Comments Add Comment

स्थानीय तहमा अझै पाँच हजार कर्मचारी अपुग

मन्त्री बस्नेत भन्छन्- अटेर गर्ने कर्मचारी राष्ट्रसेवक होइनन्

५ असोज, विराटनगर । सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले सरकारले पठाएका ठाउँमा जान अटेर गर्ने कुनैपनि कर्मचारीलाई छुट दिन नसकिने बताएका छन् । उनले सरकारले तोकेको स्थानमा जान अटेर गर्ने त्यस्ता कर्मचारी कुनैपनि हालतमा राष्ट्रसेवक हुन समेत नसक्ने बताए ।

विराटनगरमा बिहीबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले राज्यको सेवा सुविधा लिएर सरकारले तोकेको ठाउँमा जान्नँ भन्न कुनै कर्मचारीलाई छुट नहुने बताए ।

‘राज्यको सेवा सुविधा लिएर सरकारले तोकेको ठाउँमा जान्न भन्न कसैले पाउँदैन, सरकारले तोकेको ठाउमा जानु पर्ने हुन्छ,’ उनले भने, ‘त्यो राष्ट्रसेवक कर्मचारी हुनुको मुख्य जिम्मेवारी भित्र पर्छ । यदि अटेर गर्छ भने त्यो कर्मचारी राष्ट्रसेवक पनि हुन सक्दैन ।’

ट्रेड युनियनले पनि स्थानीय तहमा कर्मचारी संमायोजन गर्ने सरकारको निर्णयमा सहयोग गर्नु पर्ने मन्त्री बस्नेतको भनाइ छ ।

१४ सय ८४ कर्मचारी मात्र समायोजन

मन्त्री बस्नेतले स्थानीय तहको काम कार्वाहीको लागि अहिलेको अवस्थामा थप पाँच हजार कर्मचारी आवश्यक रहेको जानकारी दिए । उनले अहिलेको अवस्थामा स्थानीय तहमा ९ हजार मात्र कर्मचारी रहेकाले थप पाँच हजार कर्मचारी थप्नु पर्ने बताए ।

स्थानीय तह सञ्चालनका लागि आवश्यक कुल १६ हजार कर्मचारी मध्ये सरकारले हालैमात्र १४ सय ८४ कर्मचारी समायोजन गरिसकेको उनले जानकारी दिए ।

‘संघीय निजामती सेवा कर्मचारी ऐन र प्रादेशिक निजामती सेवा ऐन आउनु अगावै स्थानीय तहको लागि न्युनतम १६ हजार कर्मचारी आवश्यक छ’ उनले भने, ‘जसमा अझै पाँच हजार कर्मचारी अपुग देखिन्छ । तत्कालका लागि सरकारले कर्मचारी समायोजनका लागि आवश्यक तयारी गरिरहेको छ ।’

स्थानीय तहका धेरै स्थानमा कर्मचारी अभाव हुँदा जनप्रतिनिधिहरुले कार्यालय सहायकको जिम्मेवारी व्यहोर्नु पर्ने अवस्था त कतै परिषद समेत हुन नसक्दा बजेट परिचालनमा समेत समस्या भएकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment