प्रमुख कप फुटबल खेलाएर नेपालमा नै खेलकुदको शहरको उपनामले पनि इटहरीलाई परिचित गराउन भरमग्दुर प्रयास गरिने पनि प्रमुख चौधरीले प्रस्ताव अघि सारे ।

साथै, उनले आगामी केही वर्षभित्रमा नै इटहरीको चारैतिर नौवटा आकाशे पुल बनाउने तथा यस उपमहानगर आसपासका सबै तालतलैयालाई पर्यटन पूर्वाधारसहितको आकर्षण केन्द्र बनाउने र इटहरीवासीको आवश्यकता र पहिचान बोक्ने गरी इटहरी भ्यू टावरको समेत निर्माण गरिसक्ने प्रस्ताव पनि अघि सारे ।

साथै, प्रमुख चौधरीले इटहरीका सबै वडालाई एकापसमा कालोपत्रे सडकले जोड्ने तथा इटहरीमा खेलकुद प्रतिष्ठानसँगै सञ्चारग्रामका लागि उपयुक्तस्थलको खोजी तथा खनार—तरहरा बाईपास सडक निर्माण गरी तरहरामा सुविधासम्पन्न बहुउद्देश्यीय बसपार्क बनाउने योजनालाई पनि उच्च प्राथमिकता दिएको बताए ।

अधिक सवारी चापसँगै मानिसको सघन आवास क्षेत्रका रुपमा विकास भइरहेको इटहरीलाई व्यवस्थित र मानव बस्न योग्य पूर्वाधारसहितको समुन्नत हरित नगरका रुपमा इटहरीलाई नमूना शहरका रुपमा विस्तार विकास गर्दै सफा तथा हराभरा बनाउनका लागि ‘किप इटहरी क्लिन’ अभियानलाई अझ संस्थागतरुपमा अघि बढाउने नीति पनि नगर प्रमुख चौधरीले अघि सारे ।

रामधुनीको ४७ करोड २२ लाख 

उता रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीले आजै समुन्नत धार्मिक पर्यटकीय नगरका रुपमा विकास गर्ने योजना एवं कार्यक्रमसहित रु ४७ करोड २२ लाख आठ हजारको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरे।

सोही अवसरमा रामधुनी नगरको उदाहरणीय विकास योजनामा समर्पित रहेका विभिन्न टोल विकास संस्थामध्ये चारवटा टोल विकास संस्थालाई जनही रु ५० हजार नगदसहित सम्मान गरे भने अन्य चारवटा टोल विकास संस्थालाई जनही रु २० हजार नगदसहित नगर प्रमुख चौधरीले सम्मानसमेत गरे।

साथै, सोही अवसरमा नगरपालिकालाई जग्गा प्रदान गर्नुहुने समाजसेवी दाताहरु विमल आचार्य, निर्मल आचार्य, अम्बिका पोख्रेल, सरिता गौतम घिमिरे र राजेन्द्र साहलाई दोसल्ला ओढाएर सम्मानसमेत गरे भने अन्य विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत पुरस्कार एवं सम्मानसमेत गरियो ।

उक्त अवसरमा विभिन्न राजनीतिक दलका नेताहरु र पराजित प्रमुखका उम्मेदवारलगायतले आ–आफ्नो दृष्टिकोण राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment