Comments Add Comment

९ महिनामा ६ हजार ६ सय युवा कामका लागि कोरिया उडे


६ असोज, काठमाडौं । बितेको ९ महिनामा झण्डै ६ हजार ६ सय युवा कोरियामा कामका लागि पुगेका छन् । गत जनवरी एकदेखि हालसम्म ६ हजार ६ सय भन्दा बढी युवा ईपीएस कोटामा कोरिया पुगेको ईपीएस कोरिया शाखाले जनाएको छ ।

गत पुस १७ देखि भदौ २२ गतेसम्म ६ हजार ४ सय १८ जना युवा कोरिया गएको र त्यसपछि पनि थप २ सय युवा कोरिया उडेको शाखाका प्रवक्ता शोभाकर भण्डारीले अनलाइनखबरलाई जानकारी दिए ।

२०१७ को कोटामा केरियाबाट ३ लटमा लेबर कन्ट्रयाक्ट आइसकेको छ । अब चौंथो लटमा लेबर कन्ट्रयाक्ट आउने भण्डारीले बताए ।

‘यस वष मात्रै ५६ सय १६ जनाको लेबर कन्ट्रयाक्ट आइसक्यो’ भण्डारीले भने,’यसवर्ष रोस्टरमा रहेका धेरैको लेबर कन्ट्रयाक्ट आएको छ ।’

कोरियामा यो वर्ष कामदारको अभाव धेरै देखिएको छ । त्यसैले रोस्टरमा रहेका धेरैलाई कोरिया जाने अवसर मिलेको छ ।
कोरियाले भाषा परीक्षा पास भएकाहरु सबैलाई लैजाने ग्यारेन्टी हुँदैन । तर, यो वर्ष अघिल्ला वर्षहरुमा भन्दा धेरै परीक्षा पास गरेका नेपालीले कोरिया जाने अवसर पाएका छन् ।

कामदारको माग बढेपछि कोरियाले सन् २०१८ को लागि नेपालबाट १२ हजार नेपालीलाई भाषा परीक्षामा उत्तीर्ण गराएको छ ।
सन् २०१८ को लागि भाषा परीक्षा पास भएकाहरुको मेडिकल पनि कार्तिकबाट सुरु हुने भएको छ ।

यो वर्ष १२ हजार १०८ उत्तीर्ण भएका छन् । कृषितर्फ करिब साढे सात हजार परीक्षार्थी उत्तीर्ण भएका छन् । यो वर्षको कोटा अघिल्लो वर्षको भन्दा झन्डै तीन गुणा बढी हो ।

अघिल्लो वर्ष ३५ सय युवा कोरियन भाषा परीक्षामा उत्तीर्ण भएका थिए । अहिले सन् २०१५ देखि यताका भाषा परीक्षा पास गरेका झण्डै ५ सय युवा लेबर कन्ट्रयाक्टको प्रतीक्षामा छन् ।

उनीहरुको आगामी नोभेम्बरसम्म लेबर कन्ट्रयाक्ट आइसक्ने ईपीएस शाखाले जनाएको छ । त्यो अवधिसम्म कन्ट्रयाक्ट नआएका युवाले कोरिया जाने अवसर गुमाउनेछन् ।

तर, यो वर्ष कोरियामा कामदारको माग बढेकाले रोकिएकाहरु धेरैको कन्ट्रयाक्ट आउन सक्ने शाखाले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment