Comments Add Comment

एयरलाइन्स कम्पनीबीच जहाज र उडान थप्ने प्रतिस्पर्धा

२० असोज, काठमाडौं । आन्तरिक उडानमा विभिन्न कम्पनीबीच प्रतिस्पर्धा बढ्दै गएको छ । त्यसका बावजुद हवाई भाडा भने घटेको छैन ।

जहाज थपिएकै मात्रामा यात्रु पनि बढेका छन्, जसका कारण जहाज कम्पनीहरु हौसिएका छन् ।

भदौ अन्तिम सातामा यती एयरलाइन्सले नयाँ जहाज थपेको छ । यतीले दुई इन्जिनको एटीआर ७४९ जहाज थपेको हो । केही समयअघि मात्रै यतीले अर्काे जहाज पनि ल्याएको थियो ।

सौर्य एयरलाइन्ससँग अहिले दुई जहाज छन् । उक्त कम्पनीले छिट्टै दुई वटा जहाज थप्ने योजना बनाएको छ । कम्पनीका अध्यक्ष दीपक पोखरेलका अनुसार आगामी मंसिरसम्ममा एउटा जहाज ल्याइसक्ने योजना छ । उनले भने, ‘चीन र दक्षिण अफ्रिकामा गएर केही जहाज हेरिसकेका छौं ।’ ०७४ सालको अन्त्यसम्ममा दुई ल्याइसकिने पोखरेल बताउँछन् ।

बुद्ध एयरले पनि जहाज थप्ने योजना बनाएको छ । उक्त कम्पनीले यसै वर्ष नयाँ एटीआर ल्याएको थियो । ७२ सिटको जहाज थपिए पनि यात्रुको चापमा कुनै कमी आएको छैन ।

बुद्ध एयरकी मार्केटिङ म्यानेजर विनिता थापाका अनुसार नयाँ जहाज जनवरीसम्म आइसक्नेछ । त्यससँगै अन्य स्थानमा समेत उडान थाल्ने उनी बताउँछिन् ।

उक्त कम्पनीले हालै पोखरा–भरतपुर र पोखरा–भैरहवा उडान थालेको थियो । आक्रामक ढंगले बजार विस्तारमा लागेको छ, बुद्ध एयर ।

यस्तै, सिम्रिक एयरलाइन्सले पनि यस वर्ष दुई वटा जहाज थप्ने योजना बनाएको छ । सिम्रिक एयरका सिनियर मार्केटिङ म्यानेजर प्रज्वल थापाका अनुसार आगामी ६ महिनाभित्र नयाँ जहाज आइसक्नेछ ।

काठमाडौंको ‘लाइफलाइन’ मानिएको नारायणगढ–मुग्लिन सडक लथालिंग रहेका कारण अधिकांश यात्रु हवाई मार्ग रोज्न बाध्य भएका छन् । त्यसैको फाइदा उठाएका हुन्, जहाज कम्पनीहरुले ।

केही महिना अघिदेखि श्री एयरलाइन्सले पनि ‘फिक्स्ड विङ’ सेवा थालेको छ । उक्त कम्पनीसँग तीन वटा बम्बार्डियर जहाज छन् ।

गत वर्षको तुलनामा यसपालि आन्तरिक उडानमा १० वटा जहाज थपिएका छन् । त्यससँगै सिट र उडान संख्या पनि बढेका छन् ।

यतीका उडान गत वर्षभन्दा आठ वटा बढेका छन् । बुद्धको उडान १८ वटा उडान बढेका छन् । उक्त कम्पनीले गत वर्षसम्म सिमरामा दैनिक पाँच पटक उडान गथ्र्यो, यसपालि १२ वटा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment