Comments Add Comment

विदेश जान म्यानपावरको चक्कर काट्दै हुनुन्छ ? यी १० कुरामा नचुक्नुस्

१६ असोज, काठमाडौं । परिवारसँग दशैं मनाएपछि धेरै नेपाली युवा कामका लागि विदेशिन म्यानपावरमा चक्कर लगाउँछन् । वर्षदिनको चाड सकिनासाथ नेपाली युवाको वैदेशिक यात्रा ह्वात्तै बढ्छ ।

वैदेशिक रोजगर विभागका अनुसार गत वर्ष दशैंअघि असोजमा ४१ हजार पाँच सय ५२ युवा बाहिरिएका थिए । दशैंपछि कात्तिकमा त्यो संख्या ५७ हजार तीन सय २५ पुगेको थियो । तिहार मानेर मंसिरमा विदेश जानेको संख्या बढेर ६४ हजार नौ सय ७१ थियो ।

तर, जति विदेशिने युवाको संख्याको चाप म्यानपावरहरुमा बढ्छ, ठगिने क्रम पनि उत्तिकै वृद्धि हुने विभागका प्रवक्ता मोहन अधिकारी बताउँछन् । दशैं मान्न धेरै युवा विदेशका कम्पपनीबाट विदामा आउने भएकाले कामदारको माग पनि यही समयमा बढ्छ ।

विदेश जानुअघि केही आधारभूत कुरामा चुकियो भने तपाईंले भविष्यमा ठूलो दुःख पाउने सम्भावना हुन्छ । त्यसैले आफ्नो वैदेशिक रोजगारको यात्रालाई सुरक्षित र सुखद बनाउन कामदार आफैं सचेत हुनुको विकल्प छैन ।

दलालको फन्दामा परेर ठगिने सम्भावना कम गर्न पनि यस विषयमा सचेतना र जागरण आवश्यक छ ।

श्रम स्वीकृतिका लागि पेश गरिने कागजातहरु झुटो हुने समस्याले वैदेशिक रोजगारीमा जानेहरु राम्रो काम र तलव सुविधा नपाएर मर्कामा परिरहेका छन् ।

सोहीकारण विदेशी भूमिमा पीडा खेप्नुपर्ने, स्वदेश फर्किन कठिन हुने, कतिपय अवस्थामा जेल-सजाय र ज्यानसमेत गुमाउनुपर्ने अवस्था आउने प्रवक्ता अधिकारी बताउँछन् । त्यसैले रोजगारीमा जाने व्यक्तिले आफ्नो विदेश यात्राबारे विभिन्न कुरामा ध्यान दिनैपर्छ ।

सीप सिक्नुभयो ?

विदेश जाने योजना हतारमा नबनाउँदा राम्रो हुन्छ । ‘हतारमा लतार’ भन्ने नेपाली उखानलाई मनन गरेर सुझबुझपूर्ण तवरले काम गर्नुभयो भने तपाईंलाई विदेशमा हैरानी भोग्नुपर्दैन ।

वैदेशिक रोजगारीमा जाने अधिकांश नेपालीले विदेशमा दुःख पाएको सुनिन्छ । त्यसमा एउटा महत्वपूर्ण कारण छ, अदक्षता । तपाईंसँग विदेशमा गएर काम गर्न हातमा कुन सीप छ ? छैन भने सोच्नुस् ।

हातमा सीप नभएकाले विदेशमा के काम गर्लान् ? पक्का पनि त्यहाँ निकृष्ट श्रममा अल्भिmनुको विकल्प हुँदैन ।

म्यानपावरहरुले सीप नभए पनि कम्पनीहरुमा ‘यो काम, ऊ काम हुन्छ’ भन्लान् । तर, तपाईंसँग हातमा कुनै सीप छैन भने गाह्रो प्रकारको काम गर्नैपर्छ । आफूले जानेको काम गर्न विदेश जानुभयो भने आम्दानी पनि सोचेजस्तै हुन्छ ।

यो भाग्यमा हैन, सीपमा विश्वास गर्ने समय हो । त्यसैले आफैं सीप सिकेर भाग्य र भविष्य कोर्नुस् । सके देशमै काम गर्नुस्, वातावरण नमिले विदेशको लागि प्रयास गर्नुपर्छ ।

सिकेको सीपले तपाईंलाई सधैं बलियो बनाउँछ । हतारिनु प्रत्युत्पादक हुन सक्छ । सबै कुरा राम्रोसँग बुझेर मात्र त्यसका प्रक्रियामा अगाडि बढ्नुस् ।

एजेन्टलाई विश्वास गर्नुभयो कि ?

तपाईं सकेसम्म कुनै व्यक्तिको भर परेर अवैधानिक रुपमा विदेश नजानुहोला । त्यस्ताको साथमा लागेर म्यानपावर कम्पनी नजानुस्, सकेसम्म आफैं म्यानपावरमा जानुस् । कुनै व्यक्तिले आफैं मिलाएर विदेश पठाउँछु भन्छ भने बिनाआधार विश्वास नगर्नुस् ।

कन्सल्टेन्सी र्फम, ट्राभल एजेन्सी, मनी ट्रान्सफर चेन्जर, दलाल, एजेन्ट वा अन्य कुनै पनि संस्थालाई वैदेशिक रोजगारीमा पठाउने अधिकार छैन । यी कसैलाई पनि विदेश जाने आशामा रकम नदिनुस्, ठगिने सम्भावना हुन्छ ।

संस्थागत रुपमा कामदार विदेश पठाउने काम म्यानपावर कम्पनीले गर्छन् । तर, शहरमा सञ्चालनमा रहेका सबै म्यानपावर पनि सरकारबाट अनुमति लिएर चलेका छन् भन्ने निश्चित छैन ।

तपाइर्ंले विदेश जान सम्पर्क गरेको म्यानपावर कम्पनीले सरकारबाट इजाजत लिएको छ कि छैन भन्ने जवाफ खोज्नुस् ।

म्यानपावरको काम कारवाही रोक्का भएको छ छैन ? खारेजीमा परेको छ छैन ? यी कुरा बुझ्नुपर्छ । यो जानकारी तपाईंलाई वैदेशिक रोजगार विभागले दिन्छ ।

किन यस्तो झन्झट गर्नु भन्ने पटक्कै नसोच्नुस्, विभागको अनलाइनमा पनि म्यानपावरको विवरण हेर्न पाइन्छ । व्यक्तिगत प्रयासबाट भिसा प्राप्त गरी वैदेशिक रोजगारीमा जाने व्यक्तिले नेपाली दूतावासबाट प्रमाणित सक्कल कागजातसहित श्रम स्वीकृति लिन सक्छ । कुन संस्था वा कोमार्फत जाने हो भन्नेबारे यथेष्ट जानकारी राख्नैपर्छ ।

काम, सुविधा र लागतमा स्पष्ट हुनुभयो ?

रोजगारीका लागि कुन देश र काममा जाने भने निर्णय तपाईंले लिने हो । त्यसका लागि लागि कति खर्च लाग्छ ? काम गरेवापत तलब, खाना र बस्ने व्यवस्था, काम गर्नुपर्ने घण्टा, ओभरटाइम भत्ता र करार अवधिबारे राम्ररी जानकारी लिनुस् ।

म्यानपावर कम्पनीले विदेश पठाउन पासपोर्ट माग गरेमा कामका लागि कति अवधिभित्र र लागतमा पठाउने भन्ने यकिन गरेर भर्पाईका साथमा मात्रै सक्कल पासपोर्ट बुझाउनुस् ।

आफ्नो नाममा भिसा आएर विदेश जाने निश्चित भएपछि म्यानपावर कम्पनीको बैंक खातामा वा प्रधान कार्यालयमा मात्र रकम बुझाउनुस् । बुझाएको रकमको भर्पाई अनिवार्य रुपमा लिएर सुरक्षित राख्नुहोला । कुन देश जान कति रकम लाग्छ भन्ने जानकारी तपाईंले राख्नैपर्छ ।

पूर्वस्वीकृतिअनुसार विज्ञापनमा उल्लेख भएभन्दा बढी रकम कसैलाई नदिनुस् । देश, कम्पनी, काम गर्ने पद र पेशा, तलबभत्ता, अन्य सुविधा र सेवा सर्तबारे चित्त बुझेमा मात्र मात्र सम्झौतापत्रमा सही गर्नुपर्छ ।

सम्झौताको एकप्रति आफूसँग सुरक्षित राख्नुहोला । एउटै कम्पनीसँग मात्र सम्झौता गर्नुस्, दोहोरो सम्झौता गर्दा ठगिनुहोला । रकम बुझाएपछि रसिद लिन भुल्नु हुँदैन ।

आफू जाने देशबारे विस्तृतमा जान्नुभयो ?

विदेशमा काम गर्न जान पक्का पनि सजिलो छैन । त्यसैले आफू जान लागेको देशको बारेमा राम्रो जानकारी राख्नु आवश्यक छ । त्यो देशको भाषा, संस्कृति, रहनसहन, चालचलन, रीतिरिवाज र कानूनबारे साथीभाइ र अग्रजसँग जानकारी लिनुस् । त्यहाँ पुगेर फर्किएकाहरु र त्यहाँ रहेकाहरुबाट यस्ता जानकारी सजिलै पाइन्छ ।

आफू जाने मुलुकमा रहेको नेपाली दूतावासको सम्पर्क ठेगाना, अन्य कामदारलाई सघाउने र सहयोग गर्ने संघसंस्थाहरुको फोन र फ्याक्स नम्बर डायरीमा टिपेर साथैमा राख्नुपर्छ । समस्या परेका बेला त्यसले निकै सहयोग पुग्नेछ ।

श्रम, भिसा र पासपोर्टबारे जानकार हुनुहुन्छ ?

वैदेशिक रोजगारीमा जान व्यक्तिगत र संस्थागत गरी दुई किसिमका श्रम अनुमति जारी गरिन्छ । वैदेशिक रोजगार विभागअन्तर्गत ताहचलस्थित कार्यालयबाट श्रम स्वीकृति पाउन सकिन्छ ।

पहिलेको श्रम स्वीकृति म्याद नाघेको वा नयाँ देश वा कम्पनीमा वैदेशिक रोजगारमा पुनः जाँदा अनिवार्य रुपले नवीकरण गराउनुपर्छ । करार अवधि सकिएपछि पनि स्वीकृतिबिना गैरकानूनी तरिकाबाट भिसाको म्यादभन्दा बढी समय नबस्नुस् ।

त्यसो गर्दा सम्बन्धित देशको कानूनअनुसार कारवाही हुन सक्छ । आफ्नो राहदानीको म्याद समयमै नवीकरण गर्नुपर्छ । जानुअघि श्रम स्वीकृति लिनुपर्छ । श्रम स्वीकृति नलिए तपाईंलाई दलालहरुले भारतीय विमानस्थलहरुबाट उडाउन सक्छन् । त्यसैले यी विषयमा सचेत रहनुपर्छ ।

बीमा गराउनुभयो ?

विदेश जानुअघि सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य परीक्षण गराउनुहोला । सरकारले तोकेको होलोग्राम भएको स्वास्थ्य परीक्षण प्रमाणपत्र लिन नचुक्नुस् । विदेशबाट स्वास्थ्य परीक्षणमा फेल भएर फर्किनुपरेमा यसले क्षतिपूर्ति माग्न आधार प्रदान गर्छ ।

सरकारले तोकेको बीमा कम्पनीमा करार अवधिअनुसार जीवन बीमा गराउनुस् । बीमाका लागि रकम बुझाएर रसिद लिनुस् र सुरक्षित राख्नुस् । बीमाको रकम नतिरी श्रम स्वीकृति पाइँदैन । बीमा शुल्क दलाललाई नबुझाउनुहोला, बीमा कम्पनीमै गएर रकम आफैंले बुझाउनुस् ।

अभिमुखीकरण लिनुभयो ?

विदेश जानुअघि अभिमुखीकरण लिनु आवश्यक छ । यसले तपाईंलाई विदेशमा पर्ने समस्याहरुसँग जुध्न सहज गराउँछ ।

सरकारले तोकेको संस्थामा अनिवार्य रुपमा दुईदिने अभिमुखीकरण र जाने मुलुकको श्रम कानूनसम्बन्धी जानकारी लिनुपर्छ ।

अभिमुखीकरण तालिमबाट आफू जाने देशको भौगोलिक अवस्था, हावापानी, ट्राफिक नियम, श्रमसम्बन्धी सामान्य कानूनी प्रावधानलगायत विषयमा पर्याप्त जानकारी हुन्छ । तपाईंले कमाएको पैसा वैधानिक रुपमा नेपाल पठाउने विधिबारे पनि जानकारी लिनुपर्छ ।

कागजातको सुरक्षामा ध्यान दिनुभएको छ ?

वैदेशिक रोजगारीमा जान विदेश प्रस्थान गर्नुअघि आफूले प्राप्त गरेका रोजगारसम्बद्ध सबै कागजातहरुको प्रतिलिपी १/१ थान आफ्नो घरमा सुरक्षित साथ राख्नुपर्छ ।

आफ्नो साथमा लिएर जानुपर्ने सबै कागजातपत्र रुजु गर्नुस् । किनकि, अध्यागमनको प्रस्थान कक्षमा वा विदेश पुगेर कागज नभएर समस्या झेल्नुपर्ने हुनसक्छ ।

कागजात तपाईंको कानूनी हतियार पनि हो । त्यसैले यसलाई परिवार र आफ्नो साथमा रहने सुनिश्चित गर्नुस् । विदेश जाँदा प्रतिबन्धित वस्तुहरु नबोक्नुहोला । विमानस्थल र विदेशमा पक्राउ पर्ने सम्भावना हुन्छ । के-के वस्तुहरु प्रतिबन्धित छन् भन्नेबारे पहिल्यै जानकारी लिनुपर्छ ।

विदेशी मार्गबाट जाँदै हुनुहुन्छ कि ?

वैदेशिक रोजगारीमा ठगी गर्न सक्रियले विभिन्न बहानामा भारतीयसहित विदेशी विमानस्थलबाट लैजाने प्रलोभन देखाउन सक्छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्नुस् । अन्यथा ठगिने सम्भावना अधिक हुन्छ । श्रम स्वीकृतिको निस्सा प्राप्त नहुँदै हवाई टिकट पनि खरीद नगर्नुहोला । अन्य देशको विभिन्न बाटो प्रयोग गरी रोजगारीका लागि विदेश नजानुहोला ।

यदि कसैले तपाईंलाई ललाई-फकाई लैजाँदै छ भने स्थानीय प्रहरीलाई खबर गर्नुपर्छ । लुकीछिपी जाँदा ठगिने, कानूनी कारवाही हुने, अलपत्र पर्ने, दुर्घटना हुने, सम्झौताबमोजिम काम नपाउने, उद्धार पाउन कठिन हुने र कल्याणकारी कोष, बीमा कम्पनीबाट प्राप्त हुने सेवा सुविधा प्राप्त नहुने अवस्था आउँछ ।

पूर्वसूचनाको तयारी गर्नुभयो ?

आफू ठगिए वा वैदेशिक रोजगारीबारे कुनै समस्या भएर सरकारलाई जानकारी दिन सकिन्छ । सरकारको सहयोग चाहिएको हो भने अब सीधै सरकारको टोल प|mी नम्बर १६६००१०९९९९ मा कल गर्न सकिन्छ ।

वैदेशिक रोजगारसम्बन्धी सबै गुनासा सुन्न वैदेशिक रोजगार विभागले टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ । तपाईंलाई यस्तो परिस्थितिमा सरकारले आवश्यक सहयोग गर्नेछ ।

यस्तै, विभागको हटलाइन नम्बर ००९७७-१-४११२३५० मा टेलिफोन गरेर गुनासो टिपाउन र आवश्यक जानकारी लिन सकिन्छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको टोल फ्री नम्बर १६६००१५०००५ मा पनि आफ्ना समस्या राख्न सकिन्छ ।

कुनै पनि व्यक्तिले विदेश पठाइदिन्छु भनेर रकम मागेमा तुरुन्त नजिकको स्थानीय प्रशासन, प्रहरी र वैदेशिक रोजगार विभागमा सूचना दिनुपर्छ ।

म्यानपावर कम्पनीको नाम, ठेगाना परिवर्तन भएका कारण सम्पर्क गर्न नसकिए विभागमा सम्पर्क गर्न सकिन्छ । पत्रपत्रिकामा प्रकाशित हुने वैदेशिक रोजगारीका सूचनाको आधिकारिकता बुझ्नुपरेमा विभाग वा बोर्डमा सम्पर्क गर्न सकिन्छ ।

(वैदेशिक रोजगार विभागको सहयोगमा तयार पारिएको)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment