Comments Add Comment

मेलम्चीको मुख्य पाइपलाइनमा वागमतीको पानीमार्फत् परीक्षण


१७ असोज, काठमाडौं । मेलम्चीको मुख्य वितरण सञ्जालमा हाइड्रोलिक परीक्षण सुरु गरिएको छ । यसका लागि सुन्दरीजलबाट वागमतीको पानी प्रयोग गरिएको छ । तर, त्यो उपभोक्ताको धारासम्म पुग्ने छैन ।

मेलम्ची खानेपानी योजनाअन्तर्गत् ‘वाटर टि्रटमेन्ट प्लान्ट’ले पनि परीक्षण सुरु गरेको छ । त्यहाँ टि्रटमेन्ट गरिएको पानी नै मेलम्चीको मुख्य वितरण सञ्जालमा पठाउन सुरु गरिएको हो ।

दशैंअघि सुन्दरीजलबाट चार किलोमिटर ‘बल्क डिस्ट्रिब्युसन सिस्टम’को परीक्षण गरिएको मेलम्चीअन्तर्गत् आयोजना कार्यान्वयन एकाइ प्रमुख तिरेश खत्रीले जानकारी दिए ।

दशैंका कारण रोकिएको परीक्षण १/२ दिनमै कामदार फर्किएपछि पुनः सुचारु गरिने उनले बताए ।

‘पहिलो चार किलोमिटर पाइपमा पानी हालेर परीक्षण गर्दा केही ठाउँमा त्रुटी भेटियो, जुन मर्मत गरिएको छ,’ खत्रीले भने ।

अब अर्को चरणमा सुन्दरीजलबाट चाबहिल चोकसम्म पाइपको परीक्षण गरिनेछ । त्यसपछि सम्भव भएसम्म धोबीखोला हुँदै गोंगबुसम्मको मुख्य वितरण प्रणालीको परीक्षण गरिने खत्रीले बताए ।

चाबहिलचोकबाट त्रिभुवन विमानस्थल हुँदै मनोहरा खोलासम्म बिछ्याइएको पाइपमा पनि हाइड्रोलिक टेस्ट गरिनेछ । परीक्षण गरिएको पानी धोबीखोला, विष्णुमती र मनोहरामा फालिने छ ।

पाइप परीक्षणका लागि लागि सुन्दरीजलबाट वागमतीको पानी ट्रिटमेन्ट प्लान्टमा ल्याइएको छ ।

मेलम्ची आयोजना कार्यान्वयन एकाइले पनि ट्रिटमेन्ट प्लान्टमा परीक्षण हुने वागमतीको पानी पाइपमा जाँच गरेको हो ।

‘यसबाट पाइपहरुमा विभिन्न ठाउँमा चुहिने समस्या पनि पत्ता लाग्नेछ, जोडिएको ठाउँका गल्ती पनि पहिचान हुनेछन्,’ खत्रीले भने ।

करिब १६ किलोमिटर मुख्य पाइपलाइनको परीक्षण गर्न बाँकी छ ।

मेलम्चीको सहायक पाइपलाइनमा भने मेलम्ची आएपछि मात्रै परीक्षण गरिने खत्रीले बताए ।

मेलम्चीको पानी ल्याएर पानी प्रशोधन गर्न सुन्दरीजलमा पानी फिल्टर गर्ने प्लान्टको बनेको छ । मेलम्ची खानेपानी वितरण गर्न १० वटा रिजर्भ ट्यांकी बनाइएको छ ।

यसरी परीक्षण गरेर राखेपछि मेलम्ची आउनासाथ पानी वितरण गर्ने वातावरण बन्ने सरकारी दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment