Comments Add Comment

दशैंमा घर फर्किनेको पीडाः खुल्लमखुल्ला लुटिन्छौं, प्रहरीले देख्दैन

८ असोज, कैलाली । परदेशमा दुःख गरेर कमाएको रकम सुरक्षित रुपमा घरसम्म पुर्‍याउन चुनौतिपूर्ण रहेको भारतबाट मजदूरी गरेर फर्किनेहरुले बताएका छन् । मुलुकको पश्चिमी नाकाबाट स्वदेश फर्किनेहरुले सीमामा सास्ती र अपमान व्यहोर्नु परेको गुनासो गर्दै प्रवासी मजदुरहरुको सुरक्षाप्रति सम्वेदनशील हुन सरकारलाई आग्रह पनि गरेका छन् ।

सीमा सुरक्षाका लागि खटिएका नेपाल र भारतका सुरक्षाकर्मीबाट सधैं प्रताडित हुनुपरेको र दुवै देशका भन्सार कर्मचारीले समेत अवैध असुली गरेको दुखेसो आप्रवासी मजदूरहरुको छ ।

दशैँ तिहारजस्ता ठूला पर्वमा घर फर्कने नेपालीहरुबाट भारतीय बस तथा नेपाली रिक्सा चालकहरुले समेत मनपरी भाडा उठाइरहेका छन् । वर्षभरी दुःख गरेर कमाएको नगद र किनेर ल्याएको सामान जोगाउन समेत हम्मे परेको चौमालाका हरि बहादुर साउँदले बताए । उनले भने, ‘पहिला त भारतीय बसवालाले नै ‘तुम्हारे पास समान ज्यादा है’ (तिमीसँग सामान धेरै छ) भन्दै दोब्बर भाडा असुल्छ त्यसपछि नेपाल छिर्ने बोर्डरमा भारतीय कष्टम, भारतीय सुरक्षाकर्मी, भारतीय सीमा सुरक्षा बल अनि रिक्सा, अटोरिक्सा, नेपाली सुरक्षाकर्मी, भन्सारकर्मी सबैलाई रकम दिनुपर्ने बाध्यता छ ।’

नेपालीबाटै लुटिएको नेपालीको गुनासो

भारतका बिभिन्न शहरमा मजदुरी गरेर घर आउँदा ल्याएको समानको समेत भारतीय बस र नेपाली रिक्सा चालकले मनपरी भाडा उठाउने गरेका छन् । गौरीफण्टा नाकाबाट भित्रिएका नेपालीहरुबाट रिक्सा चालकले समेत हजारौं रुपैयाँ असुलीरहेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले समेत सामान जाँचको बहानामा सीमा क्षेत्रमा घुस लिने गरेको मजदुरहरुले बताएका छन् ।

भारत बैंग्लोरबाट दशैंका लागि र्फकेका अछामका कुलबहादुर साउँदले गौरिफण्टा नाकामा भारतीय प्रहरीले प्रतिव्यक्ति एक सय भारु लिएको बताए । महंगी बढेकाले रिक्सा भाडा पनि बढेको चालकहरुले दाबी गरेका छन् । सामान समेत ल्याउने भएकाले भारतबाट आउने यात्रुसँग त्यसको चर्को भाडा लिने गरेको उनीहरुले बताएका छन् ।

रिक्सा चालक भगत दासले एकजना मान्छे मात्रै भए गौरिफण्टाबाट धनगढी चौराहासम्मको पचास रुपैयाँ र समान बढी भए सामान अनुसार चार सय रुपैयाँसम्म भाडा लिएको बताए ।

भारतबाट दशैं मान्न घर फर्किँदै गरेका अर्का एक नेपालीले भने, ‘हामी खुल्लमखुल्ला लुटिन्छौं, तर, प्रहरीले देख्दैन ।’

प्रहरीको खण्डन

सशस्त्र सीमा सुरक्षा बोर्डर आउट फोर्स त्रिनगरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक हर्क बहादुर साउँदले भने भारतबाट काम गरेर नेपाल आउने नेपालीहरु सीमानाकामा प्रहरीबाट लुटिएको जानकारी आफूलाई नभएको बताए । यदि कुनै सशस्त्र प्रहरीले त्यसो गरेको खबर गरेमा तुरुन्तै कारवाही गरिने उनले बताए ।

त्यस्तै त्रिनगर प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरिक्षक (सई) सन्दिप शाहीले भारतबाट नेपाल आउने नेपालीहरुलाई प्रहरीले पैसा मागेर दुःख दिएको भन्ने कुरामा कुनै सत्यता नभएको बताए । उनले यदि कुनै प्रहरीलेले त्यसो गरको फेला पारे अथवा कसैले प्रमाण सहित उजुरी दिए तत्काल कारवाही गरिने बताए ।

तर सशस्त्र प्रहरी र नेपाल प्रहरीले जे जस्तो बताए पनि गौरीफन्टा नाका भएर नेपाल प्रवेश गर्ने विभिन्न स्थानमा प्रहरी र सशस्त्र प्रहरीले चेक प्वाइन्टको नाममा ढाँट थापेको छ । भारतबाट नेपाल प्रवेश गर्ने वित्तिकै डोके बजार क्षेत्र, मोहना पुलमा, भन्सार सकिने वित्तिकै सशस्त्र प्रहरीले र तीनसय मिटर पर गैसकेपछि नेपाल प्रहरीले विभिन्न बहानामा चेकिङ र असुली गर्ने गरेको सीमा क्षेत्रका बासिन्दाको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment