Comments Add Comment

कैलालीका बाढीपीडितको चिन्ता– घरमा अन्न छैन, कसरी मनाउने दशैं ?

६ असोज, कैलाली । नेपाली हिन्दू धर्मावलम्बीहरुको महान चाड बडादशैंको चहल पहल बढेको बेला कैलालीका बाढी प्रभावितहरु भने दशैं कसरी मनाउने भनेर चिन्तित भएका छन् । खाद्यान्न, लत्ताकपडा नभएको अवस्थामा चाडपर्व कसरी मनाउने भन्दै उनीहरु निराश बनेका हुन् ।

गत साउन २८ गते आएको बाढीबाट भजनी र टीकापुर नगरपालिकाका अधिकांश घरपरिवार प्रभावित भएका थिए । बाढीले केहिको घर भत्काउनुका साथै अधिकांश परिवारको खाद्यान्न तथा लत्ताकपडा बगाएको थियो ।

खानेकुराकै समस्या भइरहेको बेला सुरु भएको चाडपर्वले झनै समस्या थपिएको प्रभावितहरुको दुखेसो छ । दुई छाक टार्न धौधौ भइरहेको अवस्थामा घरदैलोमा टेकेको दशैं कसरी मनाउने भनेर उनीहरु चिन्तित बनेका छन् । त्यसैमाथि विगत दुई दिनदेखि परेको झरीले सुक्न लागेको घर फेरि पुरानै अवस्थामा पुग्दा दशैं कसरी मनाउने भनेर बाढीपीडितहरु चिन्तित छन् ।

‘घरमा खानेकुरा छैन, कसरी दशैं मनाउने ?’ भजनी नगरपालिका–८ खैराका बाढी प्रभावित गोपीलाल चौधरीले भने, ‘कम्तीमा ६ महिनासम्म पुग्ने राहत माग गरेका थियौं । तर, सामान्य राहत बाहेक अरु केही पाइएन ।’

भजनी नगरपालिका बाढी प्रभावितलाई तत्कालिन अवस्थामा चाउचाउ, चिउरा, नमकिन जस्ता राहत दिइएको थियो । केहि समयपछि राहत स्वरुप गैह्रखाद्य सामाग्री पाइए पनि चामल नपाएको उनीहरुले गुनासो गरेका छन् । प्रभावितहरुका लागि संघ संस्थाहरुले उपलब्ध गराएको चामल बाढीका बेला मेस सञ्चालनमै ठिक्क भएको जनाइएको छ ।

घरमा भण्डारण गरिएको खाद्यान्न बाढीले बगाएपछि अहिले ऋण गरेर गुजारा गरिरहेको जनाउँदै सोनहाफाँटाकी कृष्णादेवी चौधरीले दशैं खर्च पनि साहू महाजनबाट ऋण लिएर जोहो गर्ने बताइन् । ‘घरमा भएको सबै खाद्यान्न बाढीले बगायो’, उनले भनिन्, ‘ऋण लिएर दशैं मनाउने सोंच बनाएका छौं ।’

बाढीबाट भत्केको घरलाई हिजोआज प्रभावितहरुले मर्मत गरिरहेका छन् । दशैं, तिहार जस्ता चाडपर्वका बेला घर चिटिक्क बनाउने परिपाटी रहेकाले अरु नभए पनि ढलेको घरलाई उठाउने प्रयास उनीहरुको जारी छ । बाढीसँगै सबै खुशी बगेकाले चाडपर्व आउँदा पनि खुशी हुने अवस्था नरहेको खैराका मोहनकुमार चौधरीले दुखेसो गरे । घरमा खानेकुराकै समस्या भएका कारण बालबच्चाका लागि दशैंमा नयाँ लुगा किन्न नसकेको उनको भनाइ छ । ‘समस्यै समस्या छ, कसरी चाडपर्वमा रमाउनु ?’ चौधरीले भने, ‘जसोतसो गुजारा गरौंला ।’

जिल्ला दैवी प्रकोप उद्धार समिति कैलालीका अनुसार साउनको बाढीबाट कैलालीमा तीन हजार ८७ घरपरिवार प्रभावित भएका छन् । भजनी र टीकापुर नगरपालिकाका विभिन्न क्षेत्रमा ८० वटा घरमा पूर्ण र १ सय ७५ घरमा आंशिक क्षति भएको छ । बाढीले कृषिबालीमा मात्रै करिब आठ करोड ४४ लाख रुपैयाँ बराबरको क्षति पु¥याएको सरकारी तथ्यांक छ ।

चाडपर्वको चहल पहलले सबैतिर छोएको बेला यहाँका बाढी प्रभावितहरुलाई के खाने, के लगाउने भन्ने पिरलो छ । बाढीले घर भत्काएपछि त्रिपालमुनि बस्दै आएका टीकापुर नगरपालिका–७ बैदीका रनी दमाइले दशाले घेरिएको आफ्नो परिवारका लागि दशैं पनि दशा जस्तै रहेको बताए ।

‘बाढीले भत्काएपछि बस्नका लागि घरै छैन । बालबच्चाहरु नयाँ कपडाका लागि कराई रहेका छन्’, उनले भने, ‘गाँसबाँस नै लुटिएको बेला यो दशैं हाम्रो लागि दशा जस्तै हो ।’

गाउँमा सिलाई कटाईको काम गरेर गुजारा गर्दै आएका दमाईको परिवारमा १५ जना सदस्य छन् । घर पूर्ण रुपमा क्षति भएपछि संघसंस्थाले दुई पटक गरेर ७० किलो चामल दिएको उनको भनाइ छ । ‘यति चामलले चाडपर्वलाई पुग्दैन’, दमाईले भने, ‘थप चामल पनि दिन्छौं भनेका छन् । त्यसैको पर्खाइमा छु ।’

बाढीले बैदीमा गणेश पाण्डेय, रनी दमाई, कर्ण बिक र ठग्गु चौधरीको गरी चार वटा घरमा पूर्ण क्षति भएको थियो । वडा नम्बर ७ का प्रभावित चारसय भन्दा बढी परिवारलाई प्रतिपरिवार २० किलो चामल, डेढ किलो दाल र एक किलो नून राहत उपलब्ध भएको बैदीका भोजराज ढुंगानाले जानकारी दिए । घर गुमाएका परिवारलाई भने अलि बढी चामल मिलेको उनले बताए ।

जिल्लाभरीका सबै बाढी प्रभावितहरुले राहत पाउन नसकेको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ । प्रभावितहरुको तथ्यांकमा एकरुपता नदेखिएपछि राहत वितरण हुन नसकेको समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।

उनले असोज ७ गतेदेखि पहिलो पटक घरक्षती भएकालाई प्रतिघर १० हजार र पूर्ण विस्थापित भएका परिवारका लागि प्रतिदिन प्रतिव्यक्ति ७० रुपैयाँका दरले एकमहिनाको हुन आउने रकम वितरण गरिने बताए । चाडबाडको बेला थोरै भएपनि राहत पुगोस् भनेर उक्त रकम बाँड्न लागिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment